
आज प्रकाशित राष्ट्रिय दैनिकहरुले आफ्नो आर्थिक पृष्ठमा विभिन्न बिषयलाई प्राथमिकता दिएर समचार प्रकाशन गरेका छन् ।
कान्तिपुर दैनिकले डलर १ सय १५ नाघेको बिषयलाई मुख्य सामाचार बनाएको छ ।केही सातायता अमेरिकी डलर निरन्तर रूपमा उकालो लागेको छ । अमेरिकी अर्थतन्त्रमा देखिएको सुधारले विश्व बजारमै डलर झन् झन् बलियो बन्दै गएको हो ।डलर बलियो बन्दै गएपछि नेपाली मुद्रा निरन्तर रूपमा कमजोर बनेको छ । यही क्रममा बिहीबार एक अमेरिकी डलरको विनिमय दर १ सय १५ रुपैयाँ ११ पैसा पुग्यो । यो हालसम्मकै कमजोर हो ।
सामान्यतया भारु कमजोर भएपछि त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा पनि पर्छ । भारुसँग स्थिर विनिमय दर रहेकाले भारु बलियो बन्दा नेरु पनि बलियो र कमजोर हुँदा नेरु पनि कमजोर हुन्छ । स्थिर विनिमय दरसँगै कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर रहेकाले पनि भारुको विनिमय दर घटबढ भएलगत्तै नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ ।
कान्तिपुर मै चीन हुँदै तेस्रो मुलुक व्यापार सम्भव बन्दै शिर्षकको समाचार छ । नेपालले चीनको बन्दरगाह प्रयोग गरी तेस्रो देशसँग व्यापार गर्न सक्ने सम्भावना नजिकिएको छ । चिनियाँ बन्दरगाह प्रयोगका लागि नेपाल र चीनबीच सहमति जुटे चीन हुँदै तेस्रो मुलुकसँग व्यापारको बाटो खुला हुनेछ ।यसले तेस्रो मुलुकसँगको व्यापारमा भारतीय बन्दरगाह प्रयोग गर्नैपर्ने नेपालको निर्भरतासमेत कम हुनेछ ।
नेपालले चिनियाँ बन्दरगाह प्रयोग गर्न पाउने विषयमा नेपाल र चीनका पदाधिकारीबीच काठमाडौंमा बुधबारदेखि बैठक सुरु भएको छ । बैठकले नेपाली पक्षले चीनको विभिन्न समुद्री तथा सुक्खा बन्दरगाह प्रयोग गर्न पाउने र सामान ढुवानीका लागि कुन रुट प्रयोग गर्न पाउने विषयमा सहमति जुटाउने अपेक्षा छ ।
नयाँ पत्रिका दैनिकले काठमाडौं–हेटौँडा सुरुङमार्ग चिनियाँ कम्पनीले बनाउने खबर छापेको छ । बहुप्रतीक्षित काठमाडौं–हेटौँडा सुरुङमार्ग चिनियाँ कम्पनीले बनाउने भएको छ । चीनको पावर चाइना कम्पनीले सुरुङमार्गको लागतको ९५ प्रतिशतसम्म लगानी गर्ने सहमति गरेको छ । आयोजना निर्माणको जिम्मा पाएको नेपाल पूर्वाधार विकास कम्पनी तथा पावर चाइनाबीच बुधबार संयुक्त विकास सम्झौता भएको भएको हो । सहमतिअनुसार ७५ प्रतिशत ऋण र २५ प्रतिशत इक्विटीमा बन्ने आयोजनालाई चाहिने ऋण अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूबाट जुटाउने जिम्मा पनि पावर चाइनाले नै लिएको छ ।
नयाँ पत्रिका मै तातोपानी नाका खुल्ने ठोस आधार नदेखिएको खबर छ।
अन्नपूर्ण पोस्ट दैनिकले नेपाल–चीन प्रोटोकल बैठक : सबै बन्दरगाह प्रयोग गर्न दिने आश्वासन शिर्षकको समाचार छापेको छ । चीनले नेपाललाई सबै बन्दरगाह प्रयोग गर्न दिने आश्वासन दिएको छ। आश्वासन कार्यावन्यनमा आए नेपालले आवश्यताअनुसार चीनका बन्दरगाह उपयोग गर्न पाउनेछ। नेपालले ६ वटा बन्दरगाहसम्म पहु“चका लागि चीन समक्ष प्रस्ताव गरेको थियो। चीनसँगको पारवहन तथा परिवहन सम्झौतालाई अन्तिम रूप दिन आवश्यकपर्ने प्रोटोकल (प्रक्रियागत संहिता)को तेस्रो चरणको छलफलमा नेपालले त्यस्तो प्रस्ताव गरेको हो। राजधानीमा बुधबारदेखि प्रोटोकलका विषयमा नेपाल–चीन संयुक्त बैठक सुरु भएको छ। बैठक दुई दिनसम्म चल्नेछ।
त्यस्तै स्मार्ट लाइसेन्स छपाइ मालिकालाई ठेक्का दिने तयारी भएको खबर पनि अन्नपूर्णमा छ। यातायात व्यवस्था विभागले सवारीचालक अनुुमतिपत्र (स्मार्ट लाइसेन्स) छाप्ने ठेक्का मालिका इन्कर्पाेरेटलाई दिने तयारी गरेको छ। एउटा कार्डको १५ रुपैयाँका दरले पाइपलाइनमा रहेका पाँच लाख कार्ड छाप्ने ठेक्का मालिकालाई दिन लागिएको विभागका महानिर्देशक लावण्यकुुमार ढकालले जानकारी दिए।
मालिका इन्कर्पाेरेट अमेरिकामा स्मार्ट लाइसेन्स छाप्ने जेब्रा कम्पनीको नेपालका लागि आधिकारिक बिक्रेता हो। यसले २० वटा प्रिन्टर प्रयोग गरी पाइपलाइनमा रहेका स्मार्ट लाइसेन्स छाप्ने जानकारी दिएको छ। पाँच लाख सेवाग्राहीले प्रक्रिया पूरा गरेको १२ महिनासम्म पनि स्मार्ट लाइसेन्स पाउन सकेका छैनन्। विभागमा भएका प्रिन्टरले मागअनुुसार स्मार्ट लाइसेन्स छाप्न नसकेपछि बाहिरी कम्पनीलाई ठेक्का दिन लागिएको हो। पाइपलाइनमा रहेका स्मार्ट कार्ड अन्य कम्पनीको तुुलनामा सस्तोमा छाप्न प्रस्ताव गरेकाले मालिका इन्कर्पोरेटलाई ठेक्कामा दिन लागिएको हो।
नागरिक दैनिकले काम नगर्ने जलविद्युत आयोजनाको लाइसेन्स खारेज हुने सामाचार छापेको छ । ३ बर्ष अघि बिद्युत विकास बिभागबाट उत्पादन अनुमति लिएका तर २० प्रतिशत भन्दा कम काम गरेका आयोजनाको लाइसेन्स खारेज हुने भएको हो ।
कारोबार दैनिकले पनि हेटौडा सुरुङमार्गमा चिनियाँ कम्पनीले लगानी गर्ने खबर छापेको छ । त्यस्तै सुरक्षित आप्रवासन अब ३९ जिल्लामा शिर्षकको समाचार पनि कारोबारमा छ । कारोबार मै सफा उद्योग स्थापना गर्न भारतीय टाटा कम्पनीले सघाउने खबर छ ।