कल डिपोजिटको ब्याजमा बैंकहरूको ‘बार्गेनिङ’

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 20, 2017 | 09:46:16 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंकहरूले पछिल्लो समयमा ब्याजदरमा मोलमोलाई (बार्गेनिङ) गर्न थालेका छन् । नेपाल राष्ट्र बैंकले कल र साधारण बचत खाताको ब्याजदर समान बनाउन निर्देशन दिएपछि बैंकहरूले ग्राहकसँग बार्गेनिङ गर्न थालेका हुन् । 

बैंकहरूले कल डिपोजिटमा उच्च ब्याजदर दिएर पैसा तान्ने अभ्यासलाई नियन्त्रण गर्न केन्द्रीय बैंकले बचत र कलको ब्याजदर समान गर्ने नीति लिएको हो । केन्द्रीय बैंकको नीति आएलगत्तै बैंकहरूले ग्राहकसँग बार्गेनिङ गरेर ब्याजदर घटाउन थालेका हुन् ।

सुरुमा ब्याजदर घटेको जानकारी दिएका बैंकहरूले निक्षेप झिक्ने जानकारी गराएपछि पुनः ब्याजदर बढाउने प्रस्ताव गरेको राष्ट्रिय सहकारी बैंकका प्रवन्ध सञ्चालक केबी उप्रेती जानकारी दिए । “९/१० प्रतिशत रहेको ब्याज ३/४ प्रतिशतमा झरेको सूचना दिए” उनले भने, “रकम झिक्छौं भनेपछि केही बैंकहरूले बढाएर ८ प्रतिशतसम्म प्रस्ताव गरेका छन् ।”

राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामार्फत कल खातामा साधारण बचत खाताको न्यूनतम ब्याजदरभन्दा बढी नदिन निर्देशन दिएको थियो । उक्त निर्देशनभन्दा अघि बढी ब्याजदर दिएको भए समायोजन गर्न चैतसम्मको समयसीमा दिएको थियो । केन्द्रीय बैंकले दिएको समयसीमा सकिएसँगै बैंकहरूले कल खाताको ब्याजदर घटाएर समायोजन गर्न थालेका हुन् । 

बैशाख लागेपछि बैंकहरूले कल खाताको ब्याजदर ३ प्रतिशतमा झारेको पत्र पठाएको पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले जानकारी दिए । “पहिला १० प्रतिशत ब्याज दिएका बैंकहरूले अहिले घटाएर ३ प्रतिशत कायम भएको पत्र पठाएका छन्” उनले भने, “एकैपटक ७ प्रतिशत ब्याज घटाउदा हामी अचम्ममा परेका छौं ।” 

दैनिक रकमको कारोबार गर्ने कम्पनीहरूले बाणिज्य बैंकमा कल खाता खोलेर कारोबार गर्छन् । सहकारी संस्थाका साथै नागरिक लगानी कोष, दूरसञ्चार प्राधिकरण, दूरसञ्चार कम्पनी, कर्मचारी सञ्चय कोषलगायतका कम्पनीहरूले कल खाता खोलेर कारोबार गर्छन् । यस्ता कम्पनीहरूले कल खातामा राख्ने रकम बढी हुने भएकाले बैंकहरूले निक्षेप वृद्धि गर्नका लागि ब्याजदर उच्च बनाएका थिए । 

संस्थागत निक्षेपकर्तालाई कल खातमा उच्च ब्याजदर दिए पनि सर्वसाधारणले राख्ने साधारण बचतको ब्याजदर नबढेपछि केन्द्रीय बैंकले ब्याजदर समान बनाउन निर्देशन दिएको होे । नेपाल राष्ट्र बैंकका अनुसार ०७२ फागुनसम्म बाणिज्य बैंकहरूसँग १९ खर्ब १५ अर्ब निक्षेप रहेको छ । त्यसमध्ये साधारण बचतको हिस्सा ३५.४५ प्रतिशत रहेको छ । यसैगरी कल निक्षेपको ३ खर्ब ५७ अर्ब अर्थात १८ प्रतिशत रहेको छ । 

सिभिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूलाई साधारण बचतमा ब्याज बढाउने र कल खातामा घटाउन दबाब भएको बताउँछन् ।

“बैंकहरूले आफूसँग भएको निक्षेपको पोर्टफोलियोअनुसार ब्याजदर समायोजन गरिरहेका छन्,” उनले भने, “साधारण बचतमा १÷२ प्रतिशत ब्याज वृद्धि गरी कल खाताको ब्याजदर ४÷५ प्रतिशत कम गरेका छन् ।” सिभिल बैंकले साधारण बचतमा १.७५ प्रतिशत ब्याजदर वृद्धि गरी कल खाताको ब्याजदर ३ प्रतिशत घटाएको उनले जानकारी दिए ।  

कर्जा–पुँजी–निक्षेप (सीसीडी) अनुपात उच्च भएका बैंकहरूलाई कल खाताको रकम जोगाउन साधारण बचतको ब्याजदर बढाएका छन् । यसैगरी सीसीडी अनुपात सहज अवस्थामा रहेका बैंकहरू साधारण बचतमा ब्याज बढाउनुभन्दा कल निक्षेपमा ब्याज घटाएको बताइन्छ ।

ब्याजदर समायोजन गर्नुपर्ने दबाबका कारण वैशाख लागेपछि लक्ष्मी एनआइसी एसिया, सेन्चुरी बैंकले साधारण बचतको ब्याजदर बढाएर ८ प्रतिशत पु-याएका छन् । 

साधारण बचत र कल खाताको ब्याजदर समान बनाउने व्यवस्थाले साधारण बचतकर्तालाई भने फाइदा भएको छ । बजारमा निक्षेप अभाव हुँदा मुद्दति खातामा मात्र जोड दिएकाले साधारण बचतको ब्याजदर नबढेको र अहिलेको व्यवस्थाले साधारण बचतकर्तालाई फाइदा भएको गुरुङले बताए ।

साधारण बचतको ब्याज बढाउँदा कलको ब्याज घटाएकाले तत्काल ऋणको ब्याजदर बढ्ने सम्भावना नभएको र यसबाट बैंकको नाफामा पनि असर नपर्ने उनले दावी गरे । -कारोबार दैनिकबाट 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved