सिधै पिउन मिल्ने पानीसहित काठमाडौंका ५० स्थानमा ट्यांकी राखिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 26, 2017 | 07:52:10 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले काठमाडौं उपत्यकाका ५० सार्वजनिक स्थानमा खानेपानी ट्यांकी निर्माण गर्ने भएको छ । सार्वजनिक स्थानमा ट्यांकी निर्माण भएपछि उपत्यकावासीलाई खानेपानी लिन निकै सहज हुने भएको छ खानेपानी तथा सरसफाइ मन्त्रालयले सात दिनभित्र उपत्यकाका ५० सार्वजनिक स्थानमा खानेपानी ट्यांकी राख्न काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)लाई निर्देशन दिइसकेको छ । मन्त्रालयका अनुसार ट्यांकीमा राखिएको पानी सीधै पिउन सकिनेछ ।


खानेपानी ट्यांकी राख्न १० लाख खर्च

खानेपानी ट्यांकी निर्माणका लागि सरकारले १० लाख रुपैयाँ खर्च गर्ने भएको छ । ट्यांकी राख्नुअघि केयुकेएलले पहिलो चरणमा खानेपानीको संकटग्रस्त क्षेत्र पहिचान गर्ने भएको छ । उपत्यकाका सुक्खा क्षेत्र र पानीको संकट भएका ठाउँमा स्थानीयको सहभागितामा उपभोक्ता समिति गठन गरिनेछ । केयुकेएलका महाप्रबन्धक महेश भट्टराईका अनुसार निर्माण गरिएको ट्यांकी सोही समितिलाई हस्तान्तरण गरिनेछ । ‘खानेपानीको संकटग्रस्त ठाउँलाई पहिलो प्राथमिकता दिइनेछ । ट्यांकी निर्माणपछि उपभोक्तालाई हस्तान्तरण गरिनेछ,’ भट्टराईले भने ।


केयुकेएलका अनुसार एउटा ट्यांकी पाँच हजारदेखि १० हजार लिटर क्षमताका हुनेछन् । रुटिङ मिलाएर ट्यांकीमा केयुकेएलले नियमित ट्यांकरबाट खानेपानी भर्नेछ । ‘ट्यांकीको क्षमता पाँच हजारदेखि १० हजार लिटरको हुनेछ । शुद्ध पानी राखिने भएकाले सीधै खानयोग्य हुनेछ,’ भट्टराईले भने ।


यसअघि सयभन्दा बढी स्थानमा ट्यांकी राखिए 

केयुकेएलका अनुसार खानेपानीको संकटग्रस्त क्षेत्रमा अहिले पनि एक सयभन्दा धेरै सार्वजनिक ठाउँमा ट्यांकी राखिएका छन् । ती सबै ट्यांक पाँच हजारदेखि १० हजार लिटर क्षमताका छन् । निर्माण गरिएका सबै ट्यांकी स्थानीय उपभोक्ता समितिलाई हस्तान्तरण गरिसकिएको छ । उपभोक्ता समितिकै तजबिजमा उक्त क्षेत्रमा खानेपानीको उपभोग हुँदै आएको छ ।


खानेपानी उत्पादन वृद्धि गर्न मन्त्रीको निर्देशन 

खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाहीले सुक्खायामलाई लक्षित गरेर खानेपानीको उत्पादन बढाउन केयुकेएललाई निर्देशन दिएका छन् । यस्तै, बेल तथा ट्युबबेलको आवधिक मर्मत गर्नसमेत भनिएको छ । खानेपानीको अभाव हुन नदिन ट्यांकर भाडामा लिएर भए पनि नागरिकलाई सहुलियत रूपमा खानेपानी उपलब्ध गराउन मन्त्री शाहीको निर्देशनमा भनिएको छ । नयाँ पत्रिका दैनिकमा टेकराज थामीले खबर लेखेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved