केन्द्रीय तथ्यांक विभागले यो वर्ष नेपालको आर्थिक वृद्धि ६.९४ प्रतिशत हुने प्रक्षेपण गरेको छ । चालू वर्ष सरकारले ६.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको थियो । चालू वर्षको जीडीपी प्रक्षेपण स्थिर मूल्यअनुसार आधारभूत मूल्यमा आधारित हो ।
चालु मूल्यअनुसार जीडीपी आधारभूत मूल्यमा २२ खर्ब ९३ अर्ब ९८ करोड ९० लाख उपभोक्ताको मूल्यमा २५ खर्ब ९९ अर्ब २३ करोड ४० लाख रुपैयाँ पुगेको छ । चालू वर्षको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २९.३७ प्रतिशत र गैरकृषि क्षेत्रको योगदान ७०.६३ प्रतिशत रहेको छ ।
राष्ट्रिय योजना आयोगका सचिव चन्द्रकुमार घिमिरेले कृषि क्षेत्र र गैरकृषि क्षेत्र दुवैतर्फको वृद्धि उत्साहजनक देखिँदा आर्थिक वृद्धि लक्ष्यभन्दा बढी प्राप्त हुने सम्भावना बढाएको बताए ।
समग्रमा कृषि क्षेत्रको वृद्धि दर ५.२९ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर ७.७४ प्रतिशत छ । अनुकूल मौसमले कृषि क्षेत्रको उत्पादनमा बढोत्तरी, पुनर्निर्माणको कामले गति लिनु र ऊर्जा संकटबाट मुक्ति मिल्दा आर्थिक वृद्धिमा सकारात्मक प्रभाव परेको सचिव घिमिरेको भनाइ छ । यसअघि एसियाली विकास बैंकले ६.२ प्रतिशत र अन्तर्राष्ट्रिय मुद्रा कोषले ५.५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने उल्लेख गरेका थिए ।
तथ्यांक विभागका अनुसार चालू वर्ष प्राप्त हुने आर्थिक वृद्धि तथ्यांक गणनाका लागि आधार वर्ष तय गरिएको आर्थिक वर्ष ०५७/०५८ यताकै सबैभन्दा बढी हो । यसअघि आर्थिक वर्ष ०६५/०६६ मा ५.८ प्रतिशत आर्थिक वृद्धि भएको थियो । अहिलेको आधार वर्ष सुरु हुनुअघि आर्थिक वर्ष ०५१/०५२ मा ८ प्रतिशत हाराहारीमा आर्थिक वृद्धि भएको तथ्यांक छ ।
विभागले गत आर्थिक वर्षको आर्थिक वृद्धि अझ घटेको संशोधित अनुमान सार्वजनिक गरेको छ । गत वर्षको प्रक्षेपण ०.७७ प्रतिशतबाट घटेर ०.०१ प्रतिशत कायम रहने विभागले उल्लेख गरेको छ ।
रेमिट्यान्स विस्तारै उत्पादनमूलक क्षेत्रमा लगानी हुँदै जानु, कृषिमा व्यवसायीकरण देखिनु, राजनीतिक स्थिरतातर्फ मुलुक अग्रसर रहनु, चुनावी वातावरण बन्नु, बन्द हड्तालजस्ता कार्यक्रम कम हुनुका साथै सरकारले लिएका उत्पादनमूलक नीति कार्यान्वयन पक्ष सुधार हुँदा त्यसको असर मुलुकको समग्र अर्थतन्त्रमा परेको विभागको ठम्याइ छ । विभाग आर्थिक वृद्धिलगायत मुख्य सरकारी तथ्यांक सार्वजनिक गर्ने आधिकारिक निकाय हो ।
कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा २८.८९ प्रतिशत हिस्सा रहेको र अर्थतन्त्रको प्राथमिक क्षेत्रको रूपमा चिनिने कृषि तथा वन, मत्स्य र खानी तथा उत्खनन् क्षेत्रको वृद्धि दर ५.३२ प्रतिशत हुने विभागको प्रारम्भिक अनुमान छ । त्यस्तै, द्वितीय क्षेत्रका रूपमा रहेको र जीडीपीमा १४ प्रतिशत योगदान भएको निर्माण, उद्योग र विद्युत्, ग्यास तथा पानी क्षेत्रको वृद्धि दर १०.९७ प्रतिशत छ ।
खासगरी पुनर्निर्माण तथा अन्य निर्माण कार्यको तिव्रता, ऊर्जा क्षेत्रको विस्तार, औद्योगिक क्षेत्रमा भएको उत्पादन वृद्धिका कारण द्वितीय क्षेत्रको वृद्धि उत्साहजनक भएको हो ।
त्यस्तै, अर्थतन्त्रको तेस्रो महत्वपूर्ण क्षेत्रका रूपमा लिइने सेवा क्षेत्रको हिस्सा ५५.९९ प्रतिशत छ । थोक तथा खुद्रा व्यापार, होटल तथा रेस्टुरेन्ट, यातायात, सञ्चार तथा भण्डारण, वित्तीय मध्यस्थता, रियल स्टेट तथा व्यावसायिक सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, शिक्षा, स्वास्थ्य र अन्य सामुदायिक, सामाजिक तथा व्यक्तिगत सेवा पर्ने यस क्षेत्रको वृद्धिदर ६.९ प्रतिशत छ ।
विभागले स्वदेशी वस्तुहरूको उत्पादनमा भएको वृद्धि तथा आयातित वस्तुहरूमा भएको वृद्धिले व्यापार क्षेत्रको उत्पादन सकारात्मक देखिनुका साथै पर्यटक आगमनमा भएको वृद्धि, व्यावसायिक वातावरण अनुकूल हुनुजस्ता कारणले होटल, रेस्टुरेन्ट, यातायात तथा सञ्चार क्षेत्रको आर्थिक प्रगति भएको उल्लेख गरेको छ ।
विभागले शिक्षा, स्वास्थ्यलगायत सामाजिक सेवाहरूमा पनि क्रमिक रूपमा प्रगति हुँदा त्यसको सम्पूर्ण प्रभाव समग्र अर्थतन्त्रमा परेको जनाएको छ । सचिव घिमिरेले कृषि क्षेत्रको उत्पादकत्व बढेर मात्र नभई गैरकृषि क्षेत्रको पनि उत्पादकत्व उच्च भएका कारण समग्र आर्थिक वृद्धिमा सकारात्मक प्रभाव परेको बताए ।
उनले भौतिक प्रगति धेरै भए पनि वित्तीय प्रगति बाँकी रहेकाले सञ्चयी असर (क्युमुलेटिभ इफेक्ट) आउने क्रम जारी रहेको बताए । चालू मूल्यमा कुल स्थिर पुँजी निर्माण ८ खर्ब ७८ अर्ब ६० करोड ५० लाख रुपैयाँ पुगेको छ ।
यो कुल जीडीपीको ३३.८ प्रतिशत हो । त्यस्तै, चालू मूल्यमा अन्तिम उपभोग खर्च २३ खर्ब ३२ अर्ब ७४ करोड १० लाख रुपैयाँ अर्थात् जीडीपीको ८९.७५ प्रतिशत पुगेको छ । चालू वर्ष प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन ९० हजार ५ सय २१ रुपैयाँ अर्थात् ८ सय ५३ अमेरिकी डलर पुगेको छ । -कारोबार दैनिकबाट