निर्बाचनमा भाग लिने नलिने बारे राजपामा दुई धार, चुनावमा नगए पार्टी फुटाउने तयारी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 05, 2017 | 08:20:07 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय जनता पार्टीमा दोस्रो चरणको निर्वाचनमा सहभागिताबारे विवाद भएको छ । राजपाभित्र राजेन्द्र महतो र राजकिशोर यादवले निर्वाचनमा जान नहुने तथा महेन्द्र राय यादव र शरत्सिंह भण्डारीले निर्वाचनमा जानुपर्ने बताएपछि विवाद सुरु भएको हो । नेताहरू महन्थ ठाकुर र अनिल झा निर्वाचनमा जाने–नजाने विषयमा खुलेर बोलेका छैनन् । मधेसका २० जिल्लामा २६ सय वडाध्यक्ष र १० हजारभन्दा बढी वडा सदस्य निर्वाचित हुने स्थानीय तहमा सहभागी हुनुपर्ने राजपाका धेरै नेताको तर्क छ ।

मधेसकेन्द्रित दुई दल लोकतान्त्रिक फोरम र समाजवादी फोरम निर्वाचन अभियानमा रहँदा राजपा भने विरोधमा छ । निर्वाचनको वातावरण नबनेका कारण आफूहरू आन्दोलनमा रहेको र राजनीतिक सहमति भएमा निर्वाचनको माहोल बन्ने राजपा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले बताए । तर, राजपाको केन्द्रिय समितिले निर्वाचनमा सहभागी हुने प्रस्ट धारणा नदिएपछि जिल्लाका नेताहरू भने अन्य दलमा प्रवेश गर्न थालेका छन् ।

निर्वाचनमा नगए विभाजनको सम्भावना
राजपाले औपचारिक रूपमा निर्वाचनमा सहभागी नहुने निर्णय गरेमा एकीकृत भएका केही दल छुट्टिएर निर्वाचनमा जाने तयारीमा लागेका छन् । राजपामा एकीकृत भएका मधेसकेन्द्रित ६ दलका निर्वाचन चिह्न मतपत्रमा छापिइसकेको छ । त्यही निर्वाचन चिह्न लिएर पुरानै दलको हैसियतमा निर्वाचनमा उम्मेदवारी दिने सम्भावना बढेको राजपाकै एक नेताले बताए । स्रोतका अनुसार राजपाले निर्वाचनमा सहभागी नहुने निर्णय गरेमा महेन्द्र राय यादव र शरत्सिंह भण्डारीको टिम बाहिरिएर संघीय समाजवादी फोरमसँग तालमेल गरी निर्वाचनमा जान सक्नेछन् ।

राजपाको अन्योलले नेता–कार्यकर्ताले छोड्दै 
निर्वाचनमा सहभागी हुने–नहुने विषयमा राजपामा देखिएको अन्योलले नेताहरू अन्य पार्टीमा प्रवेश गर्न थालेका छन् । धेरैजसो नेताहरू संघीय समाजवादी फोरममा प्रवेश गरेका छन् भने केही कांग्रेस, एमाले र माओवादी केन्द्रमा समेत प्रवेश गरेका छन् ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले तराईका विभिन्न जिल्लामा भएका कार्यक्रममा निर्वाचनको मुडमा रहेको मधेसलाई बिथोल्ने तत्व आफैँ सिद्धिने बताउने गरेका छन् । उपेन्द्रले १३ जेठमा रौतहटको कार्यक्रममा राजपाका केन्द्रीय सदस्य धीरेन्द्र यादवसहितका नेतालाई पार्टीमा प्रवेशसमेत गराएका थिए । तत्कालीन सद्भावनाका सहमहामन्त्रीसमेत रहेका सिरहाका राजु गुप्ता फोरममा प्रवेश गरेका छन् भने केन्द्रीय सदस्य रामनारायण मेहता पनि फोरममा प्रवेश गरेका छन् । फोरमका प्रमुख सचेतक शिवजी यादवले जनता निर्वाचनमा उत्साही भएर लागिरहेको बताए । प्राप्त उपलब्धिको रक्षा गरेर अगाडि बढ्न निर्वाचनमा जानुपर्ने मधेसी जनता रहेको उनको भनाइ छ ।

लोकतान्त्रिक फोरम निर्वाचन प्रचारमा 
नेपाल लोकतान्त्रिक फोरम निर्वाचनको तयारीका लागि जिल्ला दौडमा छ । पूर्वी तराईका सुनसरी, मोरङदेखि कैलाली, कञ्चनपुरसम्म जिल्लास्तरमा लोकतान्त्रिक फोरमले निर्वाचन कार्यक्रम गरिरहेको छ । जिल्ला तहमा कार्यक्रम भइरहेको लोकतान्त्रिक फोरमका महामन्त्री मीनराज थारूले जानकारी दिए । जनता निर्वाचनप्रति उत्साहित भएको उनले बताए । उनले भने, ‘पार्र्टीले जिल्ला तहमा आयोजना गरेका निर्वाचन कार्यक्रम सहज र उत्साहजनक सहभागिताका साथ सम्पन्न भइरहेका छन् ।’

निर्वाचनमा जाने मत बलियो 
राजपाभित्र अहिले निर्वाचनमा सहभागी हुने मत बलियो छ । विजय गच्छदार र उपेन्द्र यादव निर्वाचनको तयारीमा लागेपछि राजपा दबाबमा परेको छ । स्थानीय तहमा आफ्ना प्रतिनिधि नहँुदा प्रदेश र संघीय निर्वाचनको आधार समाप्त हुने चिन्ता नेताहरूमा छ । मधेसमा २६ सय वडाध्यक्ष निर्वाचित हुँदै छन् र १० हजार ४ सय वडा सदस्य हुनेछन् । निर्वाचनमा नजाँदा प्रतिनिधिको ठूलो संख्या पार्टीले गुमाउने डर राजपामा छ । नयाँ   पत्रिका दैनिकमा खबर छ  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved