यार्चा किन्न हेलिकप्टर चार्टर, एकै दिन झन्डै डेढ करोडको कारोबार

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 08, 2018 | 06:18:12 AM मा प्रकाशित

laxmi  sunrise bank

रुकुमपुर्व जिल्लाको बुकीमा यार्चा संकलनसँगै बिक्री पनि सुरु भएको छ । यस सिजनमा पहिलोपटक बिहीबार हेलिकप्टर लिएर यार्चा खरिद गर्न व्यापारी यहाँ आएका हुन् । ४ लाख ५० हजार रुपैयाँ तिरेर हेलिकप्टर चार्टर गरी यहाँ आएका भीमबहादुर ओली, राजन भट्ट र पंकज दवाडी ७ किलो ८ सय ग्राम यार्चा खरिद गरी लगत्तै काठमाडौं फर्किए ।


बुकीमा प्रतिगोटा ६ सय ५० रुपैयाँमा यार्चा खरिद गरेको व्यापारी ओलीले बताए । ‘५ सयदेखि ५ सय ५० रुपैयाँसम्म प्रतिगोटा यार्चा कारोबार भइरहेको रहेछ,’ उनले भने, ‘हामीले प्रतिगोटा ६ सय ५० रुपैयाँ तिरेर एकमुष्ट ठूलो मात्रामा यार्चा उठायौं ।’

उनीहरूले एक सय जनाबाट यार्चा खरिद गरेका थिए । ‘धेरै टिप्नेले दिनमा ३ सय ग्रामसम्म संकलन गर्दारहेछन्,’ व्यापारी ओलीले भने ।

बुकीमा गोटाका आधारमा खरिद गरेका उनीहरूले रुकुमपश्चिम सदरमुकाम मुसीकोट पुर्‍याएर यार्चा तौलिएका थिए । जिल्ला वनबाट छुट पुर्जी लिन उनीहरू त्यहाँ पुगेका हुन् । खरिद गरेको यार्चा वन कार्यालयले तौलेर टाँचा लगाएको थियो ।

‘प्रतिकिलो १८ लाख ५० हजार रुपैयाँ पर्न आयो,’ ओलीले भने । सामान्यतया १ किलो यार्चामा २ हजार ८ सय वटा हुन्छन् । उनका अनुसार बिहीबार मात्रै १ करोड ४४ लाख ३० हजार रुपैयाँको कारोबार भएको छ । दलालमार्फत नभई सीधै स्थानीयबाट खरिद गरेको उनीहरूले बताए ।

उनीहरूले छुट पुर्जीबापत प्रतिकिलो २५ हजारका दरले जिल्ला वनलाई २ लाख ५० हजार रुपैयाँ राजस्व तिरे । ७ किलो ८ सय ग्रामको १ लाख ९५ हजार रुपैयाँ तिर्नुपर्नेमा १० किलोको छुट पुर्जी बनाएकाले त्यति रकम तिरेको उनीहरूले बताए ।

बाँकी यार्चा अर्को पटक लैजाने पनि उनीहरूले बताए । ‘बिहीबार खरिद गरिएको यार्चा १/२ दिनमै चीन पठाइनेछ,’ ओलीले भने, ‘हाम्रा व्यापारी मित्र भट्ट चीनमा बस्छन् । उनले त्यतै यार्चा बिक्री गर्नेछन् ।’

असुरक्षाका कारण हेलिकप्टर चार्टर गरेरै यार्चा खरिद गर्न आएको व्यापारीले बताए । ‘हेलिकप्टरमा नगद बोक्न नपाइने हुनाले सबै रकम चुक्ता गर्न सकेनौं,’ ओलीले भने, ‘बाँकी रकम बुझाउन बुकीबाटै एक जनालाई सँगै काठमाडौं लिएर जाँदै छौं ।’कान्तिपुर दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved