यसरी पुग्यो देउवाको पक्षमा झन्डै दुईतिहाइ सांसद

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 05, 2017 | 08:08:39 AM मा प्रकाशित

laxmi  sunrise bank

दुईतिहाइ पुग्न आठ मत कम

प्रधानमन्त्रीमा उम्मेदवारी दिएका कांग्रेस सभापति शेरबहादुरको पक्षमा झन्डै दुईतिहाइ मत पुगेको छ । नौ दलले समर्थन गर्दा उनको पक्षमा ३८८ मत जुटिसकेको छ । संसद्मा अहिले ५९३ सदस्य छन् । दुईतिहाइका लागि ३९६ मत आवश्यक पर्छ । देउवाको पक्षमा दुईतिहाइ पुग्न अब आठ मत मात्रै कम छ ।

सर्तसहित राजपाको समर्थन

देउवालाई राजपाले सर्तसहित समर्थन गरेको छ । संविधान संशोधन, मधेस आन्दोलनका मुद्दा फिर्तालगायत सर्तमा राजपाले समर्थन गरेको हो । राजपा नेता लक्ष्मणलाल कर्णले भने, ‘संविधान संशोधन गर्ने सर्तमा हामी देउवाजीलाई सहयोग गर्न तयार छौँ ।’ देउवाले सहयोगका लागि पठाएको पत्रमा संविधान संशोधन, कार्यान्वयन र बाँकी निर्वाचन गर्न समर्थन मागेका छन् । तर, राजपा सरकारमा भने सहभागी हुनेछैन ।

विवादबीच राप्रपाले गर्यो समर्थनको निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टीले विवादबीच देउवाको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । आइतबार बसेको कार्यसम्पादन समिति र संसदीय दलको बैठकमा बहुमत नेताहरूले दबाब दिएपछि अध्यक्ष कमल थापाले समर्थनको निर्णय लिएका हुन् । थापा उपप्रधानमन्त्री नपाउने अवस्थामा सरकारमा जान नहुने पक्षमा थिए । तर, वरिष्ठ नेता पशुपतिशमशेर राणासहित उनीपक्षीय नेताहरूले स्थानीय निर्वाचनको मुखमा मन्त्रालय लिएर भए पनि सरकारमा जानुपर्ने बताएका थिए ।

संयुक्त बैठकमा आफ्नो धारणाविपरीत नेताहरू उभिएपछि अध्यक्ष थापाले संसदीय दलबाट निर्णय लिने भन्दै बैठक स्थगित गरेका थिए । त्यसपछि नेता दिनेश श्रेष्ठको घरमा थापाले आफूपक्षीय नेताहरूसँग छलफल गरेका थिए । सो छलफलमा पनि बहुमत नेताहरूले सरकारमा जानुपर्ने सुझाब दिएपछि थापाले दिउँसो संसदीय दलको बैठकबाट देउवालाई समर्थन गर्ने निर्णय गराएको स्रोतले बतायो । तर, बैठकमा थापाले भनेका थिए, ‘मैले विवेक प्रयोग गरेर निर्णय गरेको छु, बहुमत र अल्पमतमा परेर निर्णय गरेको होइन ।’

उपाध्यक्ष दीपक बोहोराले संयुक्त बैठकमा केही नेताहरूका फरक धारणा आएको, तर विवाद नभएको बताए । ‘बैठकमा पक्ष–विपक्षमा धारणा आउनु स्वाभाविक हो । त्यसलाई विवाद भन्न मिल्दैन,’ बोहोराले भने, ‘हामीले देउवाजीको पक्षमा मतदान गर्ने निर्णय गरिसक्यौँ, अब अन्य कुरा सिद्धिए ।’

 ४ मन्त्रालय दिने देउवाको प्रस्ताव

देउवाले सरकारमा सहभागी हुन राप्रपालाई शनिबार पठाएको पत्रमा चार मन्त्रालय दिने, तर उपप्रधानमन्त्री दिन नसक्ने उल्लेख रहेको नेताहरूले बताएका छन् । पत्र पठाएलगत्तै देउवाले राप्रपा अध्यक्ष कमल थापा र नेता पशुपतिशमशेर राणालाई छलफलका लागि बोलाएका थिए । तर, थापाले भेटेनन् । राणासँगको भेटमा देउवाले राप्रपाले चलाएका पुरानै चार मन्त्रालय दिने प्रस्ताव राखेको कांग्रेसका एक नेताले जानकारी दिए । अघिल्लो सरकारमा राप्रपाले स्थानीय विकास, आपूर्ति, भूमिसुधार र पर्यटन मन्त्रालय पाएको थियो । देउवाले पहिलो चरणमा मन्त्री बनाउन एकजनाको नाम दिन पनि राणालाई आग्रह गरेको स्रोतले बतायो ।  नयाँ पत्रिकामा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved