बाढीपहिरोको वितण्डा: ११ को मृत्यु, हजार घर डुबानमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 03, 2018 | 08:34:38 AM मा प्रकाशित

laxmi  sunrise bank

देशका विभिन्न भागमा आएको बाढी–पहिरोले ११ जनाको मृत्यु हुनुका साथै तराई क्षेत्रमा हजारभन्दा बढी घर डुबानमा परेका छन् । डुबानग्रस्त क्षेत्रका पीडित घर छाडेर सुरक्षित स्थानतर्फ लागेका छन् भने सरकारको उद्धार प्रयास अत्यन्तै फितलो देखिएको छ ।

आइतबार र सोमबार देशभर भएको वर्षा र त्यसपछि आएको बाढी र डुबानमा परी ११ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । गृहका अनुसार अत्यधिक वर्षाबाट ८ जिल्ला प्रभावित छन् ।

रोल्पा र बाँकेमा बाढीपहिरोमा परेर सोमबार ६ जनाले ज्यान गुमाएका छन् । पहिरोले घर पुरेपछि रोल्पामा सुत्केरी र शिशुसहित ३ जनाको मृत्यु भयो । बाँकेमा बाढीले बगाउँदा ५ वर्षीय बालकसहित ३ जनाको मृत्यु भएको छ । निरन्तरको वर्षापछि रुन्टिगढी गाउँपालिका–५ सैबाङमा घरमाथि खसेको पहिरोमा पुरिएर नवजात शिशु र पत्नी एकैपटक गुमाउँदा राजकुमार विश्वकर्मा अचेत छन् । राजकुमारकी २२ वर्षीया पत्नी कमला र १८ दिनकी छोरी आयुषाको सोमबार बिहान ज्यान गएको हो ।

लगातारको भारी वर्षाले प्रदेश २ का अधिकांश क्षेत्र जलमग्न छन् । पर्साको पन्थी खोलामा आएको बाढीले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । जनकपुर र वीरगन्ज सहरका केही भाग डुबानमा परेका छन् ।

पर्साको पन्थी खोलामा आएको बाढीले बगाउँदा पर्सागढी नगरपालिका–४ रमौलीकी १५ वर्षीया प्रतिमा रामको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सत्यनारायण थापाका अनुसार बाढीले बगाएका थप २ विद्यार्थीको उद्धार गरिएको छ । एक विद्यार्थी अझै बेपत्ता छन् ।

प्रतिमासहित विद्यालयमा परीक्षा दिएर घर फर्कंदै गरेका ४ विद्यार्थीको समूहलाई सोमबार बिहान करिब साढे ९ बजे पन्थी खोलाले बगाएको थियो । कक्षा ९ का ती विद्यार्थीमध्ये १५ वर्षीय सुरेन्द्र राम बेपत्ता छन् । अर्का दुई संगीता चौरसिया र सुमन पासवानको स्थानीयले उद्धार गरेका थिए । दुवैको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । उनीहरू पर्सागढी नगरपालिका–४ बर्बाछटौलीस्थित नेपाल राष्ट्रिय आधारभूत उच्च माविमा विद्यार्थी हुन् ।

वर्षाले वीरगन्ज महानगरको अधिकांश क्षेत्र डुबेको छ । सडकमा तीन फिटसम्म पानी जमेको छ । महानगरका आदर्शनगर, पानीटंकी, जिल्ला प्रशासन कार्यालय क्षेत्र, रानीघाट, भिस्वा, नगवा, छपकैया, जेलरोडलगायत महानगरका थुप्रै क्षेत्र डुबानमा परेपछि २ अर्ब ८० करोड रुपैयाँ खर्चमा यसै वर्ष बनेको मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार आयोजनाको उपादेयतामा प्रश्न खडा भएको छ ।

कैलाली थापापुरको पूरै बस्ती डुबानमा परेको छ । काँडा नदीमा आएको बाढी गाउँ पसेपछि स्थानीयलाई सुरक्षित ठाउँमा सारिएको छ । गोदावरी नगरपालिकामा घर भत्किँदा एकजनाको मृत्यु भएको छ । थापापुरका गंगाराम चौधरीले बाढीबाट विस्थापित परिवारलाई खान र बस्न समस्या भएको बताए ।

अर्काको घरमा आश्रय लिइरहेका परिवारको अनाज र लत्ताकपडा सबै भिजेको उनले बताए । उनका अनुसार बाढी नपसेको अग्लो ठाउँमा रहेका आफन्तको घरमा विस्थापित परिवारले आश्रय लिइरहेका छन् । दुई दिनयताको लगातार वर्षापछि महाकाली नदीमा पानीको बहाव बढेको छ । सोमबार दिउँसो ३ बजेसम्म महाकालीमा पानीको बहाव १ लाख २४ हजार क्युसेक मापन गरिएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ । पानीको बहाव बढेपछि वनबासा पुलमा चारपाङ्ग्रे सवारी साधनको आवागमन बन्द गरिएको छ ।

करिब सय वर्ष पुरानो पुल जीर्ण बन्दै गएको भन्दै भारतीय पक्षले पानीको बहाव १ लाख क्युसेक नाघ्नेबित्तिक्कै ठूला खालका सवारी साधनको आवागमन बन्द गर्दै आएको छ । नदी तटीय क्षेत्रमा तत्काल खतरा नभए पनि निरन्तर नदीमा जलस्तर बढदै गएकाले सुरक्षित रहन आसपासका बासिन्दालाई सचेत गराइएको उनले बताए । कान्तिपुर दैनिकमा खबर छ  ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved