स्याङ्जामा नेपालकै ठूलो अत्याधुनिक स्वचालित कुखुरा फार्म सञ्चालनमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 21, 2017 | 09:55:16 AM मा प्रकाशित

laxmi  sunrise bank

स्याङ्जाको भिरकोट नगरपालिका–६ स्थित हेलुमा नेपालकै ठूलो अत्याधुनिक स्वचालित लेयर्स फार्म सञ्चालनमा आएको छ । स्थानीय ७ जना व्यवसायीको ६० करोड बराबरको संयुक्त लगानीमा खिलुङ कालिका एग्रो फार्म  आएको हो ।

दैनिक २ लाख अन्डा उत्पादन गर्ने लक्ष्यसहित निर्माण भएका ४ वटा वातावरणमैत्री घरबाट दैनिक १ लाख ५० हजार अन्डा उत्पादन हुन थालेको छ । ०७१ सालबाट निर्माण सुरु भएको फार्म आंशिक रूपमा ०७२ देखि सञ्चालनमा आए पनि चालू वर्षदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ ।

“फार्मबाट दैनिक रूपमा २ लाख अन्डा उत्पादन गर्ने योजनासहित निर्माण गरिएको हो,” फार्म सञ्चालक समितिका अध्यक्ष गंगाप्रसाद अर्यालले भने, “नेपालकै ठूलो आधुनिक फार्मबाट हाल दैनिक रूपमा १ लाख ५० हजार अन्डा उत्पादन हुने गरेको छ ।” फार्ममा करिब १ सय स्थानीयले रोजगार पाएको उनले बताए ।

करिब ४० रोपनी जग्गामा निर्माण भएको फार्म पूर्ण रूपमा जर्मन प्रविधिमा आधारित छ । फार्ममा उत्पादित अन्डाहरू पूर्णतया जैविक रहेको सञ्चालकले दाबी गरे । उत्पादित अन्डा गण्डकी, लुम्बिनी र धौलागिरी जिल्लाका विभिन्न बजारमा बिक्री हँुदै आएको छ । फार्म सञ्चालनमा आएपछि गत वर्षदेखि स्याङ्जा अन्डामा आत्मनिर्भर भएको हो । 

“फार्म अत्याधुनिक भए पनि उत्पादन हुने अन्डालाई सक्दो जैविक बनाउने प्रयासमा छौं,” फार्मका प्रमुख कार्यकारी अधिकृत शोभाकान्त ढकालले भने, “बजारको समस्याले पडाही जिल्लामा ठूला फार्म सञ्चालन गर्न सकिँदैन भन्ने मान्यताको अन्त्य गर्दै फार्म सञ्चालन गरेका छौं ।” पहाडी भू–भागमा उत्पादन हुने अन्डाको बजारमा कुनै समस्या नरहेको ढकालले जानकारी दिए ।

फार्मबाट दैनिक रूपमा निकासी हुने फोहोर (कुखुराको सुली) लाई व्यवस्थापन गर्दै झन्डै ३ सय ३० किलोवाट क्षमताको बायोग्यास पावर प्लान्ट निर्माण गरिएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–४ स्थित नागडा“डामा प्लान्ट निर्माण गरिएको हो । प्लान्ट केही समयभित्र सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।

“फोहोरको सदुपयोग गर्दै बायोग्यास उत्पादन गर्नु हाम्रो लक्ष्य हो,” ढकालले भने, “फोहोर पनि व्यवस्थापन हुने र स्थानीयलाई सहुलियत दरमा विद्युत् पनि उपलब्ध गराउन सकिने भएपछि प्लान्ट निर्माण गर्न लागेका हौं ।” प्लान्टमा सरकारले निर्धारण गरेका कृषि नीतिअनुरूप दैनिक झन्डै ११ टन जैविक मल उत्पादन गर्न सकिने ढकालले बताए । 

जिल्लामा साना–ठूला गरी करिब ३० वटा लेयर्स फर्म सञ्चालनमा छन् । पशु सेवा कार्यालयका अनुसार लेयर्स फर्ममा मात्रै करिब २ अर्बको लगानी रहेको छ । आर्थिक वर्ष ०७२/०७३ को तथ्यांकअनुसार जिल्लामा झन्डै १ सय कुखुरा फार्ममा झन्डै १ अर्ब लगानी छ ।

जिल्लामा दैनिक १ लाख ८० हजारको हाराहारीमा अन्डा उत्पादन हुन्छ । कार्यालयका अनुसार वार्षिक १ करोड ३८ लाख ७९ हजार १ सय ४ अन्डा आवश्यक पर्नेमा यहा“ ६ करोड ५७ लाख अन्डा उत्पादन हुने गर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार प्रतिव्यक्ति वार्षिक ४८ वटा अन्डा उपभोग गर्नुपर्ने हुन्छ ।-कारोबार दैनिकबाट 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved