गच्छदारको सत्ता यात्रा:२६ वर्षमा १२ औं पटक मन्त्री

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 09, 2017 | 08:25:24 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार उपप्रधानमन्त्री तथा संघीय मामिला तथा स्थानीय विकासमन्त्री नियुक्त भएका छन् । योसहित उनी १२आैँ पटक मन्त्रिपरिषद्मा पुगेका छन् । लोकतान्त्रिक फोरमलाई गच्छदारसहित ३ मन्त्रालय दिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार सरकारमा सहभागी गराएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ गराएकी छिन् ।

१५ पुस ०४८ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा सञ्चार राज्यमन्त्री बनेर सत्ता–यात्रा सुरु गरेका गच्छदार २६ वर्षमा १२ औं पटक मन्त्री बनेका हुन । गच्छदार ४ मंसिर ०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा सुनसरी–३ बाट मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट निर्वाचित भएका थिए ।

भौतिक योजना मन्त्री सात पटक

दर्जन पटक मन्त्रीको कुर्सीमा बसेका गच्छदारले मन्त्री बन्ने निश्चित भएपछि सर्वप्रथम रोज्ने निर्माण तथा यातायात मन्त्रालय हो । उनले अहिलेसम्म ६ पटक यो मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । तर, तथ्याङ्क हेर्दा मन्त्रालयको नाम भने पटक–पटक फेरिएको छ । उनी पहिलो पटक शेरबहादुर देउवा नेतृत्वको सरकारमा ०५२ मा मन्त्री बन्दा निर्माण तथा यातायात मन्त्रालय रोजे । त्यसपछि सूर्यबहादुर थापा नेतृत्वको सरकारमा पनि उनलाई त्यही मन्त्रालय दिइयो । थापा नेतृत्वको सरकार ढलेपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा पनि गच्छदारले सो मन्त्रालय छाडेनन् ।

त्यसपछि मुलुकमा गणतन्त्र स्थापना भएपछि मन्त्रालयको नाम फेरेर भौतिक योजना तथा निर्माण मन्त्रालय बनाइयो । ०६५ मा प्रचण्ड नेतृत्वको सरकारमा सहभागि भएका गच्छदारले त्यही मन्त्रालय रोजे । प्रचण्डले राजिनामा दिएपछि बनेको माधवकुमार नेपाल नेतृत्वको सरकारमा पनि उनी त्यही मन्त्रालयमा मन्त्रीको कुर्सीमा आसिन भए । यसअघिको केपी शर्मा ओली नेतृत्वको सरकारमा पनि गच्छदारले सोही मन्त्रालय रोजेका थिए ।

यो मन्त्रालय बाहेक गच्छदार एक पटक सञ्चार राज्यमन्त्री, एक पटक पर्यटन तथा नागरिक उड्डयन मन्त्री, दुई पटक जलस्रोत मन्त्री, एक पटक गृहमन्त्री र अहिले स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

चौथो पटक उपप्रधानमन्त्री

सोमबार उपप्रधान तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हालेसंगै गच्छदार ४ पटक उपप्रधानमन्त्री बनेका छन् । गच्छदार माधवकुमार नेपाल नेतृत्वमा ०६६ मा गठित सरकारमा पहिलो पटक उपप्रधानमन्त्री बनेका थिए । त्यसपछि उनी डा. बाबुराम भट्टराई र केपी शर्मा ओली प्रधानमन्त्री बनेको वेला उपप्रधानमन्त्री बने ।

गणतन्त्र पछि पाँचपटक

गच्छदार १५ जेठ २०६५ मा नेपालमा गणतन्त्र घोषणा भएपछि निर्माण भएका ७ मध्ये ५ सरकारमा सहभागि भए । ०६४ मा भएको संविधानसभा निर्वाचनबाट गठित संविधानसभाको बैठकले १५ जेठ ०६५ मा नेपाललाई गणतन्त्रान्त्रिक मुलुक घोषणा गरेको थियो । त्यसपछि प्रचण्डको नेतृत्वमा दुई पटक, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, सुशील कोइराला र केपी शर्मा ओलीको नेतृत्वमा गरी ७ सरकार बने । ति मध्ये गच्छदार खनाल र कोइराला नेतृत्वको सरकारमा मात्र सहभागी भएनन ।

चार पार्टीबाट मन्त्री

गच्छदार अहिलेसम्म चार पार्टीका नामबाट मन्त्री बनेका छन् । उनी २०५९ सालसम्म नेपाली कांग्रेसका नेताका रुपमा मन्त्री बने । २०६५ मा तत्कालिन एमाओवादी अध्यक्ष ‘प्रचण्ड’ नेतृत्वको सरकारमा मधेसी जनअधिकार फोरमका तर्फबाट मन्त्री बने । २१ वैशाख ०६६ मा प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि ११ जेठ ०६६ मा एमाले नेता माधवकुमार नेपाल प्रधानमन्त्री बने । नेपाललाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा फोरमभित्र विवाद भयो । त्यही विवादका कारण गच्छदारले पार्टी फोडेर मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) गठन गरी नेपाल नेतृत्वको सरकारमा उपप्रधान तथा भौतिक योजना र निर्माण मन्त्री बने । त्यही पार्टीबाट डा. भट्टराई र ओली नेतृत्वमा पनि मन्त्री बने । अहिले नेपाल लोकतान्त्रिक फोरमको नामबाट मन्त्री बनेका छन् । नयाँ पत्रिकामा खबर छ ।

लोकतान्त्रिक फोरमलाई तीन मन्त्रालय

प्रचण्ड नेतृत्वको सरकारमा लोकतान्त्रिक फोरमले तीन मन्त्रालय पाएको छ । सो पार्टीका महामन्त्री मिनराज थारुका अनुसार गच्छदारले संघीय मामीला तथा स्थानीय विकास मन्त्रालय, जितेन्द्रनारायण देवले सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र डा. गोपाल दहितले भूमिसुधार तथा व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनीहरु सबैले पद तथा गोपनियताको सपथ लिएर सोमबार नै मन्त्रालय पुगेर कार्यभार सम्हालेका छन् । देव लोकतान्त्रिक फोरमका केन्द्रिय सदस्य हुन भने दहित बरिष्ठ नेता हुन । दहितले केहि समय अघि मात्रै गच्छदार नेतृत्वको पार्टीसंग आफु अध्यक्ष रहेको थरुहट तराई पार्टी नेपाल एकिकरण गरेका थिए । उनलाई पहिलो वरियताको उपप्रधानमन्त्री दिइएको सो पार्टीका महामन्त्री रामजनम चौधरीले जानकारी दिए ।

गच्छदारको सत्ता यात्रा 

१. गिरिजाप्रसाद कोइराला नेतृत्वमा १५ पुस ०४८ देखि १४ मंसिर ०५१ सम्म सञ्चार राज्यमन्त्री

२. शेरबहादुर देउवा नेतृत्वमा ६ असोज ०५२ देखि २९ फागुन ०५३ सम्म निर्माण तथा यातायातमन्त्री

३. सूर्यबहादुर थापा नेतृत्वमा १८ मंसिर ०५४ देखि २ वैशाख ०५५ सम्म निर्माण तथा यातायातमन्त्री

४. गिरिजाप्रसाद कोइराला नेतृत्वमा ८ वैशाख ०५५ देखि १० पुस ०५५ सम्म निर्माण तथा यातायातमन्त्री

५. कृष्णप्रसाद भट्टराई नेतृत्वमा १७ जेठ ०५६ देखि २७ फागुन ०५६ सम्म पर्यटन तथा नागरिक उड्डयनमन्त्री

६. कृष्णप्रसाद भट्टराईकै नेतृत्वमा २७ फागुन ०५६ देखि ८ चैत ०५६ सम्म जलस्रोतमन्त्री

७. शेरबहादुर देउवा नेतृत्वमा ११ साउन ०५८ देखि १९ असोज ०५९ सम्म जलस्रोतमन्त्री

८. पुष्पकमल दाहाल नेतृत्वमा १५ भदौ ०६५ देखि ११ जेठ ०६६ सम्म भौतिक योजना तथा निर्माणमन्त्री

९. माधव नेपाल नेतृत्वमा ११ जेठ ०६६ देखि १२ भदौ ०६८ सम्म उपप्रधान एवं भौतिक योजना तथा निर्माणमन्त्री

१०. डा. बाबुराम भट्टराई नेतृत्वमा १२ भदौ ०६८ देखि १ चैत ०६९ सम्म उपप्रधान एवं गृहमन्त्री

११. केपी ओली नेतृत्वमा २४ असोज ०७२ देखि ९ साउन ०७३ सम्म उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री

सरकारको औचित्य समाप्त भयो : एमाले

गच्छदारको सत्तारोहणलाई प्रमुख प्रतिपक्ष एमालेले ‘सरकारको अन्तिम सास’ भनेर टिप्पणी गरेको छ । ‘विजय गच्छदारलाई सहभागी गराएर सरकार विस्तार गर्ने कुरा अन्तिम उपाय लगाएर बाँच्ने कोसिस मात्रै हो । आयातीत डाक्टरमार्फत उपचार गराए पनि नेचुरल्ली सरकार ‘डेथ’ भइसकेको छ । ३१ वैशाखको निर्वाचनले उचित परिणाम नदिए ३१ जेठसम्म पुग्दा कसोकसो एमालेले सरकारको नेतृत्व गर्नुपर्ने सम्भावना पनि उत्तिकै देखिएको छ’, एमाले सचिव योगेश भट्टराईले भने  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved