सबैको नजर भरतपुर मतगणना प्रकरणमा, छानबिन समितिले निर्वाचन आयोगलाई प्रतिवेदन बुझाउँदै

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 31, 2017 | 08:12:28 AM मा प्रकाशित

laxmi  sunrise bank

गत ३१ वैशाखमा भएको मतदानमा झन्डै एक लाख १२ हजार भरतपुरवासीले मतदान गरे । करिब एक लाख आठ हजार मत सुरक्षित गनियो । गणना गर्न बाँकी अन्तिम चार हजार मत निर्णयक हुनेवाला थियो । तर, सो मत गणना हुनै पाएन । एकाएक मतपत्र च्यातिएपछि अब वडा नं. १९ मा पुनः मतदान कि मतगणनालाई निरन्तरता दिइनेछ भन्ने अन्योल छाएको छ ।

 माओवादी केन्द्र र कांग्रेस गठबन्धन उम्मेदवार रेणु दाहालले करिब ३८ सयबाट मतान्तर करिब सात सयमा झारिसकेकी थिइन् । आइतबार राति भरतपुरस्थित कभर्ड हलमा वडा नं. १९ को मतगणना भइरहेको थियो । त्यसपछि गणना हुन वडा नं. २० मात्र बाँकी थियो ।

 करिब २८ सय मतदाता रहेको वडा नं. १९ को पनि एक हजार आठ सय मत गणना भएर नतिजा सार्वजनिक भइसकेको थियो । थप ६ सय अर्थात् कुल २४ सय मतको परिणाम सार्वजनिक हुनै लाग्दा मतपत्र च्यातिएको हो । लगत्तै मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले सोमबार बिहान १ बजेर २० मिनेटमा सूचना टाँस गरी अनिश्चितकालका लागि मतगणना रोकिएको जानकारी गराए ।

 मतपत्र च्यातेको आरोपमा प्रहरीले दुईजना माओवादी कार्यकर्तालाई पक्राउ गरेको छ । तर, माओवादीले भने तानातानमा मतपत्र च्यातिएको दाबी गरिरहेको छ ।

 वडा नं. १९ मा कांग्रेसले वडाध्यक्षमा अग्रता लिएको थियो । सो वडाको २४ सय मत गणना हुँदा गठबन्धन उम्मेदवार दाहालभन्दा एमाले उम्मेदवार देवी ज्ञवाली सात सय ८४ मतले अघि थिए । वडा नं. १९ को थप चार सय मत मात्र गणना गर्न बाँकी थियो । २० नम्बर वडामा प्रवेश गर्दा देवी ज्ञवालीले सात सय हाराहारीले अग्रता कायम गर्ने निश्चित भएपछि हार्ने देखेर माओवादी प्रतिनिधिले मतपत्र च्यातेको मतगणनामा खटिएका एमाले उपाध्यक्ष तेजेन्द्र खड्काले बताए ।

 यता, माओवादीका चितवन इन्चार्ज ईश्वरी भट्टराईद्वारा जारी विज्ञप्तिमा एमाले प्रतिनिधिले मतपत्र च्यात्न खोज्दा आफ्नो दलका प्रतिनिधिले रक्षा गर्ने क्रममा तानातानमा च्यातिएको दाबी गरिएको छ ।

 प्रतिवेदन बुझाउँदै समिति

 मतपत्र च्यातिएको घटनाबारे छानबिन गर्न गठित समितिले बुधबार निर्वाचन आयोगलाई प्रतिवेदन बुझाउँदैछ । अनुसन्धान सकेर समिति सदस्यहरू मंगलबार दिउँसो नै काठमाडौं फर्किएका छन् । छानबिन समितिका संयोजक गीताप्रसाद तिमल्सिना नेतृत्वको टोली सोमबार साँझ भरतपुर आइपुगेको थियो । समितिमा गृह मन्त्रालयका सहसचिव महेश आचार्य र प्रहरी प्रधान कार्यालयका डिआइजी मोहन भण्डारी सदस्य छन् ।

 समितिले प्रतिवेदन बुझाएपछि निर्वाचन आयोगले उचित निर्णय लिने बताइएको छ । समितिले मंगलबार जिल्लाका राजनीतिक दलहरूसँग छलफलसमेत गरेको जिल्ला निर्वाचन कार्यालयका अधिकृत हरिप्रसाद ढकालले जानकारी दिए । त्यस्तै, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, मतगणनास्थलमा खटिएका कर्मचारी, निर्वाचन अधिकृतसँग पनि घटनाको विषयमा जानकारी लिएको थियो । नयाँपत्रिकामा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved