निर्वाचनको परिणाम अपेक्षित नआएको कांग्रेसको निष्कर्ष, देउवा र पौडेल पक्षबीच आरोप प्रत्यारोप

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 19, 2017 | 08:04:43 AM मा प्रकाशित

laxmi  sunrise bank

कांग्रेसले पहिलो चरणको स्थानीय निर्वाचनको परिणाम अपेक्षित नआएको निष्कर्ष निकालेको छ । कमजोरी सच्याएर दोस्रो चरणको निर्वाचनमा सफल हुने उसको योजना छ ।

‘जति राम्रो हुनुपर्ने सोचेका थियौँ, त्यति राम्रो भएको छैन भन्ने परिणामले देखाइरहेको छ,’ बिहीबार पदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यहरूको बैठकपछि महामन्त्री डा. शशांक कोइरालाले भने, ‘कांग्रेस र एमाले दुवैको मिश्रित परिणाम आइरहेको छ । अब अहिले देखिएका गल्तीलाई सच्चाउँदै दोस्रोमा हामी प्रभावकारी बनेर जाउँ भन्ने भएको छ ।’

-पौडेल पक्ष भन्छ– भोट घट्नुमा देउवाको कमजोरी

-उदारवादी हुँदा विवेकशील र साझाले भोट काटे

– अब ध्यान दोस्रो चरणमा, मधेसलाई साथमा लिएर जाने

केन्द्रीय कार्यालय सानेपामा भएको बैठकमा पहिलो चरणको निर्वाचन परिणाम र प्रदेश नं. १, २, ५ र ७ मा ३१ जेठमा हुने निर्वाचनको विषयमा छलफल भएको थियो । बैठकमा सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरू गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, कृष्ण सिटौला, डा. रामशरण महत, ज्ञानेन्द्रबहानुर कार्की, महेश आचार्यसहितका नेता सहभागी थिए ।

देउवाले भने– दोस्रोमा करेक्सन गरौँ 

कांग्रेस सभापति शेरबहादुर देउवाले अपेक्षित नतिजा नआए पनि २० वर्षपछि निर्वाचन हुनुलाई सफलता मान्नुपर्ने बताएका छन् । अब दोस्रो चरणको निर्वाचनमा केन्द्रित हुनुपर्ने उनले बताएका थिए । ‘हामीले जति सोचेका थियौँ, त्यस्तो नतिजा नआएको हो । तर, अझै पनि परिणाम आउन बाँकी छ,’ देउवाको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘२० वर्षपछि निर्वाचन गर्यौँ, यो नै सफलता हो । अब पहिलेका विषयलाई करेक्सन गरौँ ।’

कहाँ के कमजोरी भयो ? 

सहरी क्षेत्रमा पार्टीको पक्षमा माहोल नबनेकोमा कांग्रेस बैठकमा समीक्षा भएको छ । अन्तिम समयमा उम्मेदवार चयन, तालमेल तथा प्रचारलगायतका विषयमा समीक्षा भएको थियो ।

‘सहरी क्षेत्र कांग्रेसको पुरानैदेखिको प्रभाव क्षेत्र हो । तर, अहिले जसरी भोटको ट्रेन्ड देखिएको छ, यस्तो हुने सोचेका थिएनौँ,’ बैठकमा सहभागी केन्द्रीय सदस्य डा. रामशरण महतले । पूरै नतिजा आएपछि फेरि समीक्षा बैठक गर्ने तयारी कांग्रेसको छ ।

उदारवादी हुँदा साझा र विवेकशील पार्टीले भोट काटे

कांग्रेस उदारवादमा विश्वास गर्ने पार्टी भएकैले नयाँ पार्टीहरूले भोट काटेको केन्द्रीय सदस्य रामशरण महत बताउँछन् । ‘काठमाडौंमा हामीले अत्यधिक मत ल्याउनुपर्ने हो । तर, प्रजातन्त्र र उदारवादी भएकै कारण हाम्रो भोट साझा र विवेकशील पार्टीले काटे,’ उनले भने ।

यसकारण घट्यो भोट

कांग्रेस बैठकमा सभापति शेरबहादुर देउवा पक्षधरले भोट घट्नुको कारणबारे खुलेर बहस गरेनन् । तर, नेता रामचन्द्र पौडेल पक्षधर नेताहरूले भोट घट्नुमा पछिल्लो समय सरकार र अन्तिम समयमा उम्मेदवार चयनलगायतका पार्टीका निर्णय जिम्मेवार रहेको आरोप लगाएका छन् । ‘शेरबहादुरजीलाई चित्त बुझ्दैन, तर चितवनमा तालमेल गर्दा र सरकारले पछिल्लो समय गरेका निर्णय हाम्रा लागि प्रत्युत्पादक भयो,’ नेता रामशरण महतले नयाँ पत्रिकासित भने, ‘यस्तै निर्णयले कांग्रेसको भोटमा असर परेको हो ।’

आइजिपी प्रकरण, प्रधानन्यायाधीशविरुद्धको महाअभियोग, उम्मेदवार चयनमा कमजोरी भएकाले पनि भोट घटेको दाबी पौडेल पक्षको छ । पौडेल पक्षका नेताहरूले स्थानीय तहका नेता र कार्यकर्ताको चाहनाविना गठबन्धन गर्न नहुने सुझाब पनि बैठकमा राखेका थिए । पौडेलले पहिले देखिएका कमजोरीलाई केलाएर अघि बढ्न नसके दोस्रो चरणको निर्वाचनसमेत पार्टीलाई अप्ठ्यारो पर्ने धारणा राखेका थिए ।

अब दोस्रो चरणमा केन्द्रित 

कांग्रेसले ३१ जेठमा हुने दोस्रो चरणको निर्वाचनमा सबै ध्यान केन्द्रित गर्ने र परिणाम अनुकूलको बनाउने निर्णय गरेको छ । ‘अहिले अपेक्षाअनुसार रिजल्ट आएन,’ केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘अब दोस्रो चरणमा ध्यान दिएर प्रभावकारी रूपमा अगाडि बढ्नुपर्छ भन्ने निर्णय भयो ।’

पहिलो चरणमा ढिलो उम्मेदवार चयन गर्दा समस्या आएको भन्दै कांग्रेसले ८ जेठसम्म उम्मेदवारको सूची पठाउन प्रदेश, १, २, ५ र ७ का जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ । उम्मेदवार चयन गर्दा अब जित्नेलाई प्राथमिकता दिइने कार्कीले दाबी गरे ।

मधेसलाई साथमा लिएर जाने

मधेसका समस्या समाधानको पहल गर्दै दोस्रो चरणको निर्वाचन सफल बनाउन अग्रसर हुने कांग्रेसको निर्णय छ । ‘मधेसको समस्या कसरी समाधान गर्न सकिन्छ भन्नेबारे सरकारले प्रयास गरिरहेको छ । अब कांग्रेसले पनि पहल गर्छ,’ केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘हामी संविधान संशोधन गरेर मधेसलाई समेत विश्वासमा लिएर निर्वाचनमा जान पहल गर्छौँ ।’ नयाँ पत्रिका दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved