यस वर्ष पनि पाठ्यपुस्तक अभाव हुने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 13, 2017 | 08:47:48 AM मा प्रकाशित

laxmi  sunrise bank

जनक शिक्षा सामग्री केन्द्रले यस वर्ष पनि समयमै विद्यालय तहका पाठ्यपुस्तक छपाइ गर्न नसक्ने भएको छ । शैक्षिक सत्रको सुरुमा विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्नुपर्नेमा अझै ४७ लाख पाठ्यपुस्तक छाप्न बाँकी छ । केन्द्रका निर्देशक कपिल पोखरेलले अघिल्लो वर्षजस्तो पुस्तक अभाव नहुने दाबी गरे । तर, सबै पुस्तक चैत मसान्तमा छपाइ नसकिने अवस्था रहेको उनको भनाइ छ ।

नयाँ शैक्षिक सत्रका लागि कक्षा ६ देखि १० सम्म कुल एक करोड ७५ लाख थान पाठ्यपुस्तक आवश्यक हुने निर्धारण गरिएको छ । तर, शुक्रबारसम्ममा एक करोड २८ लाख थान पुस्तक मात्र उत्पादन सकिएको निर्देशक पोखरेलले जानकारी दिए ।

जनक शिक्षाको प्रेसमा मतपत्र, निजी प्रेसमा पाठ्यपुस्तक
जनक शिक्षा सामग्री केन्द्रको सेक्युरिटी प्रेसमा स्थानीय निर्वाचनका लागि मतपत्र छपाइको काम भएको छ । पाठ्यपुस्तक छपाइको जिम्मा भने निजी प्रेसलाई दिइएको छ ।

सेक्युरिटी प्रेसमा पुस्तक छपाइ गर्न नपाएपछि १५ लाख पुस्तक छपाइको जिम्मा निजी प्रेसलाई दिइएको केन्द्रले जनाएको छ । काठमाडौंका दुई र विराटनगरका तीन निजी प्रेसलाई पाठ्यपुस्तक छपाइको जिम्मेवारी दिइएको हो । निजी प्रेसले चैत मसान्तसम्म तोकिएको परिमाणमा पुस्तक छापिसक्ने अपेक्षा रहेको केन्द्रका निर्देशक कपिल पोखरेलले बताए ।

वर्षेनी उस्तै समस्या
शैक्षिक सत्र सुरु भएपछि पुस्तक अभाव हुने रोग हरेक वर्ष उस्तै छ । पाठ्यपुस्तक समयमा उपलब्ध गराउन नसकेको आलोचना भए पनि शिक्षा मन्त्रालयले चासो दिने गरेको छैन । खुला प्रतिस्पर्धाबाट जनक शिक्षा सामग्री केन्द्रको प्रबन्ध सञ्चालकमा नियुक्त अनिल झाको चारवर्षे कार्यकाल १३ मंसिरबाट सकिएको छ । झाको कार्यकाल सकिएलगत्तै कागज अभावले केन्द्रका मेसिनहरू बन्द भएका थिए । केन्द्र आव ०६३-६४ यताका १० वर्ष निरन्तर घाटामा सञ्चालित छ ।

चार वर्षमा ८० करोड घाटा
सुधारको कार्ययोजनासहित खुला प्रतिस्पर्धाबाट प्रबन्ध सञ्चालकमा नियुक्त भएका अनिल झाको कार्यकालमा जनक शिक्षा सामग्री केन्द्र ८० करोड घाटा पुगेको छ । केन्द्रको ऋणसमेत बढ्दो छ । केन्द्रका अनुसार सरकाले ७० करोड र राष्ट्रिय वाणिज्य बैंकले १३ करोड ऋण दिएका थिए । केन्द्रको कुल घाटा डेढ अर्ब पुगेको छ ।

साझाको प्रचार बढी, काम कम
जनक शिक्षा सामग्री केन्द्रले ३० लाख थान पाठ्यपुस्तक छपाइको जिम्मा साझा प्रकाशनलाई दिएको छ । एक महिनाअघि जिम्मा दिए पनि अहिलेसम्म जम्मा ५० हजार पाठ्यपुस्तक मात्र प्राप्त भएको केन्द्रका निर्देशक कपिल पोखरेलले बताए । ‘साझाको ठूलो आशा छैन,’ उनले भने, ‘१५ वैशाखसम्ममा हामीले आवश्यक सबै पाठ्यपुस्तक उत्पादन गर्छौँ ।’ जनक शिक्षाले कक्षा ६ र ७ को पाठ्यपुस्तक छपाइ गर्न निजी प्रेस र साझा प्रकाशनलाई पनि दिएको छ । कक्षा ६ देखि १० सम्मको पुस्तक छपाइको जिम्मा जनक शिक्षाले मात्र पाएको छ । शिक्षा मन्त्रालयले कक्षा एकदेखि पाँचसम्मका पाठ्यपुस्तक छपाइको जिम्मा भने निजी क्षेत्रलाई दिएको छ । नयाँ पत्रिका दैनिकमा भवानीश्वर गौतमले खबर लेखेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved