प्रदेश २ मा असोज २ गते चुनाव

रासस

रासस

Jun 16, 2017 | 07:07:50 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं : निर्वाचन आयोगको असहमति र आन्दोलनरत राष्ट्रिय जनता पार्टी (राजपा) को दबाबका बीच सरकारले प्रदेश नम्बर २ मा तेस्रो चरणमा असोज २ गते चुनाव गर्ने निर्णय गरेको छ।

बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश २ मा असार १४ गतेका लागि तोकिएको स्थानीय तहको चुनाव असोज २ गते गर्ने निर्णय गरेको हो।

सरकारले प्रदेश नम्बर १, ५ र ७ मा भने असार १४ गते नै चुनाव हुने बताएको छ। ‘प्रदेश नम्बर २ मा असोज २ गते तेस्रो चरणमा चुनाव गर्ने निर्णय भएको छ’, मन्त्रिपरिषद् बैठकपछि उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले भन्नुभयो।

मन्त्रिपरिषद् बैठक बस्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताले प्रदेश २ को चुनाव सार्ने विषयमा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्नुभएको थियो। आयोग पदाधिकारीले सबै तयारी सकिएकाले चुनाव सार्न नहुने सुझाव सरकारलाई दिनुभएको थियो। ‘तत्काल चुनाव सार्न हुँदैन भन्ने सुझाव हामीले सरकारलाई दिएका थियौं’, निर्वाचन आयुक्त इला शर्माले भन्नुभयो।

आयोगसँग छलफल सकिएलगत्तै सत्तारुढ दलका शीर्ष नेता र राजपाका शीर्ष नेताबीच प्रधानमन्त्री कार्यालयमै छलफल भएको थियो। छलफलमा प्रदेश २ को चुनाव असोजमा सार्ने सहमति भएको हो। सरकारले प्रदेश २ मा चुनाव सारेपछि १ र ५ मा राजपालाई चुनावमा सहभागी हुन आग्रह गरेको छ तर त्यस विषयमा राजपाले सरकारलाई औपचारिक जवाफ भने दिइसकेको छैन। ‘बैठकमा २ नम्बरको चुनाव सारेपछि अन्य प्रदेशमा राजपा सहभागी हुनुपर्छ भन्ने सत्तारुढ दलको भनाइ थियो’, बैठकमा सहभागी एक नेताले भन्नुभयो, ‘उहाँहरूले सल्लाह गरेर खबर गर्ने धारणा राख्नुभएको छ।’

सरकारले भने प्रदेश नम्बर २ को चुनाव सारेपछि अन्य प्रदेशमा असार १४ गते हुने चुनावमा राजपा सहभागी हुने बताएको छ। राजपासँगको वार्तामा सहभागी कांग्रेस नेता विमलेन्द्र निधिले राजपा दल दर्ता नभएकाले असार १४ को चुनावमा स्वतन्त्र उम्मेदवारको रूपमा सहभागी हुने बताउनुभयो।

‘असार १४ गते हुने दोस्रो चरण निर्वाचनमा राजपा कुनै न कुनै रूपमा सहभागी हुन्छ’, निधिले भन्नुभयो, ‘निर्वाचन ऐनले राजपा दर्ता हुने र नयाँ चुनाव चिह्न दिन नसक्ने भए पनि उहाँहरू तत्काल स्वतन्त्र उम्मेदवारको रूपमा आउन सक्नुहुन्छ।’

उच्च स्रोतका अनुसार प्रदेश नम्बर २ मा राजपाको अवरोधबीच चुनावमा जाँदा द्वन्द्व झन् बढ्नसक्ने अनुमानका आधारमा चुनाव सार्ने निर्णय गरिएको हो।

कांग्रेस नेता निधिले सुरक्षा र राजनीति दुवै कारणले पनि प्रदेश नम्बर २ मा चुनाव सार्नैपर्ने अवस्था आएको बताउनुभयो।

चुनाव सार्न कांग्रेसभित्रै दबाब
असार १४ गते दोस्रो चरणमा चुनाव सम्पन्न गराउने सरकारको तयारीमा कांग्रेसका प्रदेश नम्बर २ कै सांसद र केन्द्रीय सदस्य बाधक देखिएका थिए।

२ नम्बरको चुनाव सार्न पूर्वगृहमन्त्री निधिको नेतृत्वमा सांसद र केन्द्रीय सदस्यले प्रधानमन्त्री एवं पार्टी सभापति देउवालाई भेटेर पटक–पटक दबाब दिएका थिए। उनीहरूले राजपाको अवरोधबीच चुनावमा जाँदा मधेसमा झन् द्वन्द्व चर्कने भन्दै चुनाव सार्न दबाब दिएका हुन्। उनीहरूले बुधबार पनि देउवालाई भेटेर प्रदेश २ मा चुनाव सार्न आग्रह गरेका थिए।

‘गोली चलाएर चुनाव गर्नुभन्दा राजपालाई पनि सहभागी गराएर गर्नु राम्रो हो’, निधिले भन्नुभयो, ‘संविधान जारी भएको मितिदेखि नै हामीले संविधानको अपनत्वमा राजपालाई प्रवेश गराउन चाहेका हौं, अब चुनावमा सहभागी भएर उहाँहरू त्यो बाटोमा आउनुहुन्छ।’ अन्नपूर्णपोस्टमा खबर छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved