बदर नभएको मत तर सदर पनि भएन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 20, 2017 | 08:58:34 AM मा प्रकाशित

laxmi  sunrise bank



ललितपुर महानगरपालिकाको जारी मतगणनामध्ये २० हजार मत गणना भइसक्दा उपप्रमुखमा एमालेको चुनाव चिह्न सूर्यमा छ हजार १२६ मत खस्यो । चितवन भरतपुर महानगरपालिकाको प्रमुखमा काँग्रेसको चुनाव चिह्नमा खसेको मत के गर्ने भन्ने विषयलाई नै मुख्य मुद्दा बनाएर मतगणना सुरु गर्न ढिलाइ भयो ।

विवाद यतिमै सीमित छैन । काठमाडौँ महानगरमा एमाले चुनाव चिह्न सूर्यमा खसेको मत पनि आफूले पाउनुपर्ने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका उपप्रमुखका उम्मेदवार राजाराम श्रेष्ठले निर्वाचन आयोगविरुद्ध कानुनी उपचार खोज्ने नै बताउनुभएको छ ।

सूर्य, रूख वा गाईमा आएका यस्ता मतपरिणाम अर्का दलका उम्मेदवारले दाबी गर्नुभएको एउटै आधार हो, चुनावमा भएको दलीय तालमेल । चुनावी तालमेलका कारण दलहरूले प्रमुख उपप्रमुखमध्ये एक/एक पद बाँडेर उम्मेदवार खडा गरे । तर, तालमेलमा रुष्ट मतदाताले सहमतिअनुसार उम्मेदवारलाई मत दिएनन् बरु आस्था अनुुसारका चिह्नमा मतदात गरे । फलस्वरूप उम्मेदवार नै नभएका चिह्नमा मत पर्‍यो ।

ललितपुरमा एमालेको उपप्रमुखको उम्मेदवार छैन । तर, सूर्य चिह्नमा दस हजार मत गन्दासम्म सूर्यमा छ हजारभन्दा बढी मत पाइएको छ । यस्तै, काठमाडौँमा पनि एमालेको उपप्रमुखको उम्मेदवार छैन तर काठमाडौँमा पनि उपप्रमुखमा सूर्यले मत पाएको छ ।

ललितपुर, काठमाडौँमात्र हैन निकै चासोपूर्वक हेरिएको सत्तारूढ दलहरूको गठबन्धन भरतपुर महानगरपालिकामा पनि प्रमुखमा नेकपा (माओवादी) केन्द्र र उपप्रमुखमा कांग्रेसको मात्र उम्मेदवार छन् । तर, भरतपुरमा पनि प्रमुखमा रूखमा समेत मत परेको छ ।

पोखरा महानगरमा समेत काँग्रेसको चिह्न रूख र माओवादी केन्द्रको चिह्नमा पनि मत परेको छ । पोखरामा प्रमुखमा काँग्रेस माओवादीमा पनि मत क्रस भएको छ । माओवादीको उम्मेदवार नभए पनि गोलाकार भित्रको हँसिया हथौडामा पोखरामा मत खसेको छ ।

मनोनयन दर्ताको अन्तिम समयमा दलहरूबीच भएको चुनावी तालमेललाई अधिकांश राजनीतिक दलका कार्यकर्ताले सहजतासाथ लिएन् । दलीय समीकरणको सामाजिक सञ्जालमा विरोध गरेका कार्यकर्ताका भनाइलाई क्षणिक आवेग भनियो । तर, जारी मतगणनाले भने दलीय सहमतिलाई कार्यकर्ताले अटेर गरेको प्रमाणित गरेको छ ।

क्रस भोटका कारण बदर मतको प्रतिशत पनि ह्वात्तै बढेको छ । निर्वाचन आयोगले भने मत सङ्केत गर्न नजानेर भएको बदर प्रतिशत कुल सदर मतको दुई प्रतिशतमात्र भएको दाबी गरेको छ ।

तर, आयोगले दाबी गरे पनि उम्मेदवार नभएको चिह्नमा पाएको सदर मतसमेत खेर जाने अवस्थामा छ । आयोगले भने दलीय तालमेलपछि उचित मतादाता शिक्षा दलहरूले पुर्‍याउन नसक्दा उम्मेदवार नभएको चिह्नमा मत गएको अनुमान गरेको छ । निर्वाचन आयोगले बिहीबार विज्ञप्ति प्रकाशन गरी बदर मत दुई प्रतिशत हाराहारीमा मात्र रहेको जनाएको थियो ।

के हुन्छ मतको हैसियत ?

उम्मेदवार नै नभए पनि परेको मत बदर हुने अवस्थाको छैन । तर, त्यस्तो मत अर्को गठबन्धनको उम्मेदवारले पाउने अवस्था पनि छैन । स्थानीय तह निर्वाचन निर्देशिकाअनुसार यस्तो मत पनि बदर नै हुन्छ ।

आयोगले तयार पारेको निर्देशिकाले उम्मेदवार नभएको चिह्नमा मतदान गरेमा पनि मत बदर हुने व्यवस्था गरेको छ । यसका आधारमा उम्मेदवार नभएका चिह्नमा परेको मतमा गठबन्धनको अर्को उम्मेदवारले दाबी गर्ने आधार रहनेछैन । गोरखापत्र दैनिकमा खबर छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved