
के नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झारखण्ड (भारत)को जङ्गलमा हतियार चलाउनेदेखि ‘नक्सली’ सञ्जाल निर्माण गर्ने तालिम लिएका थिए ? राँचीमा उत्पात मच्चाइरहेका ‘नक्सली’हरूको ठूला कमान्डरमध्येका प्रमुख एक कुन्दन पाहनले भारत सरकारसमक्ष हालै आत्मसमर्पण गरेपछि भारतीय मिडियाले उपरोक्त सवाल तेर्स्याउँदै समाचार प्रकाशित गरेका छन् ।
कुन्दनले आफू प्रहरी नियन्त्रणमा परेलगत्तै दिएको बयानमा सन् २००० मा प्रचण्डले नक्सली तालिम लिएको र उक्त तालिममा आफू पनि सँगै रहेको बताएका छन् । उनको दाबी छ कि झारखण्डको बोकारोसँग जोडिएको जङ्गलमा प्रचण्डले अनेक किसिमका तालिम पाएका थिए । कुन्दनका अनुसार उनको क्याम्पमा सबभन्दा आधुनिक हतियार आइपुग्थे र त्यसबारे तालिम दिनका लागि पश्चिम बङ्गालबाट एउटा विशेष टिम उक्त जङ्गलमा आउँथ्यो ।
भारतको चर्चित मिडिया जागरणले लेखेको छ, ‘कुन्दनको खुलासा यसकारण पनि उदेकपूर्ण छ कि यसअघि नेपालका उपल्लो तहका माओवादीलाई चिनियाँ तालिम हासिल हुने गरेको ठानिन्थ्यो ।’ भारतीय गुप्तचर निकायसँग जोडिएका एक सिनियर अधिकारीले कुन्दनको दाबीमाथि टिप्पणी गर्दै जुन समयको बयान उनले दिएका छन्, त्यसमा फर्केर हेर्दा उनको दाबी पत्याउन करै लाग्ने अभिव्यक्ति दिएका छन् ।
नेपालको राजनीतिक मूलधारमा जोडिनुअघि प्रचण्डले नेपालबाहिर रहेर माओवादी आन्दोलन हाँक्ने गरेको कुरा त उनी स्वयम्ले पनि स्वीकार गरेका छन् । जनयुद्धकालको अधिकांश समय प्रचण्ड तथा उनको टिमले भारतमा गुजारेको सर्वविदित तथ्य हो । सन् २००० तथा आसपासको समयमा चाहिँ प्रचण्ड परिवार भारतमै रहेकाले कुन्दनको दाबी निकै हदसम्म सत्य रहेको विश्वास गर्न सकिन्छ । भारतका दिल्ली, नोयडा, वाराणसीलगायत स्थानमा ठाउँ सरी–सरी प्रचण्डले दिन गुजारेका सन्दर्भ विभिन्न प्रकाशनमार्फत सार्वजनिक भइसकेको भए पनि झारखण्ड बसेर हातहतियार चलाउने तालिम लिएको कुरा भने हालसम्म सुनिएको थिएन ।
सन् २००० मा केवल २६ वर्षको उमेरमा तालिम लिएर खतर्नाक ‘नक्सल नेता’को पहिचान बनाएका कुन्दन पाहनमाथि दुई दर्जनभन्दा बढी प्रहरीको हत्या गरेको र करोडौँको बैंक डकैती गरेको मुद्दा लागेको छ । कुनै बेला गरिबको पक्षमा गरिबीविरुद्ध लडाइँ लड्ने भन्दै जोसिला कुरा गर्ने कुन्दनले आफ्नी छोरीलाई भारतकै महँगोमध्येको एक ‘कन्वेन्ट’ स्कुलमा भर्ना गराएर पढाउँदै आएको पनि खुलासा भएको छ ।
भारतीय अधिकारीहरूका अनुसार कुन्दनले यतिबेला सरकारसमक्ष आत्मसमर्पण गर्नुको प्रमुख कारण आफ्नी छोरीप्रतिको अत्यधिक प्रेम नै हो । छोरीलाई सुखसुविधायुक्त जीवन र सुन्दर भविष्य दिलाउनका लागि आफूले नक्सलवादी आन्दोलन परित्याग गर्ने निर्णय लिएको बयान कुन्दनले दिएका छन् । आफूले यसरी आत्मसमर्पण गरे पनि चुपचाप नबस्ने बरु मूलधारको राजनीतिमा संलग्न रहने चाहना पनि कुन्दनले व्यक्त गरेका छन् । तत्काल त उनी जेल नै पर्नेछन्, तर जेलबाट रिहा भएलगत्तै कुनै राजनीतिक दलमा आबद्ध भई सक्रिय राजनीति गर्ने उनको ध्येय छ । घटना र विचार साप्ताहिकमा खबर छ ।