छात्रा बेहोस हुँदा डाक्टर निषेध गरी धामीको भेला : किताब पनि छुँदैनन् छात्रा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 03, 2017 | 08:01:21 AM मा प्रकाशित

laxmi  sunrise bank

छात्राहरू बेहोस हुन थालेपछि जुम्लाका केही अभिभावकले डाक्टरलाई निषेध गरेर धामीझाँक्रीबाट उपचार खोजेका छन् । जिल्लाका विभिन्न विद्यालयमा छात्राहरूमा टाउको दुख्ने, शरीर काम्ने र बेहोस हुने समस्या बढेपछि विज्ञ डाक्टरबाट उपचार गर्नुको साटो अभिभावकले धामी भेला गराएका हुन् । 


तातोपानीस्थित हिमशिखर माध्यमिक विद्यालयमा एकैदिन १५ छात्रा बेहोस हुँदा दुईपटक डाक्टर बोलाइए पनि उनीहरूलाई उपचार गर्न नदिएर १५ वैशाखमा धामी भेला भएको थियो । प्रधानाध्यापक राजु केसीले दुईपटकसम्म अभिभावक र बिरामी आफैँले डाक्टरबाट छात्राको उपचार गर्न अस्वीकार गरेको बताए । ‘विद्यालयनजिकै मन्दिर र रूख थियो, भत्काएर विद्यालय बन्यो । त्यसपछि बेहोस हुने छात्राहरूले डाक्टर होइन, मन्दिर र रूख चाहिन्छ भनेका छन्,’ प्रधानाध्यापक केसीले भने ।


डाक्टरबाट उपचार गर्न नमानेपछि १५ वैशाखमा धामी भेला गरिएको थियो । प्रधानाध्यापक केसीका अनुसार भेलामा जिल्लाका विभिन्न ठाउँका ६ धामी बोलाइएका थिए । तर, एक धामीले काम गरेका थिए । ‘जिल्लामा सबैले मानेको मुख्य धामी भेलामा आउनुभएको थियो, काम गर्नुभएको छैन । उहाँले पूरै ठीक पार्ने बताउनुभएको छ,’ प्रधानाध्यापक केसीले भने । छात्राहरू बिरामी भएपछि विद्यालयसमेत बन्द गर्नुपरेको थियो ।


यस वर्ष धेरै समस्या

जिल्ला शिक्षा अधिकारी कुलबहादुर फडेराले यस वर्ष छात्राहरू बढी बिरामी भएको जानकारी दिए । गर्मीको समयमा यो समस्या बढी देखिने उनको भनाइ छ । धार्मिक आस्थाका कारण छात्रा बिरामी हुँदा धामीझाँक्री जुटाउने गरेको उनले बताए । स्रोतव्यक्ति रामबहादुर चापागाईंले कक्षा ५ सम्म मात्रै पढाइ हुने विद्यालयमा पनि छात्राहरू काँप्ने, बेहोस हुने समस्या रहेको जानकारी दिए । धार्मिक आस्थाका कारण कतिपय अभिभावकले डाक्टरबाट उपचार र औषधि दिँदा स्वीकार नगरेको उनले बताए । जिल्लाका छात्रा र उनीहरूका अभिभावकले डाक्टरभन्दा धामीझाँक्रीमा धेरै विश्वास गर्ने गरेको चापागाईंले जानकारी दिए । चेतनाको कमीले पनि केही समस्या भएको उनको भनाइ छ । आजको नयाँ पत्रिकामा खबर छ ।


रजश्वला हुँदा किताब पनि छुँदैनन्

जुम्लाका कतिपय छात्राले रजश्वला हुँदा किताब नछुने र विद्यालय नै नजाने समस्या रहेको स्रोतव्यक्ति चापागाईंले बताए । कतिपय छात्रा रजश्वला भएका वेला मन्दिर भएको बाटोबाट समेत हिँड्दैनन् । शिक्षिका भगवती श्रेष्ठले ‘छुइछाइ’ भएर काम्ने गरेको भन्ने चलनसमेत रहेको बताइन् । धामीझाँक्रीलाई तालिम दिने र विद्यार्थीलाई परामर्श दिएमा समस्या समाधान गर्न सकिने उनको भनाइ छ । जिल्ला शिक्षा अधिकारीको अध्यक्षतामा रहेको छात्रा शिक्षा सञ्जालसँगको बैठकमा कतिपय विद्यालयमा रजश्वला भएका वेला महिला शिक्षक नै विद्यालयमा नआउने गरेको गुनासो आएको थियो । सामाजिक क्षेत्रमा कार्यरत सीता शर्माले छात्राहरू रजश्वला हुँदा डरले मन्दिर छेउबाट नहिँडेर अर्को बाटो हिँड्ने गरेको बताइन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved