
चालु आर्थिक वर्षको अन्तमा मुलुकभरका सरकारी कार्यालयले चालु बजेटमा विनियोजित पूरै रकम रित्याउने गरी ब्रह्मलुट गरेका छन्।
कार्यालय प्रमुख, लेखा, स्टोर र प्रशासनमा कार्यरत कर्मचारीबीचको मिलेमतोमा चालु बजेटमा विनियोजन गरेको अर्बौं रुपैयाँ लुटिएको हो। गत शुक्रबार (असार २२ गते) एकै दिन १० अर्ब रुपैयाँ चालु खर्चअन्तर्गत भुक्तानी दिइएको छ।
सरकारको लेखा राख्ने जिम्मेवारी पाएको महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको सुरुदेखि जेठ अन्तसम्म चालु बजेटको खर्च दैनिक औसतमा एक अर्ब ८७ करोड रुपैयाँ हुँदै आएको थियो। असार १५ देखि दैनिक तीनदेखि चार अर्ब रुपैयाँ हुँदै आएकामा गत शुक्रबार एकै दिन १० अर्ब रुपैयाँ भुक्तानी भएको हो। वर्षका अघिल्ला दिनको तुलनामा असार १५ पछिको खर्च झन्डै तीन सय प्रतिशत बढी हो।
महालेखाका एक उच्च अधिकारीले गत शुक्रबार एकै दिनमा १० अर्ब रुपैयाँ बराबरको चालु बजेटको भुक्तानी गरेको सरकारले आइतबार त्यो भन्दा बढी हुने जानकारी दिए। ‘अब आज र भोलि (आइतबार र सोमबार) दैनिक १०–१५ अर्ब रुपैयाँको चालु खर्चको भुक्तानी हुनेछ,’ ती अधिकारीले नागरिकसँग भने, ‘सबैको ध्यान विकास बजेटको खर्चमा छ तर चालु खर्चमा मिलेर गरिएको ब्रह्मलुटप्रति कसैको चासो छैन।’
अर्थमन्त्री युवराज खतिवडाले केही महिनाअगाडि श्वेतपत्र जारी गर्दैे विगतका सरकारहरुले वित्तीय अनुशासन पालना नगरेको र त्यसले मुलुकको वित्तीय अवस्था गम्भीर बन्न पुगेको आरोप लगाए थिए। त्यसैबेला अर्थमन्त्री खतिवडाले अनावश्यक रुपमा चालु खर्च गर्न नदिने भन्दै यसअन्तर्गत बजेट कटौती गरेको बताएका पनि थिए। अर्थमन्त्रीको भनाइ र असार अन्तमा भइरहेको चालु खर्चको बढोत्तरीले खतिवडा पनि विगतका मन्त्रीभन्दा फरक देखिएका छैनन्।
महालेखाका ती अधिकारीका अनुसार अर्थमन्त्रीले साँच्चै चालु खर्चमा कटौती गर्न चाहेको हो भने अन्य महिनामा भन्दा असारमा बढी खर्च गर्न नदिने नीति ल्याउन सक्छन्। निजामती कर्मचारीलाई दसैं खर्च दिने भदौ–असोजको महिनाबाहेक अन्य महिनामा चालु खर्चको भिन्नता धेरै हुँदैन। तर अरू दिन औसतमा दुई अर्ब पनि खर्च नहुनेमा असारका पछिल्ला दिनमा दैनिक १० अर्ब रुपैयाँ भइरहेको छ। नागरिक दैनिकमा खबर छ ।