मतगणना कहिलेदेखि ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 09, 2017 | 08:12:19 AM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोगले ३१ वैशाखमा हुने स्थानीय तह निर्वाचनको मतगणना १ जेठबाट सुरु गर्ने तयारी गरेको छ । मतदान सम्पन्न भएको दिन बेलुकासम्म जिल्ला निर्वाचन कार्यालयमा मतपेटिका ल्याई १ जेठबाट गणना सुरु गर्ने आयोगले जनाएको छ । दुर्गम क्षेत्रका मतपेटिका आउन समय लाग्ने भएकाले हेलिकोप्टरमार्फत छिटोभन्दा छिटो ल्याएर गणना गर्ने तयारी भइरहेको छ ।

स्थानीय तह निर्वाचन ऐनमा तत्काल मतगणना गर्नुपर्ने व्यवस्था भएकाले १ जेठबाटै गणना सुरु गरिने आयोगका सचिव गोपीनाथ मैनालीले बताए । उनका अनुसार मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ल्याइसकेपछि कार्यतालिका प्रकाशित गरी गणना सुरु गर्ने गरी काम भइरहेको छ ।

स्थानीय तह निर्वाचन ऐनको मतगणनाको व्यवस्थाअनुसार मतदान भएका सबै मतपेटिका बुझिसकेपछि मतगणना सुरु गर्नुपर्नेछ । मतगणना गर्ने स्थान तोकी निर्वाचन अधिकृतले सूचना प्रकाशन गर्नुपर्नेछ । ‘स्थानीय तहको कुनै पदको निर्वाचनका लागि मतदान गर्न निर्धारित सबै मतदान केन्द्रमा मतदानको लागि प्रयोग गरिएका सबै मतपेटिका प्राप्त गरिसकेपछि निर्वाचन अधिकृतले मतगणना गर्ने मिति र समय तोकी उम्मेदवारको जानकारीका लागि सूचना प्रकाशन गर्नु पर्नेछ’ ऐनमा उल्लेख छ । नयाँ पत्रिकामा खबर छ ।

कहाँ कहाँ हुन्छ मतगणना ?

निर्वाचन आयोगका अनुसार ३४ जिल्लाका २८३ स्थानीय तहमा मतगणना हुनेछ । निर्वाचन अधिकृत रहेको कार्यालयमा मतपेटिका जम्मा गरेपछि मतगणना सुरु गरिनेछ । त्यसका लागि मुख्य निर्वाचन अधिकृतले कार्यतालिकासहितको सूचना जारी गर्नेछ । त्यसपछि २८३ स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालयमा मतगणना हुनेछ ।

अधिकांश पुरुष उम्मेदवार

२८३ स्थानीय तहको निर्वाचनममा उम्मेदवारी दिएका ४९ हजार ३३७ मध्ये १९ हजार ३३२ महिला उम्मेदवार छन् । आयोगले तयार गरेको अन्तिम तथ्यांकअनुसार कुल उम्मेदवारमध्ये पुरुष ६०.८२ प्रतिशत र महिला ३९.१८४ प्रतिशत छन् । आयोगका अनुसार नगरपालिका प्रमुख तथा गाउँपालिकाको अध्यक्षमा पुरुष एक हजार ७२३ जना र महिला १५७ जना रहेका छन् । त्यसैगरी, नगर उपप्रमुख तथा उपाध्यक्षमा पुरुष २५७ र महिला एक हजार १२७ उम्मेदवार छन् । त्यसैगरी, वडाध्यक्षमा १० हजार २९६ पुरुष र महिला ४४८ जना रहेका छन् । यस्तै, वडा सदस्य दुईजनाका लागि पुरुष १७ हजार ७२९, महिला ९५१, महिला वडा सदस्य नौ हजार ८३ जना र दलित महिला वडा सदस्यमा सात हजार ५२६ जनाको उम्मेदवारी कायम रहेको छ ।

आयोगले स्पष्टीकरण सोध्यो

आचारसंहिताविपरीत फेसबुकमा स्टाटस राखेको भन्दै निर्वाचन आयोगले माओवादी केन्द्रकी सचेतक सीता नेपालीलाई स्पष्टीकरण सोधेको छ । नेपालीले आयोग प्रवक्ताको भनाइ भन्दै आफ्नो फेसबुकमा अहिलेसम्म निर्विरोध सदस्य भन्ने बेहोरामा माओवादी केन्द्र–१४५, कांगे्रस–१३५, एमाले–२५, राप्रपा–२, नयाँ शक्ति–१ भनी राखेको भन्दै २४ घन्टाभित्र प्रमाणसहित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो ।

त्यसैगरी, निर्वाचन आयोगले धादिङको थाक्रे गाउँपालिकाका एमाले अध्यक्षका उम्मेदवार रामकुमार आचार्य र उपाध्यक्ष उम्मेदवारलाई निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भन्दै २४ घन्टाभित्र पेस गर्न भन्दै स्पष्टीकरण सोधेको छ । आयोगको निर्णयमा भनिएको छ, ‘२५ वैशाखमा तीन ट्रक प्रचारकसहितको स्कारपियो गाडी, ब्यानर एवं दल र निर्वाचन चिन्हसहितको टि–सर्ट निर्वाचन आचारसंहिता २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता २०७३ विपरीत मोटरसाइकल र्यालीसमेत निकाली निर्वाचन प्रचार–प्रसार गरेकाले हदैसम्मको कारबाही किन नगर्ने ? पत्र प्राप्त भएको २४ घन्टाभित्र आयोगमा स्पष्टीकरण पेस गर्न आदेशनुसार अनुरोध छ ।’

सामान्य विषय समेटेर १५ जेठमैं बजेट

संवैधानिक व्यवस्थाअनुसार १५ जेठमा बजेट ल्याउन सत्तारुढ कांग्रेस र माओवादी केन्द्रबीच सहमति भएको छ । नयाँ कार्यक्रम नसमेटेर आउने त्यस्तो बजेटमा प्रतिपक्षी एमाले पनि सकारात्मक रहेको दाबी माओवादी प्रवक्ता पम्फा भुसालले गरिन् । ‘सामान्य नीतिगत कुराहरू मात्र समेटेर बजेट ल्याउने कुरा भएको छ,’ भुसालले भनिन्, ‘संविधानको व्यवस्थाअनुसार बजेट १५ जेठमै आउँछ, तर बजेटमा सामान्य नीतिगत पक्ष मात्र समेटिन्छन्, नयाँ कार्यक्रम आउँदैनन् ।’ कांग्रेस नेता गोपालमान श्रेष्ठले पनि बजेट १५ जेठमै आउने बताए । ‘एमाले संविधान संशोधनमा सहमतिमा आए मात्र बजेट सार्न सकिन्छ,’ उनले भने ।

सामान्य नीतिगत पक्षलाई मात्र समेटेर बजेट ल्याउने भएपछि दोस्रो चरणको निर्वाचन ३१ जेठमै हुने लगभग पक्का भएको छ । तर, निर्वाचनअघि संविधान संशोधन गर्नुपर्ने विषय पनि दलहरूका लागि चुनौती छ । दोस्रो चरणको निर्वाचनअघि नै संविधान संशोधन गर्नुपर्ने मधेसी दलहरूको माग छ ।

के भन्छन् दलहरू ?

मतदानलगत्तै गणना

‘आयोगले दोस्रो चरणको निर्वाचनसम्म मतगणना रोक्न हुन्न भनेको छ । लामो समय मतपेटिका सुरक्षित गर्नेदेखि निर्वाचन अधिकृतलाई सँगै राख्ने अवस्था पनि व्यावहारिक हुँदैन । प्रमुख दलबीचको छलफल निर्वाचनलगत्तै गणना गर्ने सहमतिनजिक छ ।’ -सुरेन्द्र कार्की, सञ्चारमन्त्री

सम्भव भए त्यही राति गन्नुपर्छ

‘यो संसद्को चुनाव होइन । भोट खसेपछि धेरै दिन राख्नुहुँदैन । हजारौँ उम्मेदवार र भोटरले पनि महिनौँ कुर्नुपर्छ भन्ने पक्ष व्यावहारिक हुन्न । ३१ वैशाखमा चुनाव भएपछि सम्भव भए त्यही रातिबाट नभए १ जेठमा मतगणना हुन्छ ।’  – गोपालमान श्रेष्ठ, कांग्रेस नेता

हामीलाई मान्य छैन

‘मतदानलगत्तै मतगणना गर्ने निर्वाचन आयोगको एकपक्षीय तयारी हामीलाई मान्य छैन । यसले निर्वाचनको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाउँछ । आयोगले अहिले जे गरिरहेको छ, यसले निर्वाचन आचारसंहिता र विश्वव्यापी मान्यता उल्लंघन गर्छ ।’ -योगेश भट्टराई, एमाले सचिव । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved