सरकारद्वारा जथाभावी सहायता वितरण, कसलाई कति ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 14, 2018 | 08:53:10 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक सुशासन र मितव्ययिताको चर्को नारा दिँदै आएको सरकारले एकै दिन लाखौं रुपैयाँ आर्थिक सहायता वितरण गरेको पाइएको छ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले एकै दिन आफूनिकटलाई ४३ लाख रुपैयाँ वितरण गरेको हो ।

गत २० जेठको मन्त्रिपरिषद् बैठकले इलामका डा.मिमाङ तेम्बे मालापथलाई १२ लाख, धनगढीका नरेन्द्रराज पोख्रेललाई ६ लाख, झापाका खगेन्द्र चुडाललाई १५ लाख र हेटौंडाका श्रीचन्द्र पौडेललाई १० लाख रुपैयाँ दिने निर्णय गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उनीहरूलाई औषधि उपचारका लागि आर्थिक सहायता दिने निर्णय गरिएको जनाएको छ ।

यसअघि मन्त्रिपरिषद्ले वैशाखमा चितवनका ध्रुव घिमिरेलाई ७ लाख रुपैयाँ दिने निर्णय गरेको थियो । प्रधानमन्त्री कार्यालयका अनुसार चैतमा विभिन्न व्यक्तिलाई आर्थिक सहायतास्वरूप ३५ लाख रुपैयाँ वितरण गरिएको थियो । त्यसभन्दा पहिले शेरबहादुर देउवा नेतृत्वको सरकारले ९ महिनामा ४० करोड रुपैयाँभन्दा बढी रकम आर्थिक सहायता वितरण गरेको थियो । अत्यधिक आर्थिक सहायता वितरण गरेकाले तत्कालीन प्रधानमन्त्री देउवाको तीव्र आलोचित भएका थिए ।

सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले विगतका राजनीतिक क्रान्तिमा ठूलो योगदान गरेका व्यक्तिलाई गम्भीर र कडा रोग लागेकाले उनीहरूलाई आर्थिक सहायता वितरण गरिएको दाबी गरे । ‘विगतमा जसरी जथाभावी आर्थिक सहायता वितरण गरिएको थियो त्यसको तुलनामा अहिले केही पनि बाँडिएकै छैन, हामीले यसमा निकै कडाइ गरेका छौं’, उनले भने ।

मन्त्री यादवलाई ५ लाखभन्दा बढी

सरकारले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई थाइल्यान्डमा गरेको सबै उपचार खर्च बेहोर्ने निर्णय गरेको छ । मन्त्री यादवका स्वकीय सचिव सन्तोष विष्टका अनुसार उनको शरीरमा अक्सिजनको मात्रा अत्यधिक न्यून भएर विभिन्न समस्या आएकाले थाइल्यान्डमा उपचार गरिएको र उपचारमा ५ लाख रुपैयाँभन्दा धेरै खर्च भएको छ । यस अवधिमा क्यान्सर, मिर्गौला र मुुटुसम्बन्धी कडा रोग लागेका कर्मचारीलाई पनि लाखौं रुपैयाँ सहायता वितरण गरिएको बताइएको छ ।

दैवी प्रकोप राहत पुनःस्थापनाको रकम गाडी किन्न

सरकारले जेठ महिनामा राष्ट्रपति कार्यालयलाई विद्युतीय सवारी खरिद गर्न र उपराष्ट्रपतिको भ्रमणमा गरी झण्डै ८० लाख रुपैयाँ खर्च भएको जानकारी दिएको छ । अर्थ मन्त्रालयका अनुसार दैवी प्रकोप राहत तथा पुनःस्थापनाको रकमबाट राष्ट्रपति कार्यालयका लागि विद्युतीय सवारी खरिद गर्न ७० लाख रुपैयाँ निकासा गर्ने निर्णय गरिएको छ । प्युठान र दाङको कार्यक्रममा उपराष्ट्रपति नन्दकिशोर पुन सहभागी हुन जाँदा प्रयुक्त हेलिकप्टरको ८ लाख २ हजार २ सय रुपैयाँ खर्च भैपरी आउने खर्चबाट गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

परराष्ट्रको टोलीलाई ५१ लाख

अर्थ मन्त्रालयले गत जेठमा परराष्ट्रमन्त्री र सचिवको नेतृत्वमा विभिन्न ४ देश गएको टोलीको भ्रमणमा ५१ लाख ३० हजार ६ सय रुपैयाँ खर्च भएको जनाएको छ । अन्नपुर्ण पोस्ट दैनिकमा खबर छ  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved