नीति तथा कार्यक्रम आज, यस्ता छन् प्राथमिकता

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 21, 2018 | 06:30:20 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आगामी आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रम सोमबार सार्वजनिक गर्र्दै छ । नेपाल कम्युनिस्ट पार्टीको सरकारले पहिलोपटक चुनावी घोषणापत्रमा आधारित रहेर आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ संविधान कार्यान्वयनमा आएसँगै संघीय संसद्को दोस्रो संयुक्त बैठकमा पहिलोपटक सार्वजनिक गर्न लागेको नीति तथा कार्यक्रम सरकारले प्रस्तुत गर्ने भएकाले यसलाई सर्वत्र चासोका साथ हेरिएको छ । सरकारी नीति तथा कार्यक्रममा सामान्यतया सैद्धान्तिक विषय समेटिनेछ भने त्यसको निश्चित समयावधि र रकमलगायतका विषय बजेटमा पर्नेछन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाले तत्कालीन वाम गठबन्धनको घोषणापत्रमा समावेश महŒवपूर्ण कार्यक्रमहरूलाई सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्न लागेको बताए । यद्यपि, स्रोतसाधनको सीमितताका कारण केही कार्यक्रमको शैली परिमार्जन गर्ने उनले जानकारी दिए । सोमबार सार्वजनिक गरिने सरकारको नीति तथा कार्यक्रममा जुटिरहेका अर्थमन्त्री खतिवडाले पैसा अभावले निर्वाचन जित्न घोषणा गरिएको पाँच हजार सुरक्षा भत्ता दिने कार्यक्रम भने नसमेट्ने भएका छन् । संसद्मा राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसलाई वाचन गर्नेछिन् । सरकारको नीति तथा कार्यक्रममा सामाजिक सुरक्षा प्रणालीको एकीकृत ढाँचा कार्यान्वयनमा ल्याइने विषयलाई उल्लेख गरिने अर्थ मन्त्रालय स्रोतले बताएको छ । सरकारले भत्ताको विकल्पमा बिमा कार्यक्रम अगाडि सार्ने भएको छ ।

निर्वाचनको वाचा पूरा गर्न स्रोत अभाव हुने भएपछि अर्थमन्त्री डा. खतिवडाले तयार पारिरहेको नीति तथा कार्यक्रममा ‘हरेक वर्ष प्रभावहीन नयाँ कार्यक्रम थप्दै जाने प्रवृत्तिलाई रोक्ने, सामाजिक सुरक्षासम्बन्धी विभिन्न समूह तथा समुदायको बढ्दो मागलाई सम्बोधन गर्ने, उपयुक्त नीतिगत, कानुनी र नियमनकारी प्रारूप विकास गर्ने, सामाजिक सुरक्षालाई आर्थिक सामाजिक विकासका अन्य क्षेत्रका नीति र कार्यक्रमसँग आबद्ध गर्दै लैजाने योजना अघि सार्ने तयारी गरेका छन् ।

नीति तथा कार्यक्रममार्फत योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमका साथसाथै सबै श्रमिक तथा कर्मचारीलाई स्वास्थ्योपचार, बेरोजगार भत्ता, आश्रित परिवारको हेरचाहदेखि निवृत्तिभरणजस्ता न्यूनतम सामाजिक संरक्षणका सुविधा प्रत्याभूति गरिने भएको छ ।

आगामी आर्थिक वर्षको कार्यक्रममा जडीबुटीको नसर्री र प्रशोधन केन्द्र स्थापना कार्यक्रम समेट्ने तयारी भएको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिए । सरकारको नीति तथा कार्यक्रममा हरेक वडामा एक उपस्वास्थ्य चौकी र गाउँपालिकामा प्राथमिक स्वास्थ्य केन्द्र निर्माण गर्ने रहेको छ । यस्तै, नीति तथा कार्यक्रमले प्रत्येक निर्वाचन क्षेत्रमा एक आवासीय विद्यालय निर्माण गर्ने योजना बनाएको छ ।

नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिकलाई यातायात भाडामा छुटका साथै सरकारी अस्पतालमा सुत्केरी हुने आमा र जन्मिने शिशुको पोषण र न्यानो कपडाका लागि एकमुष्ट ५ हजार भत्ता र रोजगारमा संलग्न महिलालाई १४ हप्ताको सुत्केरी बिदा दिने जस्ता विषय समेट्ने तयारी गरिएको छ ।

संविधानबमोजिम राष्ट्रपतिले सोमबार दिउँसो ४ बजे संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको सचिवालयले जनाएको छ । राष्ट्रिय सभा ५९ र प्रतिनिधिसभा २७५ सांसदको संयुक्त बैठक दोस्रोपटक बस्न लागेको हो ।

नीति तथा कार्यक्रममाथि दुवै सदनमा केही दिन छलफल हुने र त्यसमाथि सांसदले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले सदनमा दिनेछन् । त्यसपछि उक्त नीति तथा कार्यक्रम पारितका लागि दुवै सभामा निर्णयार्थ प्रस्तुत भई पारित हुनेछ । सोमबारै राष्ट्रपतिको सम्बोधनलगत्तै प्रतिनिधि सभाको बैठक साँझ साढे ५ बजे बस्नेछ । बैठकले राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको स्वागत गर्ने र राष्ट्रपतिलाई धन्यवाद दिने कार्यसूची रहेको संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए ।

नेकपा नेतृत्वको सरकारले अघि सारेको विकास र समृद्धिलाई मूर्तरूप दिन ल्याइने नीति तथा कार्यक्रमका आधारमा आगामी वर्षको बजेट तयारी समेत भइरहेको छ । संविधानअनुसार प्रत्येक वर्ष १५ जेठमा केन्द्र, १ असारमा प्रदेश र १० असारमा स्थानीय तहको बजेट सार्वजनिक गर्नुपर्ने हुन्छ ।

बजेट निर्माणमा अर्थमन्त्री डा. खतिवडाको साथै अर्थसचिव राजन खनाल, बजेट महाशाखा प्रमुख निर्मलहरि अधिकारी, रामशरण पुडासैनी, वित्त आयोगका निमित्त सचिव वैकुण्ठ अर्याल र आर्थिक सल्लाहकार रामशरण खरेल सहभागी छन् । राजधानी दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved