यादव-गच्छदार तालमेलको तयारी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 26, 2017 | 07:44:15 AM मा प्रकाशित

laxmi  sunrise bank

६ मधेसकेन्द्रित दलहरुबीच एकताबाट राष्ट्रिय जनता पार्टी नबन्दासम्म नयाँ शक्ति पार्टीसित एकता गर्नेमा संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवको ठिकठिकै जोड थियो ।

आफूले चाहेजस्तो संविधान संशोधन नभईसकेकाले उनी संविधान जारीकर्तामध्ये एक बाबुराम भट्टराईसित तत्कालै जोडिइहाल्दा मधेसी मतदाताबीच गलत सन्देश जाने भयले जोडिइहाल्ने पक्षमा थिएनन् । तर मधेसमा नयाँ ध्रुवीकरणले उनलाई एकाएक अर्को शक्तिशाली पार्टी निर्माणका लागि चुनौती थपिदिएको छ । वैशाख ७ मा ६ वटा मधेसी पार्टी एकता भएको भोलिपल्टै उनी भट्टराई र अशोक राईको नेतृत्वमा एकता तयारी समिति गठन गर्नु यसैको नतिजा थियो । अब उनको आँखा बृहत् मोर्चाबन्दी र चुनावी तालमेलतिर छ ।

राजपा एकतासँगै अब सात दलीय मधेसी मोर्चा केवल दुई दलको साझा बैठक स्थलमात्रै बन्न पुगेको छ। त्यस अर्थमा मोर्चाको अस्तित्व कमजोर पनि देखिन्छ। तर यादव मोर्चा अब झन् दह्रो र बृहत् पारिने तर्क गर्न थालेका छन् । सात दलीय मोर्चा छँदा त्यसको तुलनामा २९ दलीय जनजाति, मधेसीको संघीय गठबन्धनलाई प्राथमिकता दिने गरेका यादव अहिले फेरि मोर्चाको महत्वबारे चर्चा गर्न थालेका छन्। तत्काललाई संसद संख्यामा २५ सिटसहित आफूभन्दा ठूलो देखिएको राजपालाई राजनीतिक प्रभावका हिसाबले साइजमा राख्न संसदमा १५ सिट भएका यादवले पछिल्ला दिनमा आफूबाट छुटेर गएका विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम, जयप्रकाश गुप्ता नेतृत्वको तराई मधेस राष्ट्रिय अभियानलगायतलाई जोड्ने रणनीतिमा रहेको उनी निकट एक नेताले बताए। संसदमा गच्छदारको दलसित १७ सिट छ ।

‘संविधान संशोधनको प्रतिबद्धताबाट सरकार पछि हट्यो भने हामी आन्दोलनमा जानुपर्ने हुन्छ, त्यसका लागि पनि अब मोर्चाबन्दी कस्नुपर्ने आवश्यकता परेको हो,’ ती नेताले भने, ‘मधेसी मोर्चाले राजनीतिक शक्तिका रुपमा पहिचान पाइसकेको छ। यसले निरन्तरता पाउछ। त्यसलाई आवश्यकताअनुसार विस्तार गर्ने, चुनावमा जानुपरेको खण्डमा सगै जान सकिनेबारे खुला ढंगले कुरा गर्ने हाम्रो सोचाइ छ ।’

सिरहामा रहेका यादवले फोनमा कुरा गर्दै गच्छदारसग चुनावी तालमेल ‘असम्भव नरहेको’ घुमाउरो टिप्पणी गरे। ‘उहा (गच्छदार) सित चुनावी तालमेल इन्कार गर्नुपर्ने कुनै कारण छैन, उहाँसगै तराईमा रहेका अरु पार्टीबीच पनि तालमेल हुने सम्भावना छ,’ यादवले भने, ‘चुनाव हुने नै भयो भने यसबारे कुरा सुरु गर्छु।’ यादव पार्टी एकता, मोर्चाबन्दी र तालमेलको प्रयासका लागि बुधबार राजधानी फर्कदै छन् ।

गच्छदारले फोरम अध्यक्ष यादवसित आफ्नो कुराकानी भएको पुष्टि गरे। राजपा गठन भएलगत्तै यादवसित भएको फोन वार्तामा आगामी दिनमा नया ढंगले जान सकिने सम्भावनाबारे छलफल भएको उनले बताए। ‘राजनीतिक ध्रुवीकरण तीव्र बन्दै जादा दलहरुको एकता र सहकार्य हुनु सकारात्मक नै हो भन्ने कुरा गर्‍यौं, मैले त उहाँलाई दोस्रो संविधानसभा चुनावकै बेला पनि यो प्रस्ताव गरेको थिएँ,’ गच्छदारले भने, ‘त्यसका लागि के गर्न सकिन्छ, कसरी अगाडि जान सकिन्छ भनेर हामी अब कुरा गर्छौं ।’ फोरम र नया शक्ति मिल्न लागेको सन्दर्भमा गच्छदारले आफूसग त्यसबारे खासै कुरा नभएको, तर त्यसबारे पनि सोच्न सकिने बताए। गच्छदार तिनै नेता हुन्, जसलाई यादवले कांग्रेसबाट फोरम नेतृत्वमा ल्याएका थिए। अनि मतान्तर र पार्टी फुटसगै दुईपल्ट मधेसी मोर्चाबाट निश्कासित पनि गरिसकेका छन्। तर दुवै नेताले विगतको कुरा कोट्याएर फाइदा नहुने भन्दै अगाडिको यात्रा तय गर्ने संकेत गरे ।

एकताको चर्चा चल्दै गर्दा नयाँ शक्ति र संघीय समाजवादी फोरमले एकल चुनाव चिन्ह लिई स्थानीय तहको चुनावमा भाग लिने निर्णय गरेका छन्। दुवै दलका अनुसार चुनाव अगाडि एकता भइहाल्ने सम्भावना छैन, तर फोरमको नाममा दर्ता रहेको एक हातले समातेको मशाल चुनाव चिन्हमा निर्वाचनमा सहभागी हुन दुबै पार्टी मञ्जुर भएको निवेदन निर्वाचन आयोगमा मंगलबार दिएका छन् । कान्तिपुर दैनिकमा खबर छ ।

यादवले नया शक्तिसित अब चुनावपछि नै एकता हुन सक्ने बताए। नया शक्ति संयोजक भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले सामुन्नेमा चुनाव आइसकेको हुनाले अहिले फोरमसित तालमेलमा नै जोड दिएको बताए। यादवले कुराकानीका क्रममा आफू समावेशी लोकतन्त्र र राज्य पुनंरचनाको मुद्दा बोक्ने वैकल्पिक शक्तिको नेता बन्ने प्रयास गर्ने बताएका थिए । मधेसमा तीव्र ध्रुवीकरणबीच उनको प्रयासलाई त्यसैको पछिल्लो कडीका रुपमा अथ्र्याइएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved