दुई तिहाईको सरकारलाई काम गर्न कसले रोक्यो ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 09, 2018 | 08:00:34 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति आफ्नै पार्टीभित्रबाटै आलोचना सुरु भएको छ । दुई तिहाई बहुमतसहितको सरकार गठन भएको चार महिना बितिसक्दा समेत जनताले महसुस गर्ने गरी काम नभएको भन्दै नेपाल कम्युनिस्ट पार्टीभित्रैबाट प्रधानमन्त्री ओलीको आलोचना सुरु भएको छ ।

पार्टीका नेताहरुले सरकारले काममा भन्दा पनि भाषणामा बढी जोड दिएको आरोप सरकारमाथि लगाएका छन् । स्थायी समितिको बैठकमा नेताहरुले सरकारको कार्यशैलीप्रति खुलेरै आलोचना गरेको बैठकमा सहभागी एक नेताले बताए ।

 उनका अनुसार सरकारले अपेक्षाकृत रुपमा काम गर्न नसकेको विषयमा पार्टीभित्र आम धारणा नै बनिसकेको छ ।

सरकार गठन भएलगत्तै केही सुधार हुने आशा र अपेक्षा नागरिकहरुले गरेका थिए । तर सरकार गठन भएको चार महिना बितिसक्दा समेत जनअपेक्षा अनुसार काम हुन नसकेको भन्दै पार्टीभित्र नै आलोचना सुरु भएको छ ।

सरकारको आलोचना सुरु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आलोचनाको प्रतिवादन गर्न नेताहरुलाई निर्देशन नै दिनुभएको छ । पार्टीका नेताहरुले दुई तिहाई बहुमत भएर पनि के कारणले सरकारले काम गर्न सकिरहेको छैन भन्ने प्रश्न अगाडि सारेको बताउँदै नेकपाका एक स्थायी समितिका सदस्यले नेपाल समाचारपत्रसँग भने– ‘कसैलाई दोष दिएर पन्छिने ठाउँ पनि अब सरकारसँग छैन, दुई तिहाई बहुमत प्राप्त सरकारले पनि भनेजस्तो काम गर्न नसकेपछि सरकारको आलोचना सुरु भएको छ ।’

प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई काम गर्नका लागि पर्याप्त समन्वय नगरेको विषयले पनि पार्टीभित्र चर्चा पाएको छ । ओली नेतृत्वको सरकारमा सिन्डिकेट हटाउने, सुन काण्डका छानविन, काम नगर्ने ठेकेदारहरुलाई पक्राउ गर्ने काम गरे गृहमन्त्री रामबहादुर थापामाथि नै अकुंश लगाउने काम भएको छ ।

समयभित्र नै काम नगर्ने ठेकेदारलाई पक्राउ गर्न गृह मन्त्रालयले पत्राचार गरे पनि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आपत्ति जनाउनुभएको छ । काम नगर्ने ठेकेदारलाई पक्राउ गर्ने गृहमन्त्री थापाको योजनाले सार्थकता पाउन सकेको छैन ।

गृहमन्त्रीको योजनालाई यातायात मन्त्री महासेठले नै चुनौती दिइरहेका छन्् । मन्त्रीहरुबीच नै समन्वयको अभाव देखिएको छ । प्रधानमन्त्री ओलीले मन्त्रीहरुको कामको पनि अनुगमन हुने बताए पनि मन्त्रीहरुबीच देखिएको असमझदारीलाई समन्वय गराउने कार्यमा समेत दिन सक्नुभएको छैन् ।

नयाँ सरकार गठनसँगै वर्षौंदेखि अलपत्र परेका विकास निर्माणका काम अगाडि बढ्ने अपेक्षा नागरिकले राखेका थिए । सरकारले रेलको सपना बाँडे पनि राजधानी उपत्यकासँगै देशकाभर वर्षौंदेखि निर्माण हुन नसकेर सडकको अवस्था अस्तव्यस्त बनेको छ । सरकारले राजधानी काठमाडौंको कंलकी–नागढुंगा, बौद्ध–जोरपाटी–साँखु सडक मात्र हेर्ने हो भने पनि निकै कष्टकर देखिएको छ ।

दैनिक रुपमा हजारांै नागरिकले दुःख र सास्ती बेहोर्दा सरकारले पर्याप्त ध्यान दिन नसकेको जोरपाटीका स्थानीय रमेश श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो– ‘ओली सरकारको रेल र पानीजहाज चाहिएन, वर्षौं बितिसक्दा पनि नबनेको जोरपाटी–बौद्धको सडक बनाइदिएर ढुक्कसँग हिँड्ने अवस्था बनाइदियोस ।’

समयमा नै सडक निर्माण नहुँदा हजारांै नागरिक धुलोका कारण अत्यास लाग्दो जीवन बाँच्न बाध्य भएका छन् भने बर्षाको समयमा पानी पर्नासाथ सडकमा सहज रुपमा आवतजावत गर्ने अवस्था समेत छैन ।

‘प्रधानमन्त्री रेलको सपना बाँडिरहनुभएको छ, आए त त्यो पनि राम्रो नै हो, तर हामीलाई अहिले रेलभन्दा पनि सडक निर्माण गरिदिए हुन्छ’ –बौद्धका पेम्बा दोर्जे शेर्पाले भन्नुभयो । उहाँले थप्नुभयो– ‘सरकारको भाषणा सुन्दा आजको भोलि नै देश बन्ला जस्तो लाग्छ, सडक हे¥यो, दिक्क लाग्छ ।’

सरकारकाले चार महिनाको अवधिमा पनि नागरिकले दैनिक जीवनकमा महसुस गर्ने काम नगरेको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसबाट भन्दा पनि आफ्नै पार्टीभित्रबाट आलोचनाको सामना गर्नुपरेको छ । छिमेकीसँगको सम्बन्ध मजबुत बनाउन प्रधानमन्त्री ओलीले भारत र चीनको भ्रमण गरिसक्नुभएको छ । तर देशलाई समृद्ध बनाउने प्रधानमन्त्री ओलीको अभियान र व्यवहारमा भने तालमेल मिलेका देखिँदैन ।

नेकपाका स्थानीय समितिका एक सदस्यले भने– ‘दुई तिहाई बहुमतसहितको सरकार छ, अवरोध भए पनि पन्छाउने तागत सरकारसँग छ, तर सरकारले खै किन हो तत्काल काम गरेर परिणाम दिनुपर्ने विषयमा पनि काम गर्न सकेन ।’ सरकारको कार्यशैलीप्रति नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, नेता घनश्याम भुसाललगायतका नेताहरुले असन्तुष्टि जनाएका छन् । नेपाल समाचार पत्र दैनिकमा खबर छ  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved