नेपालीलाई अपहरण गर्न खोज्ने भारतीय प्रहरी पक्राउ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 02, 2017 | 07:49:26 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली नागरिक अपहरण गर्न खोज्ने भारतीय प्रहरी पक्राउ परेका छन् । डिएसपीको नेतृत्वमा आएको भारतीय प्रहरीको पाँचजनाको टोलीलाई जिल्ला प्रहरी कार्यालय डोटीले बुधबार राति नियन्त्रणमा लिएको हो ।  भारतीय प्रहरीले दिपायल–सिलगढी नगरपालिका–८ लडागडाका लालबहादुर आउजीलाई घरमै सुतिरहेका वेला अपहरण गरेको थियो । त्यसबारे स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । डिएसपी नेतृत्वको टोलीमा एक इन्स्पेक्टर, एक थानेदार र दुईजना जवान रहेको स्रोतले बताएको छ ।

मध्यरातमा अपहरण

स्थानीयवासीका अनुसार भारतमा काम गर्ने लडागडाकै प्रसाद पार्कीलाई लिएर राति २ बजे भारतीय प्रहरीले घरमा सुतेका लालबहादुरलाई अपहरण गरी लगेका थिए । ‘प्रसाद पार्कीले मध्यरातमा ढोका ढक्ढक्याएपछि लालबहादुरकी श्रीमतीले ‘को हो’ भनी सोध्दा उनले आफ्नो परिचय दिएपछि ढोका खोलिन्,’ एक स्थानीयले भने, ‘ढोका खोल्नासाथ उक्त समूह भित्र पसी लालबहादुरलाई हातखुट्टा बाँधी, मुखमा पट्टी लगाएर जबर्जस्ती गाडीमा हालेर लगे ।’

डोटीका प्रहरी प्रमुख दिल्लीराज विष्टले भारतीय प्रहरीलाई नियन्त्रणमा लिएको स्वीकार गरे । ‘घटनाबारेमा हामी छानबिन गर्दै छौँ, अहिले सबै कुरा भन्न सक्ने अवस्था छैन,’ उनले भने । सुदूरपश्चिम प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रोमेन्द्रसिंह देउजाले घटनाबारे आफूलाई जानकारी नभएको बताए । ‘मलाई यसबारे अहिलेसम्म कुनै जानकारी आएको छैन,’ उनले भने ।

बैंकबाट पैसा चोरीको आरोप

लालबहादुरलाई बैंकबाट पैसा चोरी गरेको आरोपमा भारतीय प्रहरीले अपहरण गरेको स्रोतले जनाएको छ । उनले बैंक अफ महाराष्ट्र कर्नाटा शाखाबाट १४ लाख ६८ हजार भारु चोरी गरेकाले खोज्न भारतीय प्रहरी डोटी आइपुगेको बताइएको छ । भारतको कर्नाटामा काम गर्ने प्रसाद नाम गरेका व्यक्तिलाई लिएर भारतीय प्रहरी उनको घर खोज्दै डोटीसम्म आइपुगेको थियो । दुई साताअघि मात्रै बैंकबाट पैसा चोरी भएको भनिए पनि लालबहादुर गत असोजदेखि घरमै रहेको पारिवारको दाबी छ । लालबहादुर पहिला उक्त बैंकमा चौकीदार रहेको भारतीय प्रहरीको भनाइ छ ।

दोस्रोपटक पक्राउ

भारतीय प्रहरी डोटीमा पक्राउ परेको यो दोस्रोपटक हो । यसभन्दा अघि १२ वैशाख ०७३ मा डोटी र अछामको सिमानामा पर्ने चौखुट्टे क्षेत्रबाट पाँचजना भारतीय प्रहरी हतियारसहित पक्राउ परेका थिए । त्यसवेला भारतीय प्रहरी आफ्नै गाडी र हातहतियारसहित आएका थिए । यसपटक भने उनीहरू नेपाली नम्बर प्लेटको गाडी ल्याएर आएका छन् । नियन्त्रणमा रहेका भारतीय प्रहरीसँग हातहतियार हुन सक्ने अनुमान गरिए पनि त्यसबारे केही जानकारी दिइएको छैन । नयाँ पत्रिकामा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved