जुम्लाको तातोपानी गाउँपालिकाको बैठकस्थल पुग्नुभयो भने तपाईं अचम्ममा पर्नुहुनेछ । सामूहिक बैठक बस्ने प्रतिनिधिहरू दलित प्रतिनिधिले छोएको चिया र पानीसमेत पिउन मान्दैनन् ।दलित प्रतिनिधिले छोएको पानी पिउन नमान्ने सर्वसाधारण जनता पनि होइनन् । कथित माथिल्लो जातका जनप्रतिनिधि नै हुन् । गाउँमा जातीय बहिष्करणको सिकार बनेका नागरिकसँगै गाउँपालिका बैठकमै माथिल्लो जातका व्यक्तिले पानी छोइदिएको भन्दै खान नमानेको तितो अनुभव सुनाउँछन्, दलित प्रतिनिधि ।
दलित भएकै कारण गाउँ कार्यपालिकाको बैठकदेखि विभिन्न सभा सम्मेलनमा समेत सहकर्मीबाटै हेपिएको तितो अनुभव दलित जनप्रतिनिधिसँग छ । तातोपानी गाउँपालिका–५ की वडा सदस्य दुरुपति नेपाली आफू दलित भएकै कारण सार्वजनिक ठाउँमा कैयौंपटक हेपिनुपरेको बताउँछिन् । वडाको बैठकमै उनलाई माथिल्ला जातका सदस्यले उनले छोएको पानीसमेत खान नमानेको बताउँछिन् ।
‘वडापालिकाका ब्राह्मण सदस्यहरू बैठकमा मैलै छोएको पानीसमेत पिउदैनन्, म दुखित छु, जातीय आधारमा हेपिएको महसुस भएको छ,’ उनले भनिन् ।जनप्रतिनिधि नेपाली एकल महिला पनि हुन् । एकल महिला र दलित आरोपमा उनलाई स्थानीय धामी झाँक्रीले समेत छुन मान्दैनन् । झुक्किएर छोइहाले सुनपानीसम्म छर्कन्छन् ।
‘मलाई दलित एकल महिला भनेर गाउँका धामी झाँक्रीले समेत छुन मान्दैनन्,’ उनी भन्छिन्, ‘स्थानीय तह कार्यान्वयनमा आएपछि जातीय विभेदको अन्त्य हुनुपर्ने हो तर झन् हावी भएको छ ।’जातीय विभेद गर्ने र विभेदको मारमा पर्ने जनप्रतिनिधि नै छन् । अझै पनि दलित र ब्राह्मण बस्ती रहेको गाउँमा सार्वजनिक काममा होस् या समाजभित्र जातीय छुवाछूतको अवस्था उस्तै रहेको तातोपानीका लोकबहादुर परियारले बताइन् ।जिल्ला समन्वय समिति जुम्लाका प्रमुुख लालबहादुर सार्कीले जातका आधारमा गरिने व्यवहार विद्यमान रहेको बताए । उनी विशेषगरी बाहुन क्षेत्रीमा जातिवाद हावी रहेको दाबी गर्छन् ।‘अरू त परै जाओस् धारामा माथिल्लो जातका व्यक्तिले पानी भरिसकेपछि मात्र हामीले भर्नुपर्छ, सहजै उनीहरूका भाँडाकुँडा छुन पनि मिल्दैन,’ समन्वय समिति प्रमुख सार्की भन्छन् ।
गूरुकुलमा पनि ‘नो इन्ट्री’
सदरमुकाम खलंगास्थित चन्दननाथ मन्दिर पूर्वतर्फ बनेको एउटा भवनको अँध्यारो कोठाभित्र ३५ जना विद्यार्थी भाका हालेर संस्कृत श्लोक कण्ठस्थ गर्दै छन् । दौरा सुरुवालमा सजिएका प्रधानाध्यापक विश्वराज उपाध्यायसँगै स्वर मिलाउँदै छन्, चेलाहरू ।यो कर्णालीकै पहिलो गुरुकुल पाठशाला हो । २०६९ सालमा स्थापना भएको चन्दननाथ गुरुकुल पाठशालामा ४ कक्षासम्म पढाइ हुन्छ । एक शिक्षक र ५२ जना विद्यार्थी छन् । तर, दलितको संख्या भने शून्य छ । विद्यालयमा जुम्लाका ब्राह्मण र क्षेत्री समुदायका बालबालिका मात्रै पढ्न पाउँछन् । कथित तल्लो जातको आधारमा छोएको नखाने, छुईछिटो हाल्ने, मन्दिर प्रवेशमा रोक लगाउने, जुम्लाको चलन नै जसरी हटेको छैन, उसैगरी गुरुकुलमा दलितका लागि अध्ययन बर्जित छ ।
यहाँ व्यवस्थापन समिति, शिक्षक र विद्यार्थी सबै ब्राह्मण क्षेत्री मात्रै छन् । नेपालको संविधानले छुवाछूत मात्र होइन प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक ज्ञारेन्टी गरेको छ । जसमा दलित विद्यार्थीलाई प्राथमिकदेखि उच्च शिक्षासम्म कानुनबमोजिम छात्रवृत्तिसहित निःशुल्क शिक्षाको व्यवस्थासमेत छ ।
तर, एक जना शिक्षकको भरमा सञ्चालन भइरहेको यो विद्यालयमा एउटा पनि दलित विद्यार्थी छैनन् । प्रधानाध्यापक उपाध्ययायका अनुसार चन्दननाथ नगरपालिका र तातोपानी गाँउभित्रका ब्राह्मण र क्षेत्री समुदायका बालबालिका मात्र विद्यालयमा अध्ययन गरिरहेका छन् ।
‘खोइ किन हो दलित र अन्य समुदायका विद्यार्थी आएकै छैनन्,’ उपाध्याय भन्छन्, ‘गत वर्ष दुई–चार जना दलित समुदायका विद्यार्थी संस्कृत पढ्न भन्दै आए, तर पछि सम्पर्कबाटै हराए ।’
दलित विद्यार्थी भर्ना गर्न उनले पटकपटक विद्यालय व्यवस्थापन समितिको बैठकमा कुरा राखे तर न दलितलाई विद्यालय ल्याउन कसैले पहल ग¥यो न दलित समुदायबाट चासो व्यक्त भयो । जसका कारण विद्यालय आज पनि बाहुन क्षेत्रीका लागि मात्र अध्ययनको थलो बन्दै आएको छ । ‘दलित समुदायलाई दोस्रो दर्जाको नागरिका रूपमा हेर्ने परिपाटी र सोचाइले यस्तो अवस्था सिर्जना भएको हो,’ संस्कृत विद्यालयका प्रधानाध्यापक भन्छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दयादत्त हमाल भने दलित समुदायका विद्यार्थी पढ्न नै नआएको दाबी गर्छन् ।
भौतिक संरचना अभावमा कोचिएर पढाउनुपर्ने बाध्यतामा रहेको विद्यालयलाई नगरपालिकाले २ लाख रुपैयाँ सहयोग ग¥यो तर दलित र अन्य जनजाति समुदायका विद्यार्थीलाई विद्यालय भर्ना गराउन भने चासो देखाएन । राजधानी दैनिकमा खबर छ ।