आलुको उचित भाउ खोज्दै किसान

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 01, 2017 | 09:15:44 AM मा प्रकाशित

laxmi  sunrise bank

इन्द्रावती गाउँपालिका भीमटारका जितबहादुर माझी यसपाली आफूले उत्पादन गरेको आलुले भाउ नपाउँदा नयाँ ठाउँ खोजिरहेका छन् ।अघिल्ला वर्षमा आफूले उत्पादन गरेको आलु लैजाने व्यापारीले उचित भाउ नदिँदा उनी विकल्पमा नयाँ ठाउँ खोज्न बाध्य बनेका हुन् ।उचित मूल्य नपाए उनी आलु बिक्री नगरी घरमै थन्काउने सोचमा छन् ।

“अहिले आफू बस्दै आएको टहरामै भए पनि गोदाम गरेर राखेर पछि मात्रै बेच्छ्ु,” उनले भने, “पसिनाको मूल्य पनि नउठ्ने भएपछि बेच्न सकिनँ ।” उनले यो पटक उत्पादन भएको आलु मोटरबाटोसम्म ल्याइदिँदा पनि प्रतिकिलो १३ रुपैयाँ मात्रै पाएको गुनासो पोखे ।

यो गाउँ आलु उत्पादनमा उर्वर मानिन्छ । अघिल्लो वर्ष यहाँका किसानले उत्पादन गरेको आलु खेतमै बिक्री हुन्थ्यो । “अघिल्लो वर्ष खन्दाखन्दै खेतमै एक किलोको २५ रुपैयाँसम्म भाउ आयो,” जितबहादुर भन्छन्, “अहिले त्यसको आधा मूल्य पाउन पनि मुस्किल भयो, त्यसैले यो वर्ष आलु बिक्री नगर्ने सोचमा छु ।” अहिले पनि कतै राम्रो भाउ पाइन्छ कि भन्ने आशले बजार डुल्दै गरेको उनले बताए ।

यहाँ उत्पादित आलुको प्रमुख बजार राजधानी काठमाडौं हो । काभ्रेको पाँचखाल, बनेपा, सिपाघाट र मेलम्चीमा पनि यहाँको आलु खपत हुन्छ । जितबहादुरले यो वर्ष आलुको मूल्य राम्रो नआएकाले उचित मूल्य पाउने आशमा अधिकांश बजार डुलिसकेको बताए ।

जितबहादुरजस्तै कृषि पेसाबाटै जीवनगुजारा गरिरहेका वीरबहादुर माझी पनि पसिनाको मूल्य नपाउँदा चिन्तित छन् । “दुःख गरेर आलु खनियो, व्यापारीले भाउ नै राम्रो दिएनन्,” उनले भने, “१२/१३ रुपैयाँमा पसिना बेचेर कसरी घरबार धान्न सकिन्छ र ?” उनले वर्षाैंदेखि कृषि पेसा गरेरै घरखर्च र छोराछोरी पढाउँदै आएको भन्दै यो वर्ष खर्च धान्न नसकिने बताए ।

उचित भाउ पर्खँदा यहाँका किसानले अघिल्लो वर्षको तुलनामा झन्डै डेढ महिना ढिला गरी आलु खनेका छन् । समय पुगेको आलु नखन्दा खेतमै कुहिने र अन्य रोग लाग्ने डरले आलु खन्न थालेका थिए ।आफूले लगाएको सबै आलु खनिसक्दा पनि उचित मूल्य नपाएपछि अधिकांशले बिक्री गरेका छैनन् । भाउ आउने आशामा कतिपयले खेतमै आलु भण्डार गरेर पनि राखेका छन् ।

यहाँका झन्डै शतप्रतिशत माझी परिवारले व्यवसायिक रुपमा आलु खेती गर्ने गरेका छन् । यो गाउँमा रहेको खेतीयोग्य जमिनमध्ये करिब ८० प्रतिशत भागमा किसानले आलु खेती गरेका छन् ।

“एकै गाउँका किसानले झन्डै ५ सय रोपनीमा आलु खेती गरेका छन्,” गाउँका अगुवा कमल माझीले भने, “उनीहरूको रोजीरोटी चल्ने नै आलु खेती हो ।”जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार जिल्लामा यो वर्ष साढे २ हजार टन आलु उत्पादन भएको छ । “उत्पादनमध्ये २ सय टन बाहिरी जिल्लामा निर्यात हुन्छ,” कार्यालयका प्राविधिक सहायक टीकाप्रसाद काफ्ले भन्छन्,

“आलुबाट जिल्लामा ५० लाखभन्दा बढी आम्दानी कृषकले गर्ने गरेका छन् ।” इन्द्रावती करिडोरसँगै जिल्लाको मुडे, जेठल, गुम्बा, हेलम्बुलगायतका स्थानमा किसानले व्यावसायिक रूपले आलुका खेती गर्दै आएका छन् । -कारोबार दैनिकबाट 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved