सबै श्रमिकलाई पेन्सन, अग्रिम ऋण भुक्तानी गर्दा शुल्क लिन नपाइने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 17, 2018 | 09:06:23 AM मा प्रकाशित

laxmi  sunrise bank

आज असोज १ गते प्रकाशित राष्ट्रिय दैनिकहरुले आफ्नो आर्थिक पृष्ठमा विभिन्न बिषयलाई प्राथमिकता दिएर समाचार प्रकाशन गरेका छन् । कान्तिपुर दैनिकले वाणिज्य बैंकहरूले सीधै अस्ट्रेलियन डलर पनि आयात गर्न पाउने भएको खबर छापेको छ । बजारमा अस्ट्रेलियन डलर अभाव हुन थालेपछि वाणिज्य बैंकहरूले पनि आयात गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको हो । राष्ट्र बैंकले आइतबार परिपत्र जारी गरी यस्तो निर्देशन दिएको हो ।

त्यस्तै ऋण लिँदा तोकिएको सर्त वा ब्याजदर परिवर्तन भएको कारण ऋणीले अग्रिम कर्जा भुक्तानी गर्न चाहे बैंकले अबदेखि थप शुल्क लिन नपाउने भएको खबर पनि कान्तिपुरमा छ ।बैंक तथा वित्तीय संस्थाले एकतर्फी रूपमा ब्याज नबढाऊन् र सर्तहरू नतोडून् भन्ने उद्देश्यले ‘एकीकृत निर्देशिका ०७५’ मार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

यसअघि पनि ब्याजदर बढेको वा सर्तहरू परिवर्तन भएका कारण ऋणीले अग्रिम ऋण भुक्तानी गर्न चाहेमा अतिरिक्त शुल्क (अग्रिम भुक्तानी शुल्क) नतिर्ने सुविधा थियो । तर, त्यसका लागि ऋणीले अग्रिम भुक्तानी गर्न लागेको रकम र आफ्नो आयको स्रोत प्रमाणित गराउनुपथ्र्यो । सम्पत्ति बिक्री तथा अन्य ठाउँको ऋण र सापटी रकमले अग्रिम भुक्तानी गर्न पाइँदैनथ्यो । 

कान्तिपुर मै  भारतले निर्माण गरिरहेको जलमार्गसम्बन्धी पूर्वाधारको स्थलगत अध्ययनका लागि नेपाली टोलीले वाराणसी र कोलकाताको स्थलगत भ्रमण सुरु गरेको खबर छ ।जल तथा शक्ति आयोगका सह–सचिव माधव बेल्बासे नेतृत्वको टोली आइतबार काठमाडौंबाट दिल्ली हुँदै वाराणसी पुगेको छ ।

अन्नपुर्ण पोस्टले सिन्डिकेट लागू गरिरहेका यातायात व्यवसायी सामु झुक्दै सरकारले दसैंका लागि अग्रिम टिकट खुला गर्न सहमति जनाएको खबर छापेको छ। सरकारले आगामी असोज ५ गतेदेखि अग्रिम टिकट खुला गर्न यातायात व्यवसायीसँग सहमति गरेकोे हो।

यातायात व्यवस्था विभागमा आइतबार सरोकारवालासँग भएको छलफलमा यातायात व्यवसायीले अग्रिम टिकट खुला गर्न सरकारले रोक्का गरेका समितिको खाता फुकुवा गरिदिनुपर्ने शर्त अघि सारेका थिए। विभागले कार्यविधि बनाएर रोक्का भएको खाता फुकुवा गरिदिन सम्बन्धित निकायमा पहल गर्ने सहमति जनाएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसम्बद्ध व्यवसायीले अग्रिम टिकट खुला गर्न मुख्य गरी यही मागलाई अघि सारेका थिए। छलफलमा महासंघका पदाधिकारीसहित नेपाल प्रहरी, ट्राफिक प्रहरी र विभागका अधिकारी सहभागी भएका थिए।

अन्नपूर्ण मै सरकारले तराईका विमानस्थल स्तरोन्नति गरी क्षेत्रीयस्तरको बनाउने भएको खबर छ। पाँच वर्षभित्र तराईका विराटनगर, नेपालगन्ज, धनगढी र जनकपुुर विमानस्थल स्तरोन्नति गर्न आवश्यक बजेटको व्यवस्था गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले जानकारी दिए। तराईका विमानस्थल स्तरोन्नति गरी पाँच वर्षभित्रै सीमापारीका देशमा उडान गर्ने गरी (क्षेत्रीय) अन्तर्राष्ट्रियस्तरको बनाउन ६० अर्ब रुपैयाँको योजना तयार भएको हो।

नयाँ पत्रिका दैनिकले पनि दसैँका लािग अग्रिम टिकट बुकिङ ५ असोजबाट खुल्ने भएको समाचार छापेको छ । यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच आइतबार भएको छलफलमा यस्तो सहमति भएको विभागका महानिर्देशक लावण्य ढकालले बताए । ‘चलिरहेको भाडा दरअनुसार नै दसैँका लागि अग्रिम टिकट बुकिङ गर्ने सहमति भएको छ,’ ढकालले भने ।

सरकारले साउदी अरेबिया जाने कामदारका लागि न्यूनतम पारिश्रमिक वृद्धि गरेको समाचार पनि नयाँ पत्रिकामा छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले वैदेशिक रोजगारीका लागि साउदी अरब जाने श्रमिकको न्यूनतम पारिश्रमिक ३ सय रियाल (९ हजार १ सय ७१ रुपैयाँ) वृद्धि गरेको हो ।

भूकम्पबाट क्षतिग्रस्त संरचना पुनर्निर्माण तथा पुनस्र्थापना गर्न अझै ६ खर्ब रुपैयाँ आवश्यक रहेको पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको खबर पनि नयाँ पत्रिकामा छ । आइतबार अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रतिनिधिसँग भएको छलफलमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले यस्तो जानकारी दिएका हुन् ।

कारोबार दैनिकले पनि बैंक खाता फुकुवा शर्तमा टिकट बुकिंग खुल्ने र  साउदी जाने कामदारको तलब बढेको खबर छापेको छ। कारोबार मै अब सबै श्रमिकलाई पेन्सन शिर्षकको समाचार छ। अर्थमन्त्री डा. युवराज खतिवडाले श्रम बजारमा रहेका सबै प्रकारका श्रमिकलाई सामजिक सुरक्षाको प्रत्याभूति हुनुपर्ने बताएका हुन् । कर्मचारी सञ्चय कोषको ५७ औं वार्षिकोत्सव कार्यक्रममा खतिवडाले सरकार सबै श्रमिकलाई पेन्सनको दायरामा ल्याउन कानुन बनाउन लागिरहेको बताए । उनले भने, “सबै प्रकारका श्रमिकलाई पेन्सनको दायरामा ल्याउने गरी कर्मचारीको एउटैखाले अवकास योजना बनाउन लागेका छौं, अब मुलुकभित्रका सबै प्रकारका श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराइने छ ।”


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved