भारतबाट बिना भिसा नेपाल छिरेका इरानी नागरिक पक्राउ : आश्चर्य यस्तो छ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 30, 2017 | 07:40:30 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतबाट स्थलमार्ग हुँदै बिनाप्रवेशाज्ञा नेपाल छिरेका एक इरानी नागरिक पक्राउ परेका छन् । पाकिस्तानी नागरिकले ती इरानीलाई भारतबाट काठमाडौं हुँदै जर्मनीसम्मको सेटिङ मिलाएको प्रहरी अनुसन्धानले देखाएको छ ।

भारतबाट स्थलमार्ग हुँदै नेपाल आएका इरानी नागरिक घोलान होसिनलाई विमानस्थलस्थित अध्यागमन कार्यालयले पक्राउ गरेको हो । होसिनलाई सेटिङ गर्ने पाकिस्तानी कहाँ छन् भन्नेबारे केही खुलेको छैन । होसिनले भारतबाट नेपाल हुँदै जर्मनीसम्म जानका लागि सेटिङ मिलाउने पकिस्तानीलाई आठ हजार अमेरिकी डलर दिएको बताएका छन् ।

ती इरानीबारे अध्यागमन विभाग र प्रहरीको विशेष ब्युरोले छुट्टाछुट्टै अनुसन्धान थालेको छ । सात दिनदेखि होसिन अध्यागमन विभागको हिरासतमा छन् । अध्यागमन विभागका महानिर्देशक गंगाराम गेलालले होसिनबारे अनुसन्धान भइरहेको बताउनुभयो । विमानस्थल स्रोतका अनुसार पाकिस्तानी नागरिकको सल्लाह र योजनामा होसिन विमानस्थलस्थित अध्यागमन कार्यालय पुगेका थिए । होसिनसँग भएको इरानको राहदानीमा नेपाल र भारत दुवै देशको भिसा छैन । होसिन कसरी बिनाभिसा भारत आए र भारतबाट कसरी नेपाल पसे भन्ने विषय रहस्यमय बन्दै गएको छ । होसिनसँग अन्य कुनै मुलुकको राहदानी भएको खुलेको छैन ।

बिनाभिसा नेपाल आएका होसिन वैशाख १० मा भिसा लिन विमानस्थलस्थित अध्यागमन कार्यालय गएका थिए । स्थलमार्गबाट नेपाल छिरेका विदेशीलाई सम्बन्धित नाकामा रहेको अध्यागमन कार्यालयबाटै भिसा दिने गरिन्छ । त्यहाँ कुनै समस्या आए अध्यागमन विभाग जानुपर्छ । तर होसिनले न नाकाबाट भिसा लिए, न त अध्यागमन विभाग नै गए । बरु उनी कडा जाँच छिचोल्दै सरासर विमानस्थलस्थित अध्यागमन कार्यालय पुगे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन (अराइभल) तर्फबाट भिसा लिन भन्सार चेकिङको बाटो हुँदै अध्यागमन कार्यालय पुगेका उनी त्यहीं पक्राउ परे ।

आश्चर्य त के छ भने, होसिनलाई प्रहरीले कुनै सोधखोजबिनै विमानस्थलस्थित अध्यागमन कार्यालयसम्म जाने अनुमति दियो । विमानस्थलमा बिनापास जोकोहीलाई अध्यागमन कार्यालय जाने अनुमति छैन । उनी नेपाल कहिले र कुन प्रयोजनका लागि आएका हुन् भन्नेबारे केही तथ्य खुलेको छैन ।

होसिन बिनारोकतोक अध्यागमन कार्यालय पुगेपछि विमानस्थल र अध्यागमनका कर्मचारीसमेत आश्चर्यमा परेका थिए । नेपालको भिसा लिन आएको बताएलगत्तै अध्यागमनका अधिकारीले होसिनलाई सोधपुछ गरेका थिए । विमानस्थलस्थित अध्यागमन कार्यालयका अधिकारीसँग होसिनले आफू ओमान एयरबाट काठमाडौं आएका झुटो विवरण दिएका थिए ।

अध्यागमन विभागको हिरासतमा रहेका होसिनले प्रहरीको विशेष ब्युरोसँगको बयानमा आफू जर्मनी जानका लागि नेपाल आएको बताएका छन् । अध्यागमन विभागले सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको अन्नपूर्ण पोस्टमा खबर  छ ।

अध्यागमन विभागले गत चैत १७ गते पनि अमेरिकी राहदानी बोकेका इरानी नागरिक हमिदलाई नेपालस्थित अमेरिकी दूतावासको सूचनाका आधारमा पक्राउ गरेको थियो । तर अध्यागमनका अधिकारीहरूले बयान लिनुअघि नै चैत १८ गते अमेरिकी दूतावासका अधिकारीहरूले ती इरानीको बयान लिएका थिए । अमेरिकी दूतावासले आतंकवादी संगठन आईएसमा आबद्ध भएको आशंकामा हमिदमाथि अनुसन्धान थालेको थियो ।

अमेरिकी दूतावासका अधिकारीले आतंककारी संगठनमा आबद्ध भएको बलियो आधार नभेटेपछि हमिदलाई ‘क्रिमिनल म्यान’ भनेको स्रोतले बताएको छ । अध्यागमन विभागले हमिदको अदालती प्रक्रिया सकिएकाले निष्कासन (डिपोर्ट) गर्ने तयारी थालेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved