मोदी ३० घण्टा नेपाल बस्दा सवा ६ करोड खर्च, कसले कति लगे ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 24, 2018 | 08:50:47 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणमा सवा ६ करोड रुपैयाँ खर्च गरेको छ । आर्थिक अनुशासन र खर्चमा मितव्ययिता कायम गर्ने सरकारको प्रतिबद्धताविपरित अर्थ मन्त्रालयले मोदी भ्रमण व्यवस्थापनका क्रममा करिब ३० घण्टाको खर्च विभिन्न ९ वटा निकायलाई ६ करोड ३३ लाख ७३ हजार २ सय ७७ रुपैयाँ निकासा दिएको हो । वैशाख २८ गते बिहारको राजधानी पटनाबाट जानकी मन्दिर हुँदै काठमाडौं आएका मोदी वैशाख २९ गते नै स्वदेश फिर्ता भएका थिए । 

अर्थ मन्त्रालयले २ नम्बर प्रदेश मुख्यमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, महानगरीय प्रहरी, महानगरीय सशस्त्र प्रहरी, क्षेत्रीय सशस्त्र प्रहरीका नाममा उक्त रकम निकासा दिएको हो । बहालवाला तथा पूर्व प्रशासकहरू नै यत्रो खर्च अस्वभाविक भएको बताउँछन् । “भारतीय प्रधानमन्त्रीको करिव ३० घण्टाको बसाइका क्रममा यतिधेरै खर्च देखाएर भुक्तानी दिनु स्वभाविक मान्न सकिदैन,” एक सचिव भन्छन्, “एकातिर खर्चमा आर्थिक अनुशासन र मितव्ययिता भन्ने, अर्कातिर अस्वभाविक बिलभुक्तानी अर्थबाटै स्वीकृति गर्नेकुरा पटक्कै सुहाएन ।”

अर्थ मन्त्रालयका अनुसार मोदी भ्रमण व्यवस्थापनका नाममा परराष्ट्र मन्त्रालयले १ करोड २८ लाख १० हजार ९ सय १९ रुपैयाँ लिएको छ । त्यस्तै मोदीलाई नागरिक अभिनन्दन गरेको २ नम्बर प्रदेशको मुख्यमन्त्री कार्यालयले ३ करोड १२ लाख ३५ हजार ३ सय ५८, गृह मन्त्रालयले ६५ लाख, २ नम्बर, ३ नम्बर र ४ नम्बर प्रदेश अन्तर्गत रहेका ८ वटा जिल्ला प्रशासन कार्यालयले २६ लाख ३२ हजार नेपाली सेनाले २२ लाख ४५ हजा रुपैयाँ लिएका छन् । यसैगरी ती प्रशासन अन्तर्गतकै जिल्ला प्रहरी कार्यालयले ४८ लाख ६४ हजार, महानगरीय प्रहरीले २६ लाख ३५ हजार, महानगरीय सशस्त्र प्रहरी कार्यालयले १८ लाख ४६ हजार तथा पथलैया र पोखरा स्थित सशस्त्र प्रहरीका २ वटा बाहिनीले ८ लाख ५० हजार रुपैयाँ मोदी भ्रमण व्यवस्थापन खर्चबापत बुझेका छन् । 

मोदी भारतीय वायु सेनाको विशेष विमानबाट वैशाख २८ गते पटना हुँदै जनकपुर आएका थिए । जनकपुरबाट भारतीय विमानबाटै काठमाडौं आएका मोदीले वैशाख २९ गते मुक्तिनाथ दर्शन गरी पुन: काठमाडौंबाट दिल्ली फिर्ता भएाक थिए । उनी भारतीय वायुसेवाकै विमानबाट काठमाडौं र मुक्तिनाथ गएका थिए । सरकारले मोदी तथा उनको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलका लागि बौद्धस्थित ह्यात होटलमा व्यवस्थापन गरेको थियो । मोदीलाई काठमाडौं महानगरले वैशाख २९ गते नै नागरिक अभिनन्दन गरेको थियो ।

कसलाई कति निकासा ?
♦ प्रदेश २ मुख्यमन्त्री कार्यालय : ३ करोड १२ लाख ३५ हजार
♦ परराष्ट्र मन्त्रालय : १ करोड २८ लाख ११ हजार
♦ गृह मन्त्रालय : ६५ लाख
♦ जिल्ला प्रशासन कार्यालय : २६ लाख ३२ हजार
♦ जिल्ला प्रहरी कार्यालय : ४८ लाख ६४ हजार
♦ महानगरीय प्रहरी : २६ लाख ३५ हजार
महानगरीय सशस्त्र प्रहरी : १८ लाख ४६ हजार
♦ क्षेत्रीय सशस्त्र प्रहरी : ८ लाख ५ हजार
♦ सेना : २२ लाख ४५ हजार
कारोबार दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved