राष्ट्र बैंकले बेच्यो दुईवटा दरबार, पूरातत्व विभाग भन्छः बेच्नु भनेको छैन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 28, 2017 | 08:21:29 AM मा प्रकाशित

दुई वर्षअघि गएको भूकम्पका कारण भत्किएका राष्ट्र बैंकको बालुवाटारस्थित मुख्यालय भवन (ललितानिवास) र थापाथलीस्थित बैंकिङ कार्यालय भवन (थापाथली दरबार(सिंहमहल)को सम्पूर्ण संरचना करिब ८ करोड रुपैयाँमा बिक्री भएको छ ।

‘दुवै भवन भत्काएर त्यसमा भएका सबै संरचना ठेकेदार आफैंले लाने गरी सम्झौता भएको छ,’ राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले भने, ‘यसबाट राष्ट्र बैंकलाई ८ करोड रुपैयाँ प्राप्त हुनेछ ।’

पुरातत्व विभागले यी दुई राणाकालीन दरबार भत्काउन स्वीकृति दिएपछि भवन भत्काएर भग्नावशेष बिक्री गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । ‘ऐतिहासिक महत्वको भवनको भग्नावशेष बेच्दा ठूलो पैसा आउने भएपछि नेपाल सरकारले राष्ट्र बैंकको दुवै भवनको भग्नावशेष बिक्री गर्ने निर्णय गरेको छ,’ राष्ट्र बैंकको सामान्य सेवा विभाग प्रमुख एवं कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले भने । राष्ट्र बैंकका अधिकारीहरूले शनिबारबाटै भवन भत्काउने र भग्नावशेष पन्छाउने काम सुरु हुने बताएका छन् । ‘हाम्रो वार्षिकोत्सव समारोह गर्नुपर्ने भएकाले काम सुरु गर्न केही ढिलाइ भएको हो,’ राष्ट्र बैंक सञ्चालक समितिका सदस्यसचिव एवं सहप्रवक्ता राजेन्द्र पण्डितले भने, ‘अब तुरुन्तै काम सुरु हुन्छ ।’

पूरातत्व विभाग भन्छः बेच्नु भनेको छैन

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले राष्ट्र बैंकका यी दुई भवनको संरचना भत्काउन आफूहरूले निर्देशन दिएको भए पनि भग्नावशेष बेच्न सहमति नदिएको बताएको नयाँ पत्रिकामा खबर छ ।

‘सरकारी ढुकुटी राख्नुपर्ने राष्ट्र बैंक संवेदनशील ठाउँ हो,’ दाहालले भने, ‘सुरक्षाको हिसाबले पनि बलियो संरचना बन्नुपर्छ । त्यही कारण भत्किएका संरचना भत्काएर जस्ताको तस्तै पुरानै स्वरूपमा नयाँ भवन बनाउनु भनेका हौं ।’ उनले हालको भवन रेक्ट्रोफिटिङ गर्नै नमिल्ने देखिएको बताए । तर, आफूहरूले बुट्टा कुँदेका झ्याल, ढोका, काठपात, इट्टाजस्ता ऐतिहासिक वस्तुको संरक्षण गर्न भनेको उनले बताए । ‘बेच्नु भनेका छैनौं,’ उनले थपे । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved