प्रमुख दललाई उम्मेदवार छान्न सकस : एमालेमा आकांक्षी धेरै, अन्तिम चरणमा राप्रपा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 21, 2017 | 08:33:11 AM मा प्रकाशित

laxmi  sunrise bank

स्थानीय तह निर्वाचनका लागि बिहीबारसम्म उम्मेदवार तय गरिसक्नुपर्ने कांग्रेस केन्द्रीय समितिको निर्णय कार्यान्वयन हुन सकेन । गत १५ चैतमा बसेको केन्द्रीय समिति बैठकले ७ वैशाखभित्र उम्मेदवार सिफारिस गर्न ७ सय ४४ वटै स्थानीय तहलाई जिल्लामार्फत निर्देशन दिएको थियो । तर, बिहीबारसम्म एउटै स्थानीय तहले पनि उम्मेदवार टुंग्याएर केन्द्रमा पठाएको छैन् । 

यसरी छानिनुपर्छ कांग्रेसमा उम्मेदवार

कांग्रेसको निर्णय अनुसार गाउँ, नगर, उपमहानगर र महानगरका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यसम्मका उम्मेदवारको टुंगो वडा समन्वय समितिको सिफारिसको आधारमा सम्बन्धित क्षेत्रका केन्द्रीय सदस्य, सो क्षेत्रका सांसद, दोस्रो संविधानसभाका प्रत्यक्षतर्फका उम्मेदवार, क्षेत्रीय कार्यसमितिको सभापति पदका निकटम प्रतिस्पर्धीसमेतको सहमतिमा लगाउनुपर्छ ।

सम्बन्धित जिल्लाका सभापति आफनो निर्वाचन क्षेत्रको छनोट समितिमा रहने र छनोट समितिको बैठकको अध्यक्षता क्षेत्रीय सभापतिले गर्ने गरी कांग्रेसले उम्मेदवार छान्ने आधार तय गरेको थियो । उक्त समितिले उम्मेदवार छनोट गरेको जानकारी जिल्लामा पठाउनुपर्ने र जिल्ला सभापतिले उम्मेदवारको मनोनयमा हस्ताक्षर गर्नुपर्ने व्यवस्था कांग्रेसले गरेको छ ।


एउटै तहले पनि पठाएन सिफारिस

उम्मेदवार चयनको लागि पार्टीले तोकेको समयभित्र एउटा जिल्लाले पनि केन्द्रमा उम्मेदवारको सूची पठाएको छैन । ‘केन्द्रीय कार्यालयबाट जिल्लालाई बारम्बार ताकेता गर्दै आएपनि अहिलेसम्म एउटा जिल्लाले पनि उम्मेदवारको सूची पठाएका छैनन्’ केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले भने, –‘उमेदवारको सुचि समयमा नआएपछि पार्टी केन्द्रले ५ दिन थपेर १२ वैशाखसम्म पठाउन पुनः जिल्लालाई निर्देशन दिएको छ ।’ निर्वाचन आयोगमा १६ वैशाखमा उम्मेदवारी दर्ता गर्ने अन्तिम मिति हो ।


धेरै आकांंक्षी हुँदा गाह्रो

आकांक्षीहरु धेरै भएकाले टुंगो लगाउन गाह्रो भएको कांग्रेसले जनाएको छ । ‘कांग्रेस धेरै नेता कार्यकर्ता भएको पार्टी हो । धेरै वर्षदेखि स्थानीय चुनाव हुन नसक्दा आकांक्षी धेरै हुनु स्वभाविक हो’ केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले नयाँ पत्रिकासित भने, ‘नेताको चापले उम्मेदवार छान्न भएको सकसलाई अन्यथा लिन हुँदैन ।’


उपमहानर र महानगरमा झन् सकस

कांग्रेसलाई ३ उपमहानगर ४ वटा महानगरपालिकामा धेरै आकांक्षीबाट उम्मेदवार छान्न धेरै सकस परेको छ । उपमहानगर र महानगरको जिम्मा पनि क्षेत्रीय छनोट समितिलाई नै भए पनि धेरै जनसंख्या हुने यस्ता क्षेत्रमा कांग्रेसको केन्द्रको निर्णय हाबी हुने देखिएको छ । ‘पार्टी केन्द्रको सर्कुलरबाट क्षेत्रलाई नै उम्मेदवारको टुंगो लगाउन भनेका छौं’ केन्द्रीय सदस्य गुरुराज घिमिरेले भने, ‘वर्षौसम्म चुनाव नहुँदा आकांक्षी धेरै छन्, अवसर थोरै छ त्यसैले म्यानेज गर्न अप्ठ्यारो परेको छ ।’


काठमाडौं मेयरमा गगन र तीर्थरामको चर्चा

लोकप्रिय युवा नेता गगन थापा र उपमेयर भइसकेका तीर्थराम डंगोल कांगठमाडौंका सम्भावित मेयरका उम्मेदरका रुपमा चर्चामा छन् । नेवार समुदायमा राम्रो पहिचान बनाएका डंगोलको सम्भावना बढी रहेको काठमाडौंबाटै चुनाव जितेका कांग्रेसका एक सांसदले बताए । ‘काठमाडौं महानगर कांग्रेसले गुमाउन चाहने क्षेत्र होइन त्यसैले जित्ने उम्मेदवार उठाउनुपर्छ’ ती सांसद भने, –‘लोकप्रिय युवा नेता गगन नउठे तीर्थराम डंगोलको सम्भावना बढी छ ।’ यद्यपि, उद्योगमन्त्री नविन्द्रराज जोशीको नाम पनि मेयरमा चर्चामा रहेको आजको नयाँ पत्रिकामा खबर  छ ।


भावि रणनिती तय गर्न देउवा निवासमा आज छलफल

३१ वैशाखको निर्वाचनको अन्यौलता, मधेसकेन्द्रित दलहरुको निरन्तरको असन्तुष्टिपछि कसरी अगाडि बढ्ने भन्ने सहितका विषयमा छलफल गर्न पार्टि सभापति शेरवहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक डाकेका छन् । देउवाले शुक्रबार बिहान ९ बजे आफ्नै निवास बुढानिलकण्ठमा बस्ने गरी बैठक बोलाएका हुन् । बैठकमा उम्मेदवार चयनको सकस, चुनावी रणनीतिसहितका विषयमा छलफल हुने केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । देउवाले बिहीबार पनि पदाधिकारी र पूर्व पदाधिकारीसँग अनौपचारिक छलफल गरेका थिए ।


एमालेमा आकांक्षी धेरै, उम्मेदवार छान्न धौ–धौ

आकांक्षी धेरै देखिएपछि एमालेलाई आफैँले तोकेको समयसीमाभित्र उम्मेदवार छान्न धौ–धौ परेको छ । बिहीबार (७ वैशाख)भित्र वडाध्यक्षको नाम टुंग्याएर गाउ“पालिका अध्यक्ष, उपाध्यक्ष तथा नगर, उपमहानगर र महानगरका प्रमुख र उपप्रमुखको नाम प्रदेश कमिटीमा सिफारिस गरिसक्न एमालेले जिल्ला कमिटीलाई निर्देशन दिएको थियो । तर, बिहीबारसम्म अधिकांश जिल्लाबाट सिफारिस आएको छैन ।


पार्टीसचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले वडाध्यक्षका उम्मेदवार अधिकांश जिल्लाले टुंग्याइसकेको दाबी गरे । गाउँपालिका, नगर, उपमहानगर र महानगरका उम्मेदवारको नाम पनि प्रदेश कमिटीमा सिफारिस भइरहेको उनले बताए । ‘पार्टीले तोकेको समयसीमाभित्र अधिकांश जिल्लाले वडाध्यक्षका उम्मेदवार टुंग्याइसकेका छन्, जिल्लामै टुंगिने भएकाले नाम केन्द्रमा व्यवस्थित रेकर्डका रूपमा नआएको हो,’ भट्टराईले भने, ‘गाउँपालिकाका उम्मेदवारको नाम १० गतेभित्र टुंग्याइने भनिएकाले जिल्लाबाट धमाधम प्रदेशमा नाम सिफारिस भइरहेका छन् ।’ निर्वाचन आयोगले १६ वैशाखमा उम्मेदवारी दर्ताको कार्यतालिका निर्धारण गरिसकेकाले राजनीतिक दलहरूले त्यसअगावै उम्मेदवार छनोट गरिसक्नुपर्ने समयसीमाको दबाब छ । त्यसलाई मध्यनजर गर्दै ७ वैशाखभित्र जिल्लाले प्रदेशलाई सिफारिस गर्ने र १० वैशाखभित्र प्रदेशले उम्मेदवार टुंग्याइसक्ने एमालेले समयसीमा निर्धारण गरेको छ ।


गाउँपालिका, नगरपालिका, उपमहानगर र महानगरपालिकाहरूमा एमालेका तर्फबाट एकजनादेखि एक दर्जनसम्म आकांक्षी देखिएका छन् । महासचिव ईश्वर पोखरेलले गाउँ र नगर कमिटीहरूबाट जिल्लामा बढीमा तीनजना तथा प्रदेशमा त्यसभन्दा कम उम्मेदवारको नाम पठाउन निर्देशन दिएका थिए । तर, आकांक्षी बढी देखिएकाले जिल्लाभन्दा तलकै कमिटीमा सकभर सर्वसम्मत र आकांक्षीको नाम घटाउने प्रयत्न भइरहेको पोलिटब्युरो सदस्य तथा प्रदेश नम्बर ३ का सहसंयोजक काशिनाथ अधिकारीले बताए । ‘आकांक्षीहरूको नाम सकभर तलै घटाउने प्रयास भइरहेकाले पनि केही ढिलाइ भएको हो,’ उनले भने ।


सर्वसम्मतको नीति, आकांक्षीको लर्को

स्थायी समिति बैठकबाट आकांक्षीको संख्या घटाएर सकभर जिल्ला तहमै सर्वसम्मत बनाउने उद्देश्यले विधि, प्रक्रिया र मापदण्ड तयार पारे पनि आकांक्षीको लर्को देखिएको छ । एउटा व्यक्ति तीन तहमध्ये एउटा तहको निर्वाचनको टिकटका लागि मात्रै योग्य हुने निर्णय कडाइका साथ लागू हुने भन्दै एमालेले तल्लो कमिटीसम्म सर्कुलर गरेको थियो । तर, आकांक्षीको संख्या धेरै देखिएपछि पार्टीले तोकेको समयसीमाभित्र उम्मेदवार चयन भइसक्ने सम्भावना कम देखिएको छ ।


उम्मेदवार छान्न प्रदेशमा बैठकको तयारी 

एमालेले सर्वसम्मत छनोट नभएका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको उम्मेदवारको टुंगो लगाउन सातवटै प्रदेश संगठन कमिटीको बैठकको तयारी गरेको छ । दुई दिनभित्र टुंगो लगाइसक्नुपर्ने समयसीमाका कारण बैठकको तयारी भइरहेको ३ नम्बर प्रदेश संगठन कमिटीकी संयोजक अष्टलक्ष्मी शाक्यले बताइन् । ‘शुक्रबार सचिवालयको बैठक बसेर उम्मेदवार टुंग्याउने विषयमा नीतिगत छलफल गर्छौँ,’ उनले भनिन्, ‘आज बेलुकीबाट जिल्लाहरूबाट धमाधम सिफारिस आउने भएकाले भोलि र पर्सिभित्र उम्मेदवारको टुंगो लगाउँछौँ ।’ उनले सकभर जिल्ला तहमै उम्मेदवार छनोट गर्ने नीतिलाई प्राथमिकता दिइएको पनि जानकारी दिइन् ।


काठमाडौं मेयरमा स्थापितसहित दर्जनको दाबी

काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका तर्फबाट पूर्वमेयर केशव स्थापितसहित करिब एक दर्जनले दाबी गरेका छन् । उम्मेदवार छनोट र सिफारिसका विषयमा छलफल गर्न एमाले काठमाडौं र महानगर कमिटीको बिहीबारको संयुक्त बैठकमा दाबेदारहरूको सूची तयार पारिएको हो । जसअनुसार जीवनराम श्रेष्ठ, विदुर मैनाली, विद्यासुन्दर शाक्य, वसन्त मानन्धर, कल्पना रिजाललगायतले मेयरमा दाबी गरेको नाम बैठकमा जानकारी गराइएको हो । दाबेदारमध्ये श्रेष्ठ एमाले केन्द्रीय सदस्य तथा मैनाली पूर्वउपमेयर हुन् । त्यस्तै, उपमेयरमा पूर्वसांसद शान्ति अधिकारी, विमला खनाल, विद्या न्यौपाने, ओम उप्रेतीलगायतले दाबी प्रस्तुत गरेका छन् ।


१५ वटा अध्यक्ष सर्वसम्मत

केन्द्रीय सदस्य तथा काठमाडौं इन्चार्ज सावित्रा भुसालका अनुसार काठमाडौं महानगरपालिकाका १५ वटा वडाअध्यक्ष सर्वसम्मत भएका छन् । उनले जिल्लाभित्रका १० नगरपालिकाका ८० प्रतिशतभन्दा बढी वडाअध्यक्षहरूको नाम सर्वसम्मत टुंग्याउने प्रयास जारी रहेको बताइन् । नगरका मेयर र उपमेयरका आकांक्षीहरूको संख्या भने जिल्लाबाट घटाएर प्रदेशमा पठाउने प्रयास भइरहेको उनको भनाइ छ ।


मोर्चाबन्दी तोड्न सर्कुलर

एमालेले स्थानीय तहको निर्वाचनमा पार्टीविरुद्ध हुने सम्भावित मोर्चाबन्दी तोड्न निर्देशन दिएको छ । महासचिव ईश्वर पोखरेलले सर्कुलरमार्फत बुधबार त्यस्तो निर्देशन दिएका हुन् । ‘पार्टीले मूलतः आफ्नै सामथ्र्य र शक्तिका आधारमा निर्वाचन जित्नुपर्ने र त्यसरी जित्ने पर्याप्त आधार विद्यमान भए पनि पार्टीविरुद्ध हुने सम्भावित मोर्चाबन्दीलाई भने हामीले तोड्नैपर्छ,’ सर्कुलरमा मोर्चाबन्दी र तालमेलबारे भनिएको छ, ‘त्यसैले त्यहाँको स्थानीय आवश्यकता, पार्टीको जितको सुनिश्चितता र पार्टी प्रतिष्ठालाई समेत ध्यानमा राखेर तालमेलको आवश्यकता रहे–नरहेको विश्लेषण गर्नु हुन र तालमेल आवश्यक भए त्यसका लागि तत्काल आवश्यक संयन्त्र निर्माण गरी तयारी अगाडि बढाउनु हुन ।’ यससम्बन्धी वार्ताको संयोजनको जिम्मेवारी कार्यक्षेत्रमा कार्यरत वरिष्ठ नेतालाई दिन पनि भनिएको छ । त्यस्तै, प्रदेश र जिल्ला तहमा पनि कानुनी डेस्क खडा गरी आचारसंहिताको अनुगमन र जिल्ला निर्वाचन कार्यालयसँग समन्वय गर्न पनि निर्देशन दिइएको छ ।


माओवादी केन्द्रकाे पटकपटक बैठक बस्यो, तर उम्मेदवारको टुंगो लागेन

उम्मेदवारी दर्ता गर्ने दिन नजिकिँदै गए पनि माओवादी केन्द्रले स्थानीय तहका उम्मेदवारको टुंगो लगाउन सकेको छैन । आकांक्षी धेरै भएपछि उम्मेदवार छान्न सकस भएको छ । उम्मेदवारको टुंगो लगाउन पटक–पटक बैठक बसे पनि निष्कर्षविहीन हुँदै आएको छ ।


माओवादीमा वडाध्यक्ष र सदस्यका उम्मेदवारको वडा कमिटीले सिफारिस गर्छ, गाउँपालिकाले निर्णय गर्छ । गाउँपालिकाको निर्णयलाई जिल्लाले अनुमोदन गर्ने व्यवस्था छ । गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षका लागि वडा कमिटीबाट र गाउँपालिकाबाट सिफारिस भई जिल्लाले निर्णय गर्छ, प्रदेशले अनुमोदन गर्छ ।


नगरपालिका, उपमहानगर र महानगरपालिकाको वडाध्यक्ष र सदस्यका उम्मेदवारको वडा कमिटीको सिफारिसपछि जिल्लाले निर्णय गरेर प्रदेशले अनुमोदन गर्छ । तर, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको मेयर र उपमेयरका विषयमा सम्बन्धित वडा कमिटीले सिफारिस गरी केन्द्रले निर्णय गर्ने व्यवस्था रहेको प्रवक्ता भुसालले बताइन् ।


शनिबारसम्म सबै उम्मेदवारको टुंगो 

आगामी ९ वैशाखमा सात सय ४४ स्थानीय तहका उम्मेदवारको नामावली सार्वजनिक गरिने माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले बताइन् । त्यही दिन पार्टीको चुनावी प्रतिबद्धतापत्रसमेत सार्वजनिक गर्ने कार्यक्रम रहेको उनले बताइन् ।


उम्मेदवार छान्ने अन्तिम चरणमा राप्रपा

-राष्ट्रिय प्रजातन्त्र पार्टीले गाउँपालिका र नगरपालिकाका उम्मेदवार छनोट अन्तिम चरणमा पुगेको जनाएको छ । महानगर र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख जिल्लाको सिफारिसमा केन्द्रले टुंगो लगाउने भएकाले जिल्लाबाट सिफारिस आउने क्रम जारी रहेको सहप्रवक्ता मोहन श्रेष्ठले बताए ।

-चुनावी घोषणापत्र पार्टी अध्यक्ष कमल थापा नेतृत्वको समितिले तयार गरिरहेको र एक–दुई दिनभित्रै सार्वजनिक गर्ने उपाध्यक्ष विक्रम पाण्डेले बताए । ‘घोषणापत्र निर्माणको कार्यमा अध्यक्षज्यूको नेतृत्वको टोली लागिरहेको छ, एक–दुई दिनभित्रै सार्वजनिक हुन्छ,’ पाण्डेले भने ।

-सरकारमा सहभागी दल राप्रपाले कुनै पनि हालतमा तोकिएकै मितिमा एकै चरणमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताउँदै आइरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved