निर्बाचनका कारण अर्थतन्त्र चलायमान, हेर्नुस के के को कारोबार ह्वात्तै बढ्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 13, 2017 | 07:23:29 AM मा प्रकाशित

laxmi  sunrise bank

राजधानी काठमाडौंसहित तीन प्रदेशमा हुन लागेको पहिलो चरणको स्थानीय तह निर्वाचनले अर्थतन्त्रलाई पनि चलायमान बनाएको छ । निर्वाचनमा करिब ५० हजार उम्मेदवार छन् । निर्वाचन आयोगले उनीहरूले पद र तहअनुसार गर्न सक्ने खर्चको सीमा तोकिदिएको छ । तर, निर्वाचन प्रचार–प्रसार हेर्दा अधिकांश उम्मेदवारको खर्च आयोगले तोकिदिएको सीमाभन्दा बढी हुने देखिएको छ ।

यतिवेला जताततै पार्टी र चुनाव चिह्न अंकित झन्डा टाँगेको देखिन्छ । एउटै तहमा चुनाव चिह्न अंकित हजारौँ टोपी र टि–सर्ट छापेको अनुमान गर्न सकिन्छ । त्यस्तै पर्चा पम्प्लेटलगायतका प्रचार सामग्री पनि हजारौँको संख्यामा छापेर वितरण गरिएका छन् । बाजागाजासहितको र्याली ठाउँ–ठाउँमा देख्न सकिन्छ ।

यी सबैको खर्च जोड्दा तोकिएको सीमाले नभ्याउने स्पष्ट हुन्छ । संसारभर नै निर्वाचनको समयमा आर्थिक गतिविधि बढी हुन्छ । नेपालजस्तो अल्पविकसित देशमा त झन् निर्वाचनमा आर्थिक चलखेलसमेत हुने गरेकाले अर्थतन्त्र बढी नै चलायमान हुन्छ । निर्वाचनले बैंक तथा वित्तीय संस्थाको तरलता व्यवस्थापनमा पनि सहयोग पुग्ने केही अर्थशास्त्रीको भनाइ छ ।

खसीको माग बढ्यो, कुखुराको घट्यो

चौपाया खरिद–बिक्री संघका संरक्षक दीपक थापाका अनुसार अहिले राजधानीमा खसीको मूल्य दसैँको हाराहारीमा छ । उनले भने, ‘मूल्य दसैँको हाराहारीमा पुगेको छ, तर माग पनि बढेको छ ।’ थापाका अनुसार दसैँमा जिउँदो खसीको मूल्य प्रतिकिलो पाँच सय रुपैयाँ पुगेको थियो । पछि त्यो चार सय ३० रुपैयाँसम्म झरेको थियो । तर, अहिले प्रतिकिलो चार सय ८५ रुपैयाँसम्ममा कारोबार भइरहेको उनले बताए । सामान्य अवस्थामा मासिक करिब २० हजार खसी खरिद–बिक्री हुने गरेकामा अहिले २५ हजारभन्दा बढी खरिद–बिक्री भएको उनले बताए । अहिले मासिक ६ करोड रुपैयाँभन्दा बढीको कारोबार छ ।

स्थानीय निर्वाचनले भोजभतेर बढे पनि राजधानीमा कुखुराको मासुको मूल्यमा भने फरक परेको छैन । वैशाख ४ गते जिउँदो ब्रोइलर प्रतिकेजी २ सय ६० रुपैयाँ कायम भएकोमा त्यो परिवर्तन भएको छैन । उपभोक्ताले भने कुखुराको मासु ३ सय ७० को हाराहारीमा किनिरहेका छन् । पोल्ट्री महासंघका उपाध्यक्ष नारायणहरि खत्रीका अनुसार उपत्यकामा दैनिक ३ लाख किलो कुखुराको मासु माग हुने गरेकामा अहिले ५ देखि १० प्रतिशतसम्म घटेको उनले बताए । उनका अनुसार मानिसहरू मतदानका लागि बाहिरिएकाले नै माग घटेको हो । माग घटे पनि मूल्य नघट्ने उनको भनाइ छ ।

फोनभन्दा एसएमएस बढी 
निर्वाचनका अन्तिम दिनहरूमा फोनकलभन्दा एसएमएस बढेको टेलिकम सेवा प्रदायकले बताएका छन् । निर्वाचनका वेला ग्रुप एसएमएस धेरै भएको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जनाइन् । ‘यो एक–दुई सातामा ६–७ लाख ग्रुप एसएमएस भएका छन्,’ उनले भनिन् । तर, फोनकल भने खासै नबढेको उनले बताइन् । सहरमा भन्दा गाउँमा बढी फोनकल भएको टेलिकमको तथ्यांक छ । ‘अन्य समयमा भन्दा यो दुई सातामा केही प्रतिशत मात्रै फोनकल बढेको छ । तर, इन्टरनेट डाटा प्रयोगमा उल्लेख्य वृद्धि भएको छ,’ उनले भनिन् । सूचना तथा जानकारी आदानप्रदानका लागि सामाजिक सञ्जाल चलाउँदा डाटाको प्रयोग अधिक भएको उनको भनाइ छ । एनसेलका कर्पोरेट कम्युनिकेसन एक्सपर्ट मिलनमणि शर्माले पनि फोनकलको तुलनामा एसएमएस आदानप्रदानको दर बढी रहेको बताए । ‘यो माहोलमा फोनकल तथा एसएमएस धेरै भएका छन्,’ उनले भने । अहिले नै तुलना गरेर यकिन तथ्यांक निकाल्न भने नसकिने
उनले बताए ।

छापाखानामा १५ देखि २० करोडको कारोबार
निर्वाचन आयोगको सूचना सामग्री मात्र होइन पार्टीहरूको पर्चा, पम्प्लेट, घोषणापत्र, टिसर्ट र टोपीमा चुनाव चिह्न तथा झन्डा छाप्ने उद्यम पछिल्ला दिनमा बढेको छ । नेपाल मुद्रण उद्योग महासंघका अध्यक्ष माधव केसीका अनुसार निर्वाचनका कारण १५ देखि २० करोड रुपैयाँसम्मको कारोबार भएको अनुमान छ । ‘त्यसमध्ये निर्वाचन आयोगले १० करोडजतिको छपाइ गरेको छ,’ उनले भने । सोसल मिडियाको प्रयोग, रेडियो र टेलिभिजनमा दिइने विज्ञापन र दूरसञ्चारको प्रयोगले तुलनात्मक रूपमा अघिल्ला चुनावको भन्दा छपाइको कारोबार घटाएको उनले बताए ।

काठमाडौं उपत्यकाको सबैभन्दा बढी छापाखाना रहेको बागबजारवरपर छाप्ने अर्डर दिन आउने र छापेर लानेको संख्या असंख्य छ । यो निर्वाचन हतारमा भएको र धेरै काम गर्न नसकिएकाले अर्को चुनावका लागि झन्डा तथा टिसर्ट छापेर राख्ने उनीहरूको योजना छ ।

मदिरा व्यवसाय बढेको छैन
चुनावी वातावरणमा मदिराको माग पनि बढ्ने सबैको अनुमान हुन्छ । तर, मदिरा व्यवसायी भने चुनावका कारण मदिराको व्यापार बढेको स्विकार्दैनन् । नेपाल मदिरा व्यवसायी महासंघका अध्यक्ष कृष्णप्रसाद नेपाल भन्छन्, ‘सहरी क्षेत्रमा मदिराको कारण चुनावी परिणाम तलमाथि हुने दिन गयो । ग्रामीण भेगमा घरायसी मदिराको बढी प्रयोग हुन्छ ।’

उनका अनुसार मदिरापान गर्नेले नियमित गर्ने गरेको र चुनावी वातावरणले त्यसलाई खासै असर नपार्ने उनको भनाइ छ । उनले थपे, ‘हिजो त्यो कार्यकर्ताले आफ्नो पैसाले खान्थ्यो भने आज नेताको पैसाले खाएको होला । तर, मागमा खासै असर परेको छैन ।’

रेस्टुरेन्टको व्यापार पनि घट्यो
चुनाव नजिकिएसँगै रेस्टुरेन्टहरू भने खाली हुन थालेका छन् । करिब ३ सय सदस्य रहेको रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान)ले भने फरक अनुभव गरिरहेको छ । दैनिक आउने ग्राहक पनि चुनावका कारण आउन छोडेकाले घाटामा सञ्चालन गरिरहेको रेवानका अध्यक्ष प्रमोदकुमार जैसवाल बताउँछन् । उनले भने, ‘कार्यकर्ता चुनावमा लागिहाले, कार्यकर्ताको पनि बिल तिर्नुपर्ने भएकाले नेता पनि आउन छोडे,’ उनले थपे, ‘एक सातादेखि हामी घाटामा छौँ, अब दुई दिन सबैलाई छुट्टी दिएर रेस्टुरेन्टहरू नै बन्द गर्ने कि भन्ने छलफलमा छौँ ।’

बाहिरिने ३० प्रतिशत बढे
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका कार्यबाहक अध्यक्ष डोलनाथ खनालले काठमाडौंबाट बाहिरिने यात्रुको संख्या करिब ३० प्रतिशतले बढेको बताए । उनले भने, ‘सामान्य समयमा दैनिक ३ हजार बस काठमाडौंबाट बाहिर जानेमा अहिले दैनिक ४ हजारदेखि ४ हजार ५ सयवटा गइरहेका छन् ।’ काठमाडौंबाट बाहिरिनेमध्ये छोटो दूरीमा जिप र लामो दूरीमा चल्ने बसहरूमा पनि यात्रुको चाप बढेको छ । चितवन, मकवानपुर, सिन्धुली, रामेछापलगायतका स्थानमा चल्ने जिप चुनावी प्रयोजनका लागि भाडामा लागेकाले पनि यातायातको अभाव भएको व्यवसायीको भनाइ छ । नयाँ  पत्रिका दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved