चुनावमा जान राजपाले अघि सार्यो ३ प्रस्ताव

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 26, 2017 | 07:20:44 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, नेपाल फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच बिहीबार स्थानीय तहको दोस्रो निर्वाचनमा सहभागी हुने अवस्थामा तीन पार्टीबीच तालमेल गर्ने सैद्धान्तिक सहमति भएको छ ।

भक्तपुरस्थित ठाकुर निवासमा भएको वार्तामा राजपा अध्यक्ष ठाकुरले चुनाव चिह्न, संविधान संशोधन र जनसंख्याका आधारमा निर्वाचन क्षेत्रको माग पूरा भए निर्वाचनमा जान सकिने प्रस्ताव राख्नुभएको छ । राजपा अध्यक्ष ठाकुरले निर्वाचन आयोगले पार्टी दर्ता गरेर चुनाव चिह्न दिनुपर्ने र संविधान संशोधन हुनुपर्ने मागलाई चुनावमा सहभागिताको सर्तका रूपमा लिनुभएको थियो । गच्छदार र यादवसँगको छलफलमा राजपा अध्यक्ष ठाकुरले चुनाव चिह्न नभएकाले निर्वाचनमा जान नसकिने बाध्यता देखाउनुभएको हो ।

स्रोतका अनुसार ठाकुरले निर्वाचन आयोगमा पार्टी दर्ता र चुनाव चिह्न दिलाइदिन तथा संसद्बाट संविधान संशोधन गराउनसमेत पहल गरिदिन यादव र गच्छदारलाई आग्रह गर्नुभएको थियो । ‘हामी चुनावविरोधी होइनौं तर आयोगमा न पार्टी दर्ता छ न हामीले चुनाव चिह्न पाएका छौं, अनि चुनावमा कसरी जाने ? ‘ त्रिपक्षीय छलफलमा ठाकुरको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । ठाकुरको प्रस्तावमा गच्छदार र यादवले राजपालाई चुनाव चिह्न दिलाउने र सकेसम्म चुनावअगावै अन्यथा चुनावपछि संविधान संशोधन गराएरै छाड्ने आश्वासन दिनुभएको थियो ।

६ वटा मधेसकेन्द्रित दल मिलेर हालै बनेको राजपा निर्वाचन आयोगमा दर्ता छैन । उसको कुनै चुनाव चिह्न छैन । पार्टी एकीकरणअघि राजपाका ६ वटै दलले पुरानो चुनाव चिह्न, लोगो र झन्डा प्रयोग नगर्ने निर्णय गरेका थिए । डेढ घन्टासम्म भएको छलफलमा गच्छदार र यादवले आफूहरूले राजपाको मागका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवासँग पुनः अनौपचारिक परामर्श गर्ने आश्वासन दिएको दाबी स्रोतले गर्‍यो । अन्नपुर्ण पोष्टमा यो खबर छ ।


चुनाव जान महन्थ ठाकुरको प्रस्ताव

– दल दर्ता र चुनाव चिह्न

– संविधान संशोधन

– जनसंख्याको आधारमा स्थानीय तह

फोरम नेपालका अध्यक्ष यादवले चुनावमा साझा उम्मेदवारी दिन सहकार्य गर्न ठाकुर र गच्छदारसँग प्रस्ताव गर्नुभएको छ । मधेसी जनताको चाहना र भावनाअनुसार स्थानीय चुनावमा सहकार्य आवश्यक रहेको यादवको तर्क थियो । ठाकुरले स्थानीय तहको निर्वाचनमा मधेसवादी पार्टीसँग मात्र नभएर अन्य राजनीतिक दलसँग पनि तालमेल हुने जानकारी गच्छदार र यादवलाई दिनुभएको थियो ।

स्थानीय तहको दोस्रो निर्वाचनमा सहकार्य गरी साझा उम्मेदवार खडा गर्ने यादवको प्रस्तावलाई गच्छदारले सकारात्मक रूपमा लिँदै मिलेर अघि बढ्न सकिने बताउनुभएको छ । ठाकुरले आन्दोलनको प्रसंग निकाल्दा यादव र गच्छदारले मधेसको उपलब्धिलाई संस्थागत गर्न आन्दोलनकै रूपमा स्थानीय चुनावलाई सदुपयोग गर्न सुझाव दिएको स्रोत बताउँछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved