जङ्गबहादुरकालीन दररेट कायमै, मासिक पाँच रुपैयाँ पारिश्रमिक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 28, 2017 | 07:48:41 AM मा प्रकाशित

laxmi  sunrise bank

मासिक पाँच रुपियाँ अनि वार्षिक ३७ रुपियाँ पारिश्रमिकमा काम गर्ने आजको नयाँ नेपालमा को होला ?अर्थ मन्त्रालय कौशितोषाखाना कार्यालयअन्तर्गत कार्य गर्ने कयौं जनाको यो पारिश्रमिक अझै पनि कायम छ । यसलाई जङ्गबहादुरकालीन दररेट पनि भन्ने गरिन्छ ।

कुनै बेला यो पारिश्रमिक अब्बल थियो होला तर उतिबेलैदेखि कहिल्यै वृद्धि नभएको यो पारिश्रमिक अहिले भने असाध्यै न्यून भएको अधिकारीहरू नै स्वीकार गर्छन् । यद्यपि यो पारिश्रमिक बढाउन भने कहिल्यै तयार हुँदैनन् ।

हनुमानढोका दरबारको मूलचोकमा अवस्थित तलेजुका मूल पुजारी उद्धव कर्माचार्य भन्नुहुन्छ, “कौशितोषाखानाले दिने वार्षिक ३७ रुपियाँ पारिश्रमिक खर्च लिन छोडेकै वर्षौं भइसक्यो । ”

पुग्दै नपुग्ने खर्च लिएर के गर्नु ? भन्ने प्रश्न गर्दा उनी थप्छन्, “यो रकम तलेजुमा पूजा गरेबापत अर्थ मन्त्रालयबाट निकासा भई पाउने रकम हो ।” निकासा भएको यो रकम कौशितोषाखाना कार्यालयले वितरण गर्ने गरे पनि रकम न्यून भएको असन्तुष्टि वर्षौंदेखि सम्बोधन हुन सकेको छैन ।

अर्थ मन्त्रालयका उपसचिव एवं साविक कौशितोषाखानाका प्रमुख हेमन्त निरौला यो रकम काम लगाएबापत निकै कम भएको स्वीर्काछन् । उनी भन्छन्, “पारिश्रमिक समयानुकूल गर्न प्रयास नभएको भने होइन तर साविकअनुसार गर्नु भनी सम्बन्धित निकायबाट लेखी आउँछ । ”

निरौलाका अनुसार हनुमानढोका दरबार र परिसरमा रहेका ससाना आकारका मन्दिरमा पूजा गर्ने धेरैको पारिश्रमिक मासिक पाँच रुपियाँभन्दा बढी छैन ।

काभ्रेपलाञ्चोक भगवतीका पुजारीले त पूजा गरेबापत वार्षिक दुई रुपियाँ ३८ पैसा पारिश्रमिक लिने गरेका छन् । इन्द्रजात्रामा नचाइने मजिपाटको लाखेले वार्षिक १२३ रुपियाँ, पाटन दसैँघरका सुसारेले वार्षिक दुई सय रुपियाँ पाउँछन् । इन्द्रजात्रामा श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको रथ बनाउने आधा दर्जन शिल्पकारले एक रुपियाँ पारिश्रमिक पाउँछन् । गोरखापत्रमा खबर छ ।

 यो एक रुपियाँ दामासाही भाग लगाउन नमिल्ने भएकाले शिल्पकारले खुत्रुकेमा पारिश्रमिक सङ्कलन गरिरहेका छन् । उचित पारिश्रमिक दिइयोस् भन्ने वर्षौंदेखि माग गर्दै आएका इन्द्रजात्रामा रथको काम जिम्मा लिने पञ्चरत्न स्थापित त माग पूरा हुन्छ भन्ने आशामै बितिसकेको छ ।

 तत्कालीन राजा सुरेन्द्रविक्रमको पालामा प्रधानमन्त्री श्री ३ जङ्गबहादुरले कायम गरेको मानिएको यो पारिश्रमिकमा सुधार कहिले आउला ? यसको जवाफ कौशितोषाखाना र कामदार दुवैसँग छैन तर पुजारी उद्धव कर्माचार्य भन्छन्, “नेपाल नयाँ भयो, पारिश्रमिक भने पुरानै छ ।” 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved