चार हजार लिटरमा ९९ लिटर पेट्रोलियम ट्यांकरबाट गायब

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 29, 2017 | 08:09:14 AM मा प्रकाशित

laxmi  sunrise bank

राजधानीमा वितरित पेट्रोलियममध्ये प्रति ४ हजार लिटरमा ९९ लिटर हराउने गरेको भेटिएको छ । आयल निगमले कम तेल दिएको पेट्रोलपम्पहरूले गुनासो गरेपछि अध्ययनका क्रममा यस्तो पत्ता लागेको नेपाल आयल निगमले जनाएको छ । राजधानीको कालिमाटीस्थित माली आयल स्टोर्स पेट्रोलपम्पमा खन्याइएको ४ हजार पेट्रोलमध्ये ९९ लिटर गायब भएको छ । 

मंगलबार सो पम्पको अन्डरग्राउन्ड ट्यांकी खाली गराएर ४ हजार लिटर पेट्रोल खन्याइएकोमा नोजलले ३ हजार ९ सय १ लिटर मात्रै वितरण गरेको थियो । पम्पमै इन्धन गायब भएपछि आयल निगम र गुणस्तर तथा नापतौल विभागका कर्मचारी चकित भएका छन् र अहिले छानबिन भइरहेको छ ।

आयल निगमका निर्देशक दीपक बरालले निगमबाट पम्पलाई कम तेल वितरण हुने गरेको गुनासो बढ्दै गएपछि कालिमाटीस्थित माली आयल स्टोर्समा मंगलबार परीक्षण गरिएको बताए । ‘निगमको थानकोट डिपोबाट ट्यांकर लोड गरी माली आयल स्टोर्समा १२ हजार लिटर पेट्रोल लगिएको थियो,’ उनले भने, ‘त्यसमध्ये एउटा च्याम्बरमा रहेको ४ हजार लिटर पेट्रोलपम्पमा खन्याएर पुनः सोही इन्धन ट्यांकरमा हाल्दा ९९ लिटर कम वितरण भएको देखिएको छ ।’

उपत्यकाका अधिकांश पम्पले निगमबाट कम इन्धन आएको गुनासो गरेकाले गुणस्तर तथा नापतौल विभागले सबै पम्पको इन्धन प्राप्ति र वितरण अवस्थाको अनुगमन गर्ने जनाएको छ । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले सबै पम्पको अनुगमन गरी यथार्थ पत्ता लगाउने बताए ।

यसरी भयो छानबिन

व्यवसायीले राजधानीका अधिकांश पम्पले निगमले कम तेल दिने गरेको गुनासो बारम्बार दोहोर्याएपछि आयल निगम, गुणस्तर तथा नापतौल विभाग र व्यवसायीको प्रतिनिधि सम्मिलित भएर मंगलबार दिउँसो माली आयलमा परीक्षण गरेका थिए । थानकोटबाट पेट्रोल बोकेर आएको १२ हजार लिटरको ट्यांकरबाट ४ हजार लिटर अटाउने एक च्याम्बरको पेट्रोल उक्त पम्पको अन्डरग्राउन्ड ट्यांकीमा खसालियो । ट्यांकरको पेट्रोल खन्याउनुअघि पम्पको ट्यांकी खाली गरिएको निगमका निर्देशक दीपक बरालले बताए ।

च्याम्बरमा रहेको ४ हजार लिटर ट्यांकीमा खसाएपछि डिस्पेन्सिङ पम्पमा रहेको नोजल (सवारीसाधनमा इन्धन हाल्ने मेसिन)को सहायतामा पुनः उक्त पेट्रोल ट्यांकरमै हालियो । तर, नोजलले ३ हजार ९ सय १ लिटर मात्रै पेट्रोल ट्यांकरमा गएको देखियो । पम्पबाटै ९९ लिटर कम तेल बाहिर आएपछि ट्यांकरको च्याम्बरको क्यालिब्रेसन गर्न गुणस्तर विभागको प्राविधिक टोली आयो । गुणस्तरको टोलीले च्याम्बरमा ४ हजार लिटरमा १२ लिटर कम अर्थात् ३ हजार ९ सय ८८ लिटर तेल रहेको पुष्टि गर्यो । गुणस्तरको रिपोर्टअनुसार अन्डरग्राउन्ड ट्यांकीमा ३ हजार ९ सय ८८ लिटर तेल खसेको थियो । तर, नोजलले ३ हजार ९ सय १ लिटर मात्रै वितरण गर्दा पम्पबाटै ८७ लिटर गायब भएको देखिन्छ ।


निगमबाट १२ लिटर कम वितरण

आयल निगमले ४ हजार लिटर दाबी गरे पनि १२ लिटर कम दिने गरेको माली आयलबाट पुष्टि भएको छ । निगम निर्देशक बरालले भारतीय क्यालिब्रेसन र नेपाली क्यालिब्रेसन फरक परेका कारण ४ हजार लिटरमा १२ लिटर कम देखिएको बताए । ‘हामीले भारतीय क्यालिब्रेसनलाई मान्यता दिएर इन्धन बुझ्दै आएका छौँ,’ उनले भने, ‘तर, नेपाली क्यालिब्रेसनले ४ हजार लिटरमा १२ लिटर कम आएको देखिन्छ । यो विषयमा हामी भारतीय आयल कर्पोरेसनसँग कुरा गर्छौँ ।’


गायब हुनुका ४ सम्भावित कारण

१.चालक

ट्यांकरचालकले प्रत्येक च्याम्बरमा ग्यालेन राखेर इन्धन चोरी गर्न सक्छन् । विगतमा यसरी उनीहरूले इन्धन चोरी गरेको पुष्टि भइसकेको छ । च्याम्बरभित्र खाली ग्यालेन राख्ने र इन्धन ढुवानीका क्रममा उक्त ग्यालेन भरिन्छ । तर, च्याम्बरमा भएको तेल पाइपको सहायताले पम्पमा खसाल्दा ग्यालेनको तेल आउँदैन र पम्पले कम तेल पाउँछन् ।


२. मेसिनको खराबी

प्राविधिक खराबीका कारण डिस्पेन्सिङ पम्पले देखाएभन्दा बढी तेल फाल्न सक्ने अनुमान गरिएको छ । मालीको डिस्पेन्सिङ पम्पले डिस्प्लेमा ३ हजार ९ सय १ लिटर देखाउने, तर तेलचाहिँ ३ हजार ९ सय ८८ लिटर फालेको हुन सक्ने अनुमान छ ।


३. चोरीको ट्यांकी जडान

पम्प परिसरमा निगमको स्वीकृति लिएर अन्डरग्राउन्ड ट्यांकी बनाइन्छ । तर, सोही ट्यांकीसँग जोडेर निगमलाई थाहै नदिई अन्डरग्राउन्डमै अर्को ट्यांकी बनाउने र दुई ट्यांकीलाई पाइपको सहायताले जोडेर राख्न सकिन्छ । यस्तो भएको खण्डमा स्वीकृति लिएर राखेको ट्यांकीमा तेल खन्याउँदा अवैध रूपमा बनाइएको अर्को ट्यांकीमा पाइपको सहायताले निश्चित तेल जान्छ । र, ट्यांकरबाट खन्याएभन्दा कम तेल पम्पले वितरण गरेर बाँकी तेल अवैध ट्यांकीमा लुकाएर राख्न सक्छन् ।


४. ट्यांकीबाट चुहावट

अन्डरग्राउन्डको ट्यांकीमा कुनै खराबी आएर इन्धन चुहावट हुन सक्ने आँकलन गरिएको छ । मंगलबार माली आयलमा ट्यांकरबाट २५ मिनेटमा ट्यांकीमा तेल खसालिएको थियो भने ट्यांकीबाट नोजलको सहायताले पुनः ट्यांकरमा तेल हाल्न २ घन्टा ३० मिनेट लागेको थियो । छोटो अवधिमा ८७ लिटर तेल चुहावट भयो भन्ने मुस्किल छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved