कतारमा गहिरिएको संकटबाट नेपालीको रोजगारीमा तत्काल कुनै असर नगर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 07, 2017 | 08:18:47 AM मा प्रकाशित

कतारमा गहिरिएको संकटबाट त्यहाँ रहेका नेपालीको रोजगारीमा तत्काल कुनै असर नगर्ने सरकारी अधिकारीहरूले बताएका छन् । कतारसँग सातवटा छिमेकी मुलुकले तत्कालका लागि कूटनीतिक सम्बन्धविच्छेद गरेपछि त्यहा“ कार्यरत नेपाली र आगामी दिनमा कतारमा रोजगारीको अवसर के होला भन्ने जिज्ञासा बढेको छ ।

श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता तथा सहसचिव गोविन्दमणि भुर्तेलका अनुसार कतारमा रोजगारीको अवसर र त्यहाँ कार्यरत कामदारको भविष्य के हुन्छ भन्ने सन्दर्भमा सरकार पर्ख र हेरको रणनीतिमा छ । ‘पछिल्लो घटनाक्रमबाट कतारस्थित नेपाली नागरिकलाई नकारात्मक असर परेकोबारे अहिलेसम्म कुनै रिपोर्टिङ आइसकेको छैन,’ उनले भने, ‘परिस्थिति जसरी अगाडि बढ्छ, सरकारले त्यसैगरी रणनीति बनाउँछ ।’


लामो समय आर्थिक नाकाबन्दी भए मात्र रोजगारीमा समस्या

श्रम तथा रोजगार मन्त्रालयका अनुसार कतारमा अहिले साढे ३ देखि ४ लाख नेपाली कामदार कार्यरत छन् । त्यसमध्ये ठूलो हिस्सा निर्माण क्षेत्रमा सक्रिय छ । मन्त्रालयका अनुसार भारतपछि धेरै नेपाली कामदार निर्माण क्षेत्रमा कार्यरत छन् । त्यसकारण कूटनीतिक विच्छेद र नाकाबन्दीले रोजगारीमा तत्काल ठूलो असर नपर्ने, तर आर्थिक नाकाबन्दी लामो समय रहेमा भने समस्या आउन सक्ने मन्त्रालयको भनाइ छ । नयाँ पत्रिकामा खबर छ ।

नयाँ रोजगारीको माग के होला ?

कतार समस्या लामो समय लम्बिएमा नया“ रोजगारीको अवसर नआउने र कतारको गन्तव्य नै खतरामा पर्ने सम्भावनाबारे आशंका सुरु भएको छ । तर, व्यवसायीहरू भने यो समस्या शीघ्र हल हुनेमा आशावादी छन् । ‘यो समस्या कति दीर्घकालसम्म लम्बिन्छ भन्ने विषय महत्वपूर्ण हो,’ नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमलप्रसाद ढकाल भन्छन्, ‘आजकै दिनमा अब के हुन्छ भनेर प्रतिक्रिया दिन सक्ने अवस्था छैन ।’

”कतार समस्याबाट नेपालीमाथि पर्ने तत्कालीन असर वायुसेवाको टिकट हो, यसका लागि पनि विकल्प छन् । आगामी दिनमा के हुन्छ आजै भन्न सकिने अवस्था छैन । परिस्थिति जसरी अगाडि बढ्छ, सरकारले त्यसैअनुसार रणनीति बनाउँछ ।” -गोविन्दमणि भुर्तेल, प्रवक्ता, श्रम तथा रोजगार मन्त्रालय

”आफ्नो मुलुकमा ट्रान्जिट गरी कतारसम्म उडान गर्ने कम्पनीले कतारको टिकट बिक्री बन्द गरेपछि अन्य कम्पनीले मौकाको फाइदा छोपी भाडा बढाउन सक्छन् । नेपाली कम्पनीहरूलाई निकै राम्रो अवसर आएको छ । नेपाली कम्पनीले उडान संख्या बढाएर नेपाली दाजुभाइलाई सेवा दिनुपर्छ ।” – यमबहादुर खड्का, प्रबन्ध निर्देशक, एरोलिना ट्राभल

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved