बिनिताको नाममा शुरुमै बबाल

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 10, 2017 | 09:13:04 AM मा प्रकाशित

laxmi  sunrise bank

दम होइन, दम्भले जन्मिएको राष्ट्रिय जनता पार्टी (राजपा)मा जग हाल्न नपाउँदै मारमुंग्री मच्चिएको छ । एकीकरणपछि पहिलो पटक बसेको बैठकमा लिगेसीदेखि लिएर एक जना महिला नेत्रीको विषयलाई लिएर बखेडा मच्चिएको हो । पञ्चपाण्डवको भीडमा पछाडि मिसिन आएका अनिल झाले यसरी बखेडा निकालिदिए कि उनको एउटा प्रस्तावकै कारण अस्ति १९ गते पहिलो बैठकमा झण्डै मारमुंग्री चल्यो । त्यही आगोमा घ्यु थपिदिए महेन्द्र यादवले आफ्नो पार्टी नेतृलाई उपाध्यक्ष बनाउनुपर्ने प्रस्ताव राखेर  ।

डिल्लीबजारमा अवस्थित अमृतभोग पार्टी प्यालेसमा पहिलो एकिकृत बैठक आयोजना गरिएको थियो । सोही बैठकमा शहीदहरुको फोटोसंगै गजेन्द्रनारायण सिंह र रामजनम तिवारीहरुको लिगेसी बोक्ने वा नबोक्ने भनेर गलफत्ती मच्चिएको हो । अनिल झाले गजेन्द्रनारायण सिंहको लिगेसी बोक्नुपर्ने प्रस्तावमात्र के राखेका थिए महेन्द्र यादव पड्किन थालिहाले, ‘राजपाले अब पुरानो नेतालाई बोक्दैन ।’ बिपीको लिगेसी देउवाले बिर्सिदा अहिले कांग्रेस पार्टी कसरी सिद्धिदै छ भनेर अनिल झाले उदाहरणसहित सम्झाउन पनि खोजे तर महेन्द्र बम्किइरहे । ‘यस्ता नेताको फोटो राखे कुनै पनि कार्यक्रममा आउँदिन ।’ उनको लोलीमा बोली मिलाउन आइपुगे राजकिशोर यादव । यसरी नेताबीच जुहारी चल्दै गर्दा गज्जुबाबुको नाममा अहिलेसम्म राजनीति हाँक्दै आएका राजेन्द्र महतो भने मौन देखिन्थे ।

कार्यक्रम अगाडी शहीदहरुको फोटोसंगै गजेन्द्रनारायण सिंह र रामजनम तिवारीको तस्विर राखिएको थियो । उक्त फोटोमा माल्यार्पण गर्नेमा अनिल एक्लै परे । सोही बैठकले हो पार्टीको नाम, झण्डा, चुनाव चिह्न, चल-अचल सम्पतिलगायत सबैको जिम्मा अध्यक्ष मण्डललाई दिने निर्णय गरेको । स्मरण रहोस्, कम्युनिष्ट विचारधाराबाट मधेश राजनीतिमा हामफालेका महेन्द्र यादवको बालकोटनजिकै तीन रोपनी जग्गामा सुविधासम्पन्न बंगला छ । सो बंगलामा अहिले पनि कम्युनिष्ट नेता मनमोहन अधिकारीको तस्विर झुण्ड्याइरहको देख्न पाइन्छ ।

यता, राजपा कहीँ-कतै दर्ता छैन । अध्यक्ष मण्डलकै भरमा चल्दै आएको छ तर सोही पार्टीमा धमाधम आफ्नो गोजीका उपाध्यक्ष र पदाधिकारी मनमौजी ढंगले थपिएपछि त्यहाँ विवाद शुरु भइसकेको छ । पदाधिकारीमा नियुक्त गर्छु भनेर वचन दिएको तर पूरा गर्न नसकेपछि महेन्द्र यादवको रोइलो छ । उनले विनिता यादवलाई उपाध्यक्ष बनाउने भनेर वचन दिएका रहेछन् । अस्तिको बैठकमा उनैको नाममा मारमुग्री मच्चिएको हो । उनको नाम आउनासाथ पालाको पैचों तिर्दै अनिल झाहरुले हुँदैन भन्दै उफ्रिएका थिए । विनिता यादव यसअघि महेन्द्रको पार्टी छोडेर उपेन्द्र, विजय गच्छदार सबैतिर घुमी अन्त्यमा महेन्द्रकै पार्टीमा फर्किएकी हुन् । राजपाको पदाधिकारी नियुक्ति दिलाउन नसकेपछि आजित भएका महेन्द्र यादवले माइन्युट सार्वजनिक होला कि भन्ने डरले जता आफू जान्छन्, उतै बोकेर हिँड्ने गरेका छन् । जनआस्था साप्ताहिकमा खबर छ  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved