काठमाडौं महानगरमा एउटा मतपत्र गन्न करिब १० मिनेट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 16, 2017 | 08:29:00 AM मा प्रकाशित

laxmi  sunrise bank

पहिलो चरणको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मतगणना सोमबार तोकिएको समयभन्दा झन्डै ४ घन्टा ढिलो गरी सुरु भएको छ । 

राजनीतिक दलको सहमति अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिउँसो १२ बजेपछि वडा नम्बर १ बाट मतगणना प्रक्रिया अगाडि बढाएको थियो । तर, त्यसको केहीबेरमै पुनः मतगणना रोकियो ।

मत खन्याएको केहीबेरमै मुचुल्का नभेटिएको भन्दै फेरि मतगणना कार्य अधिकांश राजनीतिक दलले रोकेका थिए । करिब १ घन्टाको अन्तरमा मुचुल्का फेला परेपछि पुनः १ बजेदेखि काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको थियो ।

मतगणना सुरु भएको ५ घन्टापछि करिब साढे ५ बजे पहिलो नतिजा घोषणा गर्दै कुल १३० मत गणना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको थियो । एउटा मतपत्र गणना गर्नमा करिब ७ देखि १० मिनेटसम्म लाग्ने भएकाले मतगणनामा ढिलाइ भइरहेको निर्वाचन कार्यालयले जनाएको छ ।

पाँच घन्टामा १३० मत गणना
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दोस्रोपटक परिणाम घोषणा गर्दै मेयरमा एमालेले अगुवाइ गरेको बताएका थिए । पहिलो घोषणा अनुसार मेयरमा एमाले ३५, नेपाली कांग्रेस २३, विवेकशील नेपाली २५, साझा पार्टी २६, माओवादी केन्द्रले २ मत प्राप्त गरेका थिए ।

महानगरपालिकामा नै मतपत्र बदरको संख्या बढेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयको सुरुको नतिजाअनुसार मेयरमा १३ र उपमेयरमा २४ वटा मतपत्र बदरको छ ।

पहिलो दिनको मतगणनाको राति ९ बजेसम्मको नतिजाअनुसार नेकपा एमालेको अग्रता रहेको देखिएको छ । मतगणनाअनुसार एमालेका विद्यासुन्दर शाक्य ६६, कांग्रेसका राजुराज जोशी ४६, माओवादी केन्द्रका सर्वोत्तम डंगोल ७, साझा पार्टीको किशोर थापा ५७ , विवेकशील नेपालकी रञ्जु दर्शना ३७ र पवित्र बज्राचार्यले ४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनायो । त्यो वेलासम्म २ सय ७० वटा मतपत्र गणना भएको थियो ।

एक ठाउँमा मात्र गन्दा ढिलाइ
एउटा समूह बनाएर मात्र मतगणना भइरहेकाले नतिजा आउनमा ढिलाइ भइरहेको निर्वाचन कार्यालयले जनाएको छ । एउटा मतपत्र सातपटक गणना गर्नुपर्ने भएकाले अझै बढी समय लागिरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय प्रमुख दीपेन्द्र अधिकारीले बताए । केही राजनीतिक दलहरूले एक समूहबाहेक अर्को समूहमा बाँडेर मतगणना गर्न नमान्नु पनि ढिलाइको अर्को कारण रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

मंगलबारदेखि दुई समूहमा गणना गरिने
महानगरपालिकामा धेरै मत खसेकाले एउटा समूहबाट मतगणना गरेर चाँडै नतिजा नआउने मुख्य निर्वाचन अधिकृतको कार्यालयको विश्लेषण छ । सबै उम्मेदवारहरूको नतिजा आउन धेरै समय लाग्ने भएकाले मंगलबारदेखि थप समूह बनाएर गणना गर्ने तयारी गरेको मुख्य अधिकृत अधिकारीले बताए । उनका अनुसार भोलिदेखि थप एउटा समूह बनाई २ वटा समूहबाट गणना गरिन्छ ।

महानगरपालिकामा करिब १ लाख ९८ हजारभन्दा बढीको हाराहारीमा मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । काठमाडौंको ३२ वटा वडाबाट सदस्यदेखि मेयरसम्म गरी विभिन्न पदमा ८ सय ६७ जनाले उम्मेदवारी दिएका छन् । मेयरमा २८, उपमेयरमा १३, वडा अध्यक्षमा २ सय १९ र वडा सदस्यमा ६ सय ५ जनाले उम्मेदवारी दिएका छन् । तर, महानगरपालिकामा सदस्यदेखि मेयरसम्मका लागि १ सय ६९ जना चाहिएकोमा ६ सय ९८ जनाभन्दा बढी प्रतिस्पर्धी छन् । नयाँ पत्रिका दैनिकमा खबर छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved