चितवनका कांग्रेस कार्यकर्ता आक्रोशित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 05, 2017 | 07:58:07 AM मा प्रकाशित

laxmi  sunrise bank

कांग्रेस सभापति शेरबहादुर देउवाले पत्र पठाएर भरतपुर महानगरपालिकाको मेयर पदका उम्मेदवार दिनेश कोइरालाको उम्मेदवारी फिर्ता गरिदिएपछि चितवनका कांग्रेस कार्यकर्ता आक्रोशित भएका छन् ।सभापति देउवाको आग्रहबमोजिम कोइरालाले नाम फिर्ता लिन अस्वीकार गरेपछि देउवाले पत्र पठाएर उहाँको उम्मेदवारी फिर्ता लिनुभएको थियो । कोइरालाले नमानेपछि समय सकिनुभन्दा दुई मिनेटअगाडि कांग्रेस केन्द्रीय कार्यालयले सभापति देउवाको हस्ताक्षरमा पत्र पठाएको थियो ।

कांग्रेस चितवनका जिल्ला सभापति जितनारायण श्रेष्ठले भ्रमका पछाडि नलाग्न विज्ञप्ति जारी गर्दै भरतपुरबाट कांग्रेस उम्मेदवार फिर्ता नहुने जानकारी दिएको केही घन्टामै केन्द्रमा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल गर्ने निर्णय भएको थियो ।कांग्रेस कार्यकर्ताले तालमेलको विरोध गरेका छन् । जिल्लाको चुनावी वातावरण राम्रो भएको बेला अवस्था नबुझी केन्द्रमा तालमेल गरेको भन्दै पार्टी कार्यालयमा कार्यकर्ताले प्रदर्शन गरेका थिए ।

उनीहरूले उम्मेदवार दिनेश कोइरालालाई उम्मेदवारी फिर्ता नलिन आग्रह गरेका थिए । पार्टी सभापति देउवाले फोन गरेर उम्मेदवारी फिर्ता लिन गरेको आग्रह कोइरालाले मान्नुभएको थिएन । निर्वाचन ऐनअनुसार उम्मेदवारी दिने दलको आधिकारिक प्रतिनिधिको हस्ताक्षर भए हटाउने व्यवस्था रहेको जानकारी सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले दिनुभयो । ‘पार्टीको पदाधिकारीले पत्र पठाएपछि झिकिएको हो’, उहाँले भन्नुभयो ।

देउवाले पत्रमा उपप्रमुखमा कांग्रेसकी पार्वती शाहलाई माओवादी केन्द्रले समर्थन गर्ने निर्णय भएको जनाउनुभएको छ । सभापति देउवाले हस्ताक्षर गरेको पत्रको बोधार्थ निर्वाचन आयोग बहादुरभवनलाई पनि दिइएको छ । कांग्रेस नेता कृष्ण सिटौलाले आफ्ना उम्मेदवारलाई मनोनयन फिर्ता लिन दिएको निर्देशनप्रति असहमति जनाउनुभएको छ । यता चितवन कांग्रेसले माओवादी केन्द्रसँग चुनावी तालमेल गर्ने पार्टी निर्णयको विरोधमा बिहीबार नै चितवन बन्द गरेको छ । केन्द्रको सहमतिलगत्तै कांग्रेस कार्यकर्ताले चितवनमा प्रदर्शन गरेका थिए । उनीहरूले पार्टी अध्यक्ष शेरबहादुर देउवाविरुद्ध नाराबाजीसमेत गरेका थिए । अन्नपूर्ण पोस्टमा खबर छ ।

स्थानीय तह निर्वाचनका लागि चुनावी तालमेल गर्न कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र रामशरण महत तथा माओवादी केन्द्रका कृष्णबहादुर महरा र वर्षमान पुनको कार्यदल बनेको थियो । सोही कार्यदलको सिफारिसमा चारवटा महानगरमध्ये तीनवटा काठमाडौं, ललितपुर र पोखरामा कांग्रेस र चितवनमा माओवादी केन्द्रसँग तालमेलको आन्तरिक सहमति भएको हो ।

कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलले अन्नपूर्णसँग भन्नुभयो, ‘कांग्रेस र माओवादी केन्द्रबीचको सहमतिअनुसार चितवन र पोखरा-लेखनाथ महानगरपालिकामा सहमति भएको छ । अन्यमा त्यस्तो सहमति भएको छैन ।’प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले कांग्रेस-माओवादी केन्द्रबीच काठमाडौं र ललितपुरमा तालमेलको प्रयास भइरहेको जानकारी दिनुभयो । ‘माओवादी केन्द्र काठमाडौं छाड्न तयार छ तर कांग्रेसले ललितपुर छाड्नुपर्छ’, महराले भन्नुभयो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved