बाहिरी चक्रपथ बनाउन चिनियाँ कम्पनीको प्रस्ताव

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 09, 2018 | 08:23:41 AM मा प्रकाशित

laxmi  sunrise bank

 बहुप्रतिक्षित बाहिरी चक्रपथ निर्माणका लागि चिनियाँ निर्माण कम्पनीले प्रस्ताव गरेको छ । चिनियाँ निर्माण कम्पनी साउथ चाइना ओभरसिज डेभलपमेन्ट कम्पनीले बाहिरी चक्रपथ निर्माण गर्न प्रस्ताव गरेको उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले जानकारी दिनुभयो । 

काठमाडौं उपत्यकाको शहरीकरण र ट्राफिक जामलाई व्यवस्थित गर्न बाहिरी चक्रपथको अवधारणा ल्याइएको हो । यसअघि नै चीन सरकारले बाहिरी चक्रपथको सडक निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता जनाइसकेको छ ।चिनियाँ निर्माण कम्पनीको एक प्रतिनिधिमण्डलले शहरी विकासमन्त्री महम्मद इस्तियाक राइन र उपत्यका विकास प्राधिकरणका पदाधिकारीसँग भेट गरी बाहिरी चक्रपथ निर्माण गर्ने प्रस्ताव गरेको जानकारी प्रमुख तिवारीले दिनुभयो । मन्त्री राइनले अनुभवी र दक्ष निर्माण कम्पनी मार्फत बाहिरी चक्रपथ निर्माण हुनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । 

प्राधिकरण प्रमुख तिवारीका अनुसार, प्रतिनिधिमण्डलसँगको भेटमा नेपालले चक्रपथ निर्माणका लागि स्पष्ट र विस्तृत् प्रस्ताव प्रस्तुत गर्न चिनियाँ निर्माण कम्पनीलाई आग्रह गरेको थियो । त्यस क्रममा मन्त्री राइनले प्रस्तावित बाहिरी चक्रपथको ‘पाइलट प्रोजेक्ट’ का रुपमा चोभार–सतुङ्गल खण्डको काम अगाडि बढाउन अन्तिम तयारी भइरहेको जानकारी दिनुभएको थियो । चोभार–सतुङ्गल खण्डको लम्बाई ६.६ किलोमिटर छ ।

चिनियाँ कम्पनीले बाहिरी चक्रपथको पूरै खण्ड निर्माण गर्न प्रस्ताव गरेको र त्यो सकारात्मक रहेको जानकारी प्राधिकरण प्रमुख तिवारीले दिनुभयो । प्रस्तावित बाहिरी चक्रपथको कुल लम्बाई ७२ किलोमिटर छ । बाहिरी चक्रपथ निर्माण सम्बन्धी छलफल गर्न पाँच सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल शुक्रबार नेपाल आएको छ । प्रतिनिधिमण्डलले शनिबार चोभार–सतुङ्गल खण्डको स्थलगत निरीक्षण समेत गरेको थियो । आयोजनका अनुसार, प्रस्तावित बाहिरी चक्रपथको ७२ किलोमिटरमध्ये ६४ किलोमिटर मात्र नयाँ सडक निर्माण गर्नुपर्ने हुन्छ, बाँकी आठ किलोमिटर भक्तपुरको सिर्जना नगरदेखि जागतीसम्म अहिलेको अरनिको राजमार्गमा जोडिने छ ।

प्रस्तावित चक्रपथमा काठमाडौंको नागार्जुन डाँडामा आठ सय मिटरको सुरुङमार्ग (टनेल) समेत निर्माण गर्नुपर्ने हुन्छ । यो चक्रपथको काठमाडौंमा ३५.८ किलोमिटर, ललितपुरमा १५.८ किलोमिटर र भक्तपुरमा २१.५ किलोमिटर दुरी पर्नेछ । त्यसैगरी, काठमाडौंको चोभार, गाम्चा, सतुगङ्ल, नैकाप, पुरानो भज्याङ, सितापाइला, नागार्जुन डाँडा, नेपालटार, गोंगबु, टोखागाउँ भएर जाने छ । त्यस्तै चपली, कपन, जगडोल, सन्डोल र थलिडाँछी पुग्ने छ । भक्तपुरमा भने चाँगुनारायण, दुवाकोट, झौखेल, छालिङ, बागेश्वरी, सुडाल, ताथली, चितापोल, भक्तपुर नगरपालिका, कटुन्जे, दधिकोट र सिरुटारलाई प्रस्तावित यो चक्रपथले जोड्ने छ । ललितपुरमा लुभु, सिद्धिपुर, हरिसिद्धि, ठैब, धापाखेल, ठेचो पुग्ने छ । त्यसैगरी छम्पी, बुङ्मती र खोकना हुँदै सडकले चोभार जोड्ने छ । ती स्थानहरूलाई बाहिरी चक्रपका ‘नोडल प्वाइन्ट’ मानिएको आयोजनाले जानकारी दिएको छ ।

बाहिरी चक्रपथ निर्माणका लागि आर्थिक बर्ष २०५६÷५७ मा नै ‘नेपिकोन’ भन्ने संस्थाले पूर्व सम्भाव्यता अध्ययन गरेको थियो । त्यसअघि २०५० सालमा नै उपत्यकाको शहरीकरण र ट्राफिक जामलाई व्यवस्थित गर्न सरकारद्धारा गरिएको अध्ययनमा बाहिरी चक्रपथको आवश्यकता औंल्याइएको थियो । आर्थिक बर्ष २०६१÷६२ मा सरकारले आयोजनाका लागि बजेट विनियोजन गर्न शुरु गरेको थियो । त्यसयता कार्यालय सञ्चालन गरी काम हुँदै आएको छ । यस आयोजनामा अहिलेसम्म कागजी काम भए पनि फिल्डमा केही पनि काम हुन सकेको छैन् । चक्रपथ निर्माणका लागि सात हजार दुइ सय रोपनी जग्गाको आवश्यकता पर्दछ तर अहिलेसम्म जग्गा अधिग्रहणका काम पनि हुन नसकेको अधिकारीहरूले बताएका छन् ।

बाहिरी चक्रपथ निर्माणका लागि सन् २००४ मा नै नेपाल र चीन सरकारबीच सहमति समेत भएको थियो । तर नेपाल सरकारले समयमा सम्भाव्यता अध्ययन पुरा गर्न नसक्दा पछिलो समयमा चीन सरकारले चासो दिन छोडिसकेको थियो । गोरखापत्र दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved