प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक फरक दलको हुने व्यवस्था कार्यान्वयन नभएको भन्दै संसद अवरुद्ध गर्ने तयारी गरेको छ ।कांग्रेसलेसरकारले संवैधानिक व्यवस्थालाई कुल्चिएको भन्दै संसदमा फरक पार्टीको सभामुख र उपसभामुख हुने व्यवस्था तत्काल कार्यान्वयन नगरे संसद चल्न नदिने तयारी गरेको हो । कांग्रेस बाहेकका अन्य दलले समेत संसदमा यो विषय उठान गर्दै आएका छन । तर सत्ता पक्षले भने सभामुख र उपसभामुख हाल कुनै कुनै दल विशेषको नभएको भन्दै सो विषयमा प्रवेश गनर््ु आवश्यक नभएको बताउँदै आएको छ ।
कांग्रेस सांसद गगन थापाले संसदमा फरक दलको सभामुख र उपसभामुख हुने संवैधानिक विषयलाई सत्ता पक्षले कांग्रेसको चासो र कांग्रेसको विषय मात्र हो भनेर व्यवस्थालाई नै खिल्ली उडाउँने काम गरेको बताए ।‘सभामुख र उपसभामुखको विषय संवैधानिक रुपमा नै स्पष्ट छ, सो विषयलाई कांग्रेसको चासो र विषयका रुपमा मात्र बुझिएको छ, विषयलाई गलत ब्याख्या गरिनु नै गलत हो, सत्ता पक्षले संविधानलाई नै खिल्ली उडाउने काम गरेको छ,’ नेता थापाले राजधानीसँग भने । उनले संविधानको परिपालना गर्नु सरकारको दायित्व भएको भन्दै सो विषयको छिनोफानो नहुँदासम्म संसद अघि बढ्न नदिने रणनीतिमा पार्टी रहेको बताए बताए ।
‘अब सभामुख र उपसभामुखको विषयको स्पष्ट रुपमा छिनोफानो नहुँदासम्म संसद अघि बढ्न सक्ने अवस्था छैन, सत्ता पक्षले यसमा गम्भीरता देखाओस,’ थापाले थपे । उनले सो विषयमा पार्टी नेतृत्वलाई समेत सांसदहरुले ध्यानाकर्षण गराएको जनाए ।
कांग्रेस मुख्य सचेतक बालकृष्ण खाँडले संविधानमा नै प्रष्ट रुपमा सभामुख र उपसभामुख एक महिला हुनु पर्ने व्यवस्था गरिए जस्तै सभामुख र उपसभामुख पनि फरक दलको हुनु पर्ने ब्यवस्था रहेको बताए । उनले कांग्रेसले पद प्राप्तीको अशक्ति र चाहनाले सो विषयको उठान नगरेको भन्दै संवैधानिक तथा कानुनी व्यवस्थाको पालनामा राज्यको दायित्वलाई बोध गराइएको दावी गरे ।
‘पद प्राप्तीको आशक्ति र चाहनाले सभामुख र उपसभामुखको विषय उठान गरिएको भन्ने सत्तापक्षको बुझाइ छ, त्यसो होइन, संवैधानिक तथा कानुनी व्यवस्थाको पालनामा राज्यको दायित्वलाई कांग्रेसले बोध गराएको हो,’ मुख्य सचेतक खाँडले भने ।
उनले कांग्रेसले संसद भित्र पटक पटक सो विषयलाई उठान गर्दै आएको भन्दै सत्ता पक्षले कांग्रेसको विनम्रतालाई अटेर गरे कडा रुपमा उत्रिने बताएका हुन ।
‘संसद भित्र लडाइ झगडा गर्ने हाम्रो प्रवृति होइन, हामीलाई सो प्रवृती शोभनीय पनि हुँदैन, तर संविधान तथा कानुनको व्यवस्था नमान्दा कडा कदम चाल्नु पर्ने अवस्थाका लागि कांग्रेस तयार छ,’ खाँडले भने ।
सांसद भीमसेनदास प्रधानले समेत सत्ता पक्षले संविधानको मर्मलाई लत्याएको जनाए । उनी पदमा आसिन अनुहार जुन दलको भए पनि संविधानको पालनामा सबै जिम्मेवार हुनु पर्ने र सबै दलको कर्तव्य उत्तिकै हुने बताउछन् ।
दुई दल एकता अघि तात्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट सभामुख र उपसभामुख निर्वाचित भए पनि दुवै पार्टीको एकतापछि दुई पदमध्ये एक छोड्नुपर्ने संवैधानिक वाध्यता रहेको कांग्रेसको दावी छ । राजधानी दैनिकमा खबर छ ।