सुन तस्करीबारे महानिरीक्षक मौन, ‘अनुसन्धानबारे केही बोल्न मिल्दैन’

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 29, 2018 | 08:33:21 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सुन तस्करी र सनम शाक्य हत्या प्रकरणबारे आफूले केही नबोल्ने बताएका छन् ।खनालले आफू प्रहरी महानिरीक्षक हुनुअघि नै गृह मन्त्रालयले सुन तस्करी प्रकरणबारे अनुसन्धान गर्न विशेष समिति बनाएकाले त्यसबारे आफूलाई अन्य जानकारी नभएको बताए ।
प्रहरी महानिरीक्षक नियुक्त भएपछि बिहीबार पहिलोपटक प्रहरी प्रधान कार्यालयमा पत्रकारहरूसँग औपचारिक भेटघाट गरेका खनालले सुन तस्करीबारे गृह मन्त्रालयले गठन गरेको विशेष समितिले अनुसन्धान गरिरहेकाले आफूलाई त्यसबारे विस्तृत जानकारी नभएको जवाफ दिए ।
‘सुन तस्करी र सनम शाक्य हत्या सम्बन्धमा विशेष अनुसन्धान समितिले अनुसन्धान गरिरहेको छ, म महानिरीक्षक हुनुअघि नै समिति गठन भएको हो, विशेष समितिले गरेको कुरामा मैले प्रश्न उठाउन मिल्दैन,’ प्रहरी महानिरीक्षक खनालले पत्रकार भेटघाटमा भने, ‘विशेष समितिले गरेको अनुसन्धानमा मलाई प्रश्न उठाउने कानुनी अधिकार पनि छैन, समितिलाई सकरात्मक सहयोग गर्न तयार छु ।’

प्रहरी महानिरीक्षक खनालले सुन काण्डमा मुछिएका भनिएका आफ्ना कर्मचारीका विषयमा भने आफू सचेत रहेको बताए । ‘आफ्ना कर्मचारीका कुरामा म सचेत छु, मेरो दायित्व के भन्ने कुरामा म पूर्ण सजग छु,’ महानिरीक्षक खनालले भने ।खनालले आफू प्रहरी महानिरीक्षक भएपछि मुख्य तीन विषयलाई प्राथमिकतामा राखिएको समेत बताए । उनले नेपाल प्रहरीको प्राथमिक जिम्मेवारी, वर्तमानको प्राथमिकता र विशेष प्रहरी कार्यक्रम गरी प्रमुख तीनवटा जिम्मेवारीलाई आफूले अघि सारेको स्पष्ट पारे ।

खनालले प्राथमिक जिम्मेवारीअन्तर्गत शान्ति सुरक्षा, अपराध रोकथाम तथा अनुसन्धानलाई अघि सारेका छन् । यस्तै, वर्तमानको प्राथमिकताअन्तर्गत प्रहरीको संघीय रूपान्तरण र अपराध संहिता कार्यान्वयनलाई जोड दिएका छन् भने विशेष प्रहरी कार्यक्रमअन्तर्गत गृह प्रशासन सुधार कार्ययोजना, प्रहरी प्राथमिकता, लागूऔषध, मानव बेचबिखनविरुद्धका कारबाहीलगायतलाई समेटेका छन् ।
उनले आफू प्रहरी महानिरीक्षक भएपछिको कार्य प्रगतिको फेहरिस्तसमेत सार्वजनिक गरे ।
आफू महानिरीक्षक भएपछि अनुसन्धान तथा कारबाहीअन्तर्गत नक्कली नोट बरामद, बालयौन दुराचारमा क्यानेडियन नागरिक पक्राउ, इन्टरपोल टुल्सको प्रयोग, अवैध हातहतियार बरामद, वैध हातहतियारको गलत प्रयोग नियन्त्रण, लागूऔषधको बरामद र लागूऔषध खेती नष्ट गरिएको बारे उनले तथ्यांकसहितको विवरण पेस गरे । यसैगरी, यातायात सिन्डिकेटविरुद्धको कारबाही, श्रम रोजगार तथा सामाजिक सुरक्षाका विषयमाथिका उजुरीउपरका कारबाही, प्रहरी संगठनभित्रको गतिरोधको अन्त्य तथा संगठन सुदृढीकरण, नयाँ नियुक्तिलगायतका विषयमा समेत आफू महानिरीक्षक भएपछि उल्लेख्य प्रगति भएको उनले विवरणमा उल्लेख गरेका छन् । राजधानी दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved