
भित्रको झगडा भित्रै मिलाउन छाडेर बिनाबित्थामा राष्ट्रपतिलाई मुछ्दै राप्रपामा अर्को भाँडभैलो छ । स्थानीय निर्वाचन सफल पार्न भन्दै सरकारमा गएको राप्रपा दुई हप्ता नबित्दै प्रधानन्यायाधीशमाथि महाअभियोगको विरोधका नाममा सरकारबाट बाहिरिनुपछाडिको अन्तर्कथा अर्कै छ।
दिनमा तीनचोटि कुरा फेरेर १५ गते राप्रपाले सरकार छाडेको हो। त्यसदिन बिहान ८ बजे लोकेन्द्रबहादुर चन्द, पशुपतिसमशेर राणा र कमल थापाको हाइकमाण्ड बस्यो। सहमति थियो, सकभर सरकारबाट नहट्ने।
हट्नै परे कमल थापा निस्कने र त्यो ठाउँमा सुशील श्रेष्ठलाई पठाउने ! त्यसपछि केन्द्रीय समितिको बैठकमा दिउँसो छलफल शुरु भयो। हरिबहादुर बस्न्यात बोल्न थाले। बोल्ने क्रम आधाउधी भएपछि एक बजे राष्ट्रपतिकहाँ जानु छ भनेर कमल थापा हिँडे । ५ बजेतिर जुटेर सरकारमा बस्ने कि छाड्ने सम्बन्धमा छलफल चल्दै थियो। अन्तिममा पशुपति समशेर बोलिरहेका थिए। तर, बीचैमा रोकेर कमल थापाले ल्यापटप खोली निर्णय नै सुनाइदिए। सरकार छाड्ने भनेर। अघिसम्म छलफलमा सहभागी भएर, त्यसको निष्कर्षका आधारमा अघि बढ्ने मनस्थितिका कमल थापा केही घण्टा हराउनुबित्तिकै त्यस्तो के कुराले प्रभाव पार्यो, जसबाट सरकार छाड्ने कठोर निर्णय लिनुपर्यो ? विश्लेषण गरियो, पक्कै पनि राष्ट्रपतिसंग कुरा भएपछि भड्किएको हुनुपर्छ भन्दै ।
चर्चा चल्यो, भारतले कांग्रेस-माओवादी गठबन्धन कायम गर्न खोजेको छ। १ वा २ गते प्रचण्डले राजीनामा दिने छन्। त्यसपछि नयाँ गठबन्धनको विकल्प खोजी शुरु हुन्छ। यसमा प्रधानमन्त्री बन्ने कमल थापाको महत्वाकांक्षा हुनसक्छ। किनभने, उनी यतिकै जुवा खेल्ने मान्छे हैनन् । जनआस्था साप्ताहिकमा खबर छ।