बाटो नभएको जग्गाको मूल्यांकन प्रतिआना ५ लाख

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 26, 2018 | 09:09:17 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं महानगरपालिकाले राजस्व असुलीको महत्वाकांक्षी लक्ष्य पूरा गर्न बाटो नै नभएको जग्गाको पनि प्रतिआना ५ लाख मूल्य निर्धारण गरी कर उठाउने निर्णय गरेको छ । सम्पत्ति कर प्रयोजनका लागि जग्गाको मूल्य बढाएर प्रतिआना ६० लाख रुपैयाँँसम्म पुर्याएको महानगरपालिकाले बाटो नै नभएको जग्गाको पनि प्रतिआना ५ लाख रुपैयाँ मूल्य निर्धारण गरेको हो । आगामी आर्थिक बर्षकालागि बजेट सार्बजनिक गर्दै महानरपालिका भित्र पर्ने सबै ठाउँको मूल्य निर्धारण गरेको छ । 

महानगरपालिकाका अनुसार अब ठमेल, क्षेत्रपाटी, असन, भोटाहिटी, जमल, दरबारमार्ग, हात्तीसार, कमलादी, पुतलीसडक, माइतीघर, सुन्धारा र त्रिपुरेश्वर क्षेत्रमा मूल सडकमा जग्गा धएका जग्गाधनीहरूले प्रतिआना ६० लाखका दरले सम्पत्ति कर बुझाउनु पर्नेछ । यस्तै, महानगरपालिकाले सवारीधनीहरूसँग स्थान र सवारीसाधन अनुसार पार्किङ शुल्क प्रतिघण्टा १५ देखि ३ सय रुपैयाँँसम्म निर्धारण गरेको छ । जसअनुसार अब न्युरोड, भोटाहिटी, कान्तिपथ, बबरमहल, लैनचौर र टेकु क्षेत्रका सार्वजनिक स्थानमा सवारीसाधन पार्किङ गर्दा प्रतिघण्टा मोटरसाइकलले २५, चारपाङ्ग्रे सवारीसाधनले ८० र त्यसभन्दा ठूला सवारीसाधनले ३ सय रुपैयाँँका दरले शुल्क तिर्नुपर्ने छ ।

महानगरपालिकाले सरकारसँग सशर्त अनुदानवापत १ अर्ब ७८ करोड ४ लाख र वित्तीय समानीकरणवापत ६७ करोड ७२ लाख रुपैयाँँ पाउनेमा आगामी आर्थिक वर्षका लागि १३ अर्ब २ करोड १२ लाख ३७ हजारको बजेट ल्याएको छ । उक्त बजेटमध्ये पूर्वाधारको विकासका लागि ३ अर्ब ६ करोड २५ लाख तथा कर्मचारीको तलब भत्ताका लागि १ अर्ब ९३ करोड, समाज कल्याण कार्यक्रमका लागि ९६ करोड ८५ लाख, हनुमानढोका दरबार क्षेत्र संरक्षणका लागि ४५ करोड छुट्याइएको छ । महानगरपालिकाले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म भने जम्मा ३ अर्ब २८ करोड ८४ लाख अर्थात २५.५३ प्रतिशतमात्र खर्च गरेको छ । 

महानगरपालिकाले चालू आर्थिक वर्षको १० महिनामा ४ अर्ब ३४ करोड २४ लाख राजस्व संकलन गरेको छ भने आगामी आर्थिक वर्ष त्यसको तीन गुणाभन्दा बढी राजस्व संकलनको लक्ष्य लिएको छ । महानगरपालिकाले आगामी आर्थिक वर्षमा १३ अर्ब २ करोड १२ लाख ३७ हजार राजस्व संकलनको लक्ष्य राखेको छ । महानगरपालिकाले ४ अर्ब ९० करोड २१ लाख आन्तरिक आय, ५ अर्ब १९ करोड वाह्य स्रोत र १ अर्ब ४ करोड ११ लाख अन्यतर्फबाट उठाउने बताएको छ । चालू आर्थिक वर्ष आन्तरिक स्रोतबाट ५ अर्ब ४८ करोड १६ लाख र वाह्य स्रोतबाट ७ अर्ब ३९ करोड ७८ लाख असुली गर्ने लक्ष्य लिएको छ । वैशाख मसान्तसम्म लक्ष्यको ४२.२७ प्रतिशत मात्र असुली गरेको महानगरपालिकाले जनाएको छ । ठूला करदातालाई करको दायरामा ल्याउन नसकेको घरबहाल कर असुलीमा नीतिगत स्पष्टता लगायतका कारणले पनि राजस्व असुली लक्ष्यको आधाभन्दा कम संकलन भएको महानगरपालिकाले जनाएको छ । कारोबार दैनिकमा खबर छ  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved