अन्ततः राजपाले ‘चिसै पानीले नुहाउने’

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 31, 2017 | 09:07:12 AM मा प्रकाशित

laxmi  sunrise bank

संविधान संशोधन गराएर विजयी मुद्रामा निर्वाचनमा सहभागी हुने प्रयासमा रहेको मधेसकेन्द्रित राष्ट्रिय जनता पार्टी आफ्ना सबै प्रयास तत्काल सफल हुने नदेखिएपछि ‘चिसै पानीले नुहाउन’ बाध्य हुने स्थितिमा पुगेको छ । यद्यपि राजपाले सङ्घर्षको कार्यक्रम भने घोषणा गरेको छ र आन्दोलनको घोषणापश्चात् तराई-मधेसका गाउँगाउँ तनावमय बन्न पुगेको छ ।

मंगलबार राजपा समर्थकहरूले निर्वाचन कार्यालयहरूमा ताला लगाइदिएका छन् । यस क्रममा उक्त दलका सयौँ कार्यकर्ता प्रहरी गिरफ्तारीमा परेका छन् । तत्काल संविधान संशोधन नभए पनि स्थानीय तहको सङ्ख्या बढाइएको अवस्थामा आफ्नो ‘फेस सेभ’ हुने र निर्वाचनमा जान केही सहज हुने सोचमा राजपाका नेताहरू थिए । तर, सर्वोच्च अदालतले निर्वाचनको बीचमा स्थानीय तहको सङ्ख्या थपघट नगर्न आदेश दिएपछि राजपाको इच्छामा पनि पूर्णविराम लागेको छ ।

आफ्ना कुनै पनि माग तत्काल सम्बोधन हुने स्थिति नभएपछि राजपा नेताहरूले चुनावमा नजाने बरु आन्दोलनमा उत्रने मुड बनाएका छन् । तर, राजपा नेताहरूमाथि निर्वाचनमा सहभागिता जनाउन चौतर्फी दबाब परेको छ । त्यसैले तत्काल सङ्घर्षको पक्षमा उभिए पनि राजपा कालान्तरमा चुनावमा भाग लिन बाध्य हुने विश्वास गरिएको छ ।

जेठ ३१ गते हुने भनिएको निर्वाचन राजपालाई सहभागिता गराउनकै लागि भनेर असार ९ गते गर्ने भनिएको छ । तर, मुस्लिम धर्मावलम्बीहरूको चाड रमदान परेकोले मुस्लिम समुदाय र अन्य कतिपयले असार ९ गतेभन्दा पनि पछि निर्वाचन मिति सार्न दबाब दिएका छन् ।

त्यसैले असार ९ भन्दा पछि मतदानको मिति तय हुने निश्चित जस्तै छ । राजपाले निर्वाचनमा भाग नलिई सङ्घर्षमा जाने अड्डी लिएमा घोषित निर्वाचन पनि अर्को दुई चरणमा सम्पन्न गर्ने सुझाव सरकारलाई प्राप्त भएको छ । तर, दलका नेताहरू घोषित मिति केही पछि सार्न तयार भए पनि पुनः दुई चरणमा निर्वाचन गर्ने कुराको भने विरुद्धमा रहेका छन् । घटना र विचार साप्ताहिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved