राष्ट्रपतिद्वारा भारतमा नेपालको संविधानको बचाउ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 18, 2017 | 08:49:15 AM मा प्रकाशित

laxmi  sunrise bank

पाँचदिने राजकीय भ्रमणका क्रममा नयाँदिल्ली पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय पक्षसँग नेपालको संविधानबारे बचाउ गरेकी छिन् ।राष्ट्रपति भण्डारीले सोमबार राष्ट्रपति भवनमा दिवाभोजपछि भारतीय शीर्ष नेतासँग छलफल गरेकी थिइन् । 

शिष्टाचार भेटका लागि गएका भारतीय नेतासँग राष्ट्रपतिले स्थानीय निर्वाचनमार्फत नेपालले समावेशी लोकतन्त्र सुदृढ गर्न लागेको बताइन् । राष्ट्रपतिले नेपालको संविधान सीमान्तकृत र उत्पीडितको पक्षमा रहेकाले आगामी स्थानीय निर्वाचनले उनीहरूको हित सुदृढ गर्ने स्पष्ट पारेकी छन् । ‘संविधान लोकतन्त्रलाई सुदृढ पार्न कोसेढुंगा साबित भएको छ,’ राष्ट्रपतिको भनाइ थियो । 

भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीका महासचिव सीताराम यचुरी, आमआदमी पार्टीका अध्यक्ष तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाल, राष्ट्रवादी कंग्रेसका महामन्त्री डिपी त्रिपाठी र जनता दल युनाइटेडका पूर्वअध्यक्ष शरद यादवले राष्ट्रपतिसँग सबै पक्षलाई मिलाएर नेपाल संविधान कार्यान्वयनमा जाओस् भनेका थिए ।

भेटमा सहभागी परराष्ट्रमन्त्री डा। महतले स्थानीय निर्वाचनबारे भारतीय नेताले चासो राखेको र सफलताका लागि शुभकामना दिएको बताए । ‘समग्र विषयमा उहाँहरूले चासो र चिन्ता राख्नुभयो, चुनावका बारेमा कुरा राख्यौँ,’ महतले नयाँ पत्रिकासँग भने । तर, राष्ट्रपतिले मधेसी मोर्चाका विषयमा केही पनि उल्लेख नगरेको सहभागी एक अधिकारीले जानकारी दिए । नयाँ पत्रिका दैनिकमा खबर छ ।

‘आगामी स्थानीय निर्वाचनमार्फत संविधानका समावेशी व्यवस्थालाई नेपालले जनमानसमा पुर्याउँदै छ र निर्वाचनमार्फत नेपालले समावेशिता सुनिश्चित गर्दै छौँ,’ राष्ट्रपतिलाई उद्धृत गर्दै उनका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले नयाँ पत्रिकासँग भने, ‘नेपालको संविधान समावेशी छ र यसमा उत्पीडित वर्ग र पक्ष समेटिएका छन् । निर्वाचनमार्फत सबै पक्षको उपलब्धि सुदृढ र संस्थागत हुनेछ ।’

राष्ट्रपतिले नेपाल र भारतबीच जनस्तरको सम्बन्ध र सहयोग वृद्धि गर्नुपर्ने पनि उल्लेख गरेकी थिइन् । ‘नेपालको राजनीतिक लाभ दिगो बनाउन सामाजिक–आर्थिक रूपान्तरणमा जानुपर्छ र नेपालको विकासमा भारतले सहयोग गर्नुपर्छ भन्ने राष्ट्रपतिज्यूको भनाइ थियो,’ राष्ट्रपतिका विदेश मामिलाविज्ञ डा. मदनकुमार भट्टराईले भने । भण्डारीले आगामी निर्वाचनमार्फत संविधानका समावेशी व्यवस्था कार्यान्वयनमा आउने उल्लेख गरेकी थिइन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved