प्रधानमन्त्रीले ८ गते राजिनामा दिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 18, 2017 | 09:14:41 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न जेठ ८ गते राजीनामा दिने मनस्थिति बनाएका छन् । कांग्रेससँग भएको समझदारीअनुसार दाहालले स्थानीय तहको दोस्रो चरणको चुनावअगावै राजीनामा दिने भएका हुन् । 
प्रधानमन्त्रीले ८ गते संसद्लाई सम्बोधन गरी राजीनामा दिने तयारी गरेको माओवादी केन्द्रका नेता वर्षमान पुनले बताए । ‘भोलि (बिहीबार) या पर्सि (शुक्रबार) यो हिउँदे अधिवेशन बन्द हुन्छ, अनि ८ गते वर्षे अधिवेशन बोलाएर त्यसै दिन संसद्लाई सम्बोधन गरी प्रधानमन्त्रीले राजीनामा दिने सामान्य तयारी छ,’ उनले कान्तिपुरसँग भने, ‘दोस्रो चरणको स्थानीय तहको चुनाव नयाँ सरकारले गर्छ ।’
गत साउन १९ गते प्रधानमन्त्री नियुक्त दाहालले साढे ९ महिनापछि कांग्रेससँग भएको सहमति पालना गर्दै यही गठबन्धनलाई निरन्तरता दिन चाहेका हुन् । कांग्रेस र माओवादी केन्द्रबीचको गठबन्धन निर्माणकै बेला आलोपालो सरकारको नेतृत्व लिने लिखित समझदारी थियो ।
सार्वजनिक नगरिएको ५ बुँदे उक्त समझदारीको ३ नम्बर बुँदामा आलोपालो सरकारको नेतृत्वबारे उल्लेख छ, जसमा दाहालले चैत मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्ने र त्यसपछिको चरणमा कांग्रेस सभापति देउवाले सरकारको नेतृत्व लिने भन्ने छ । चैत मसान्तभित्र चुनाव सम्भव नभएपछि दाहाल आफैंले वैशाख ३१ को पहिलो चरणको चुनावपछि राजीनामा दिनेमा कांग्रेस नेताहरूलाई आश्वस्त पार्दै आएका थिए । उनले सोमबार कांग्रेस सभापति देउवासँगको भेटमा पनि ८ गते राजीनामा दिने बताए । 
सहमतिअनुसार कांग्रेस र माओवादी केन्द्र गठबन्धनबाटै सरकार बन्नेछ । देउवा नेतृत्वको सरकारले स्थानीय तहको जेठ ३१ को दोस्रो चरणको चुनाव गराउने छ । त्यसपछिका प्रदेश र संघीय संसदको चुनाव सम्पन्न गरी संघीय संसद् नआएसम्म देउवाले सरकारको नेतृत्व गर्ने समझदारीमा उल्लेख छ । 
बालुवाटार स्रोतका अनुसार केही दिनयता प्रधानमन्त्री दाहालले आफू निकटस्थहरूसँग सत्ता लम्ब्याउने रहर आफूलाई नभएको भन्दै कांग्रेससँगको समझदारी इमानदारिताका साथ पालना गर्ने बताउँदै आएका छन् । नयाँ सरकार निर्माण, संविधान संशोधनलगायत विषयमा बुधबार साँझ पनि बालुवाटारमा वार्ता भएको थियो । 
बजेट भने काम चलाउ सरकारबाटै आउने भएको छ । जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता रहेकाले सरकारले कुनै नयाँ कार्यक्रम समावेश नगरी ‘काम चलाउ बजेट’ ल्याउने तयारी गरेको कांग्रेसका एक मन्त्रीले बताए । 
‘काम चलाउ सरकारले काम चलाउ बजेट नै ल्याउँछ, चुनावपछि नयाँ कार्यक्रम समावेश भएको पूरक बजेट आउनेछ,’ ती मन्त्रीले भने, ‘चुनावको आचारसंहितालाई ध्यानमा राखेरै सरकारले काम चलाउ बजेट ल्याउन लागेको हो ।’ 
प्रधानमन्त्री दाहालले राजीनामा दिएपछि सरकार बन्न छिटोमा डेढ साता लाग्छ । संविधानको धारा २९८ को उपधारा २ को व्यवस्थाअनुसार सहमतिका सरकारका लागि एक साताको समयसीमा तोक्नुपर्ने व्यवस्था छ । त्यसपछि मात्रै बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न संविधानको धारा २९८ को उपधारा ३ आकर्षित हुन्छ ।
दाहालले जेठ ८ मा राजीनामा दिने भएपछि ‘वेटिङ’ प्रधानमन्त्री देउवाले संविधान संशोधन प्रक्रिया अघि बढाउने र राष्ट्रिय जनता पार्टीलाई पनि सरकारमा ल्याउने प्रयास गरेका छन् । कांग्रेस नेताहरूका अनुसार राजापाका नेताहरूसँग सभापति देउवाले यस सम्बन्धमा अनौपचारिक संवाद थालिसकेका छन् । 
माओवादी नेता पुनले भने तत्काल कांग्रेस, माओवादी केन्द्र र लोकतान्त्रिक फोरम मिलेर सरकार बन्ने बताए । ‘मधेस केन्द्रित दलहरूलाई पनि ल्याउनुपर्छ भन्नेमा हामी छौं,’ उनले भने, ‘तर मैले तत्काल मधेस केन्द्रित दल सरकारमा आउने सम्भावना देखिरहेको छैन ।’ कान्तिपुर दैनिकमा खबर छ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved