आइएनजिओ मार्फत नेपालमा २५ अर्व खर्च, कुन देशको कति ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 07, 2018 | 06:28:02 AM मा प्रकाशित

laxmi  sunrise bank

विदेशी शक्ति राष्ट्रहरुले नेपालमा घुमाउरो शैलीबाट गर्दै आएको खर्च रकम वार्षिक करिब २५ अर्ब रुपैयाँ पुगेको छ । सरकारले प्रत्यक्ष रूपमा लगानी गर्ने अनुमति नदिए पनि विभिन्न मुलुकले आफ्नो स्वार्थमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) मार्फत उक्त रकम खर्च गर्दै आएका हुन् ।

यो खर्च नेपालको बजेटमा समेटिएका परियोजना र कार्यक्रममा समावेश हुने छैन । सरकारले भारतलाई भने वार्षिक पाँच करोड रुपैयाँसम्मका साना परियोजनामा प्रत्यक्ष लगानी गर्न पाउने सुविधा प्रदान गरेको छ । भारतले पाएको सुविधा पनि विवादित छ ।

अर्थ मन्त्रालयको तथ्यांकअनुसार आउँदो आर्थिक वर्ष (२०७५-०७६) मा २४ राष्ट्रले विभिन्न उद्देश्य बोकेका आइएनजिओमार्फत २४ अर्ब ९५ करोड ४४ लाख ५४ हजार रुपैयाँ खर्च गर्दैछन् । यो रकम उनीहरुले चाहेको कार्यक्रम तथा परियोजनामा मात्र खर्च गर्नेछन्।

‘आइएनजिओको क्रियाकलापलाई लिएर हामीकहाँ गुनासो आएका छन् । ठोस नीति नहुँदा हामीले रोक्न सकेका छैनौं,’ समाजकल्याण परिषद् अध्यक्षसमेत रहेकी महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाले भनिन्, ‘आइएनजिओको विकृति रोक्नुपर्छ र हाम्रो बजेटको प्राथमिकताअनुसार खर्च हुनुपर्छ ।’

चालू आर्थिक वर्षको तुलनामा आउँदो आर्थिक वर्ष २०७५-०७६ मा विदेशी राष्ट्रले विभिन्न आइएनजिओमार्फत नेपालमा गर्ने खर्च दुई अर्ब ११ करोड ३९ लाख ५० हजार रुपैयाँले वृद्धि भएको छ । चालू आर्थिक वर्षमा विदेशी राष्ट्रले आइएनजिओमार्फत नेपालमा २२ अर्ब ९४ करोड ३० लाख ५९ हजार रुपैयाँ खर्च गरेका छन् । विदेशी राष्ट्रहरु आइएनजिओमार्फत नेपालका ७७ वटै जिल्लामा पुगेका छन्।

आउँदो आर्थिक वर्ष २४ राष्ट्रले एक सय ५० आइएनजिओमार्फत दुई सय चार परियोजना तथा कार्यक्रममा करिब २५ अर्ब रुपैयाँ लगानी गर्दैछन् । नेपालमा विदेशी राष्ट्रले आइएनजिओमार्फत गर्ने खर्चको आधाभन्दा बढी हिस्सा बेलायतको देखिन्छ । बेलायतले आव २०७५-०७६ मा विभिन्न २४ आइएनजिओमार्फत ४२ परियोजनामा १३ अर्ब ८ करोड १९ लाख ९५ हजार रुपैयाँ खर्चिनेछ ।

बेलायतसँगै अमेरिका, स्विट्जरल्यान्ड, जर्मनी, अस्ट्रेलिया, डेनमार्क, फ्रान्स, फिनल्यान्ड, क्यानडा, दक्षिण कोरिया, इटाली, न्युजिल्यान्ड, साउदी अरेबिया, नेदरल्यान्ड्स, जापान, कतार, बेल्जियम, आयरल्यान्ड, इजरायल, स्विडेन, चेक गणतन्त्र, लग्जेम्बर्ग, भारत र नर्वे छन् । आउँदो आर्थिक वर्ष बेलायतपछि आइएनजिओमार्फत नेपालमा ठूलो लगानी अमेरिकाले गर्ने देखिन्छ । अमेरिकाले ४७ वटा आईएनजिओमार्फत ६९ वटा परियोजना तथा कार्यक्रममा ६ अर्ब ४३ करोड ४९ लाख २९ हजार रुपैयाँ खर्च गर्दैछ।

आइएनजिओमार्फत नेपालमा तेस्रो ठूलो लगानी स्विट्जरल्यान्डले गर्नेछ । स्विट्जरल्यान्डले ११ वटा आइएनजिओमार्फत १४ वटा परियोजना तथा कार्यक्रममा एक अर्ब २८ करोड ५० लाख ७० हजार रुपैयाँ खर्चिंदैछ । स्विट्जरल्यान्डपछि आईएनजिओमार्फत नेपालमा ठूलो लगानी गर्ने राष्ट्रमा जर्मनी रहेको छ । जर्मनीले आउँदो आर्थिक वर्षमा १३ वटा आइएनजिओमार्फत १४ परियोजना तथा कार्यक्रममा ६८ करोड २६ लाख ६८ हजार रुपैयाँ खर्च गर्दैछ ।नागरिक दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved