राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जग्गा नभएका भूकम्पपीडितलाई जग्गा खरिद गर्न थप दुई लाख रुपैयाँ अनुदान दिने तयारी गरेको छ । यसका लागि पीडित सुकुम्बासी भएको प्रमाणित हुनुपर्नेछ । प्राधिकरणको तथ्यांकअनुसार भूकम्प प्रभावित जिल्लामा ९ हजार ४ सय २० भूकम्पपीडित घरपरिवारसँग जग्गाधनी पुर्जा छैन । भूकम्पपछि उनीहरू सरकारी वन तथा सार्वजनिक जग्गा अतिक्रमण गरेर बस्दै आएका छन् । प्राधिकरणबाट जग्गा खरिद गर्न अनुदानबापतको दुई लाख रुपैयाँ पाएपछि उनीहरूले अतिक्रमित वन तथा सरकारी जग्गा छाड्नुपर्ने हुन्छ ।
प्राधिकरणका कार्यकारी अधिकृत डा.गोविन्दराज पोखरेलले जग्गाधनी पुर्जा नभएका भूकम्पपीडितलाई जग्गा खरिद गर्न थप दुई लाख रुपैयाँ दिने तयारी अन्तिम चरणमा पुगेको बताए । ‘मुलुकभर साढे नौ हजारको संख्यामा जग्गा धनीपुर्जा नभएका भूकम्पपीडित भेटिए । उनीहरूलाई जग्गा खरिद गर्न दुई लाख रुपैयाँ दिने तयारी गरिएको छ । मन्त्रिपरिषद्बाट प्रस्ताव भएपछि प्रक्रिया अघि बढ्नेछ,’ उनले भने ।
थप अनुदान दिन कार्यविधि नै परिमार्जन
प्राधिकरणका अनुसार जग्गा धनीपुर्जा नभएका भूकम्पपीडितलाई अनुदानबापतको थप दुई लाख रुपैयाँ दिन कार्यविधि नै परिमार्जन गरिएको छ । परिमार्जित कार्यविधि मन्त्रिपरिषद्मा पेस भइसकेको छ । मन्त्रिपरिषद् बैठकले परिमार्जित कार्यविधि पास गरेपछि जग्गा धनीपुर्जा नभएका भूकम्पपीडितले जग्गा खरिद गर्न अनुदानबापतको थप दुई लाख रुपैयाँ पाउने बाटो खुल्नेछ । ‘कार्यविधि परिमार्जन भइसकेको छ, यसलाई अन्तिम रूप दिन बाँकी छ । मन्त्रिपरिषद् बैठकले पास गरेपछि जग्गाधनी पुर्जा नभएका भूकम्पपीडितले जग्गा खरिद गर्न थप दुई लाख रुपैयाँ पाउनेछन्,’ प्राधिकरणका कार्यकारी अधिकृत डा.पोखरेलले भने ।
थप अनुदान पाएकाले तीन लाख रुपैयाँ पनि पाउने
प्राधिकरणका अनुसार जग्गा खरिद गर्न थप अनुदान पाएका भूकम्पपीडितले साविक रूपमा अनुदानबापत पाउँदै आएको तीन लाख रुपैयाँ पनि पाउनेछन् । त्यसो हुँदा जग्गा धनी पुर्जा नभएका भूकम्पपीडितले प्राधिकरणबाट अब एकमुस्ट पाँच लाख रुपैयाँ पाउने भएका छन् । ‘जग्गा खरिद गर्न दिइएको रकमले जग्गा मात्रै खरिद गर्ने हो । सोही जग्गामा उनीहरूले घर बनाउने हुन् । घर बनाउन उनीहरूले अन्य भूकम्पपीडितसरह तीन लाख रुपैयाँ नै पाउने नयाँ पत्रिका दैनिकमा खबर छ । त्यसो हुँदा जग्गाधनी पुर्जा नभएका भूकम्पपीडितले प्राधिकरणबाट अब पाँच लाख रुपैयाँ पाउन सक्ने भएका छन्,’ सिइओ पोखरेलले भने ।