कैलाश बैंक ठगीमा रवि चन्द्रसँगै यी ३ महिला कर्मचारी पनि सम्लम्न

रासस

रासस

Jun 16, 2017 | 09:31:48 AM मा प्रकाशित

laxmi  sunrise bank

२२ जेठ २०७३ मा पोखराकै १ सहकारीको नाममा भएको चेक लिएर ग्राहक कैलाश विकास बैंकको न्युरोड शाखामा पुगे । २० लाख रुपैयाँ भुक्तान लिन अन्तिममा ४६ नम्बर भएको चेक लिएर उनी त्यहाँ पुगेका थिए ।

उक्त नम्बरको चेकबाट पहिला नै लामाचौर शाखाबाट रकम भुक्तानी भएको बैंकको सिस्टममा देखियो । टेलरका कर्मचारीले लामाचौर शाखाका तत्कालीन ब्रान्च मेनेजर रविचन्द्र खनाललाई फोन गरे । खनालले ४६ को ठाउँमा ४७ नम्बरको चेक इन्ट्री गरेर पैसा दिन भने । न्युरोड शाखाका टेलरका कर्मचारीले त्यसै अनुसार गरे ।

अर्को दिन फेरि त्यही सहरकारीको ४७ नम्बरको चेक न्युरोड शाखामै साट्न पुर्‍याइयो । सहकारीलाई नसोधी बैंकका कर्मचारीले पुन खनाललाई नै सोधे । ४७ को ठाउँमा ५० नम्बर इन्ट्री गरेर रकम दिन भने ।

त्यसै अनुसार रकम भुक्तान भयो । यही केसमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले सोमबारमात्र बैंकको न्युरोड शाखाका ३ कर्मचारीलाई पक्राउ गरेको छ ।पक्राउ परेका अपरेसन इन्चार्ज लक्ष्मी कँडेल, टेलर हेर्ने सुष्मा शर्मा र दीपिका कोइरालालाई सिआइबीले उच्च अदालत बुटवल इजलासबाट बैंकिङ कसुर मुद्दामा मंगलबार ७ दिनको म्याद थपेको अदालतका निमित्त रजिस्टार अर्जुनबहादुर रावतले बताए ।

सिआइबी प्रवक्ता एसपी मीरा चौधरीले बैंक ठगी प्रकरणमा एकपछि अर्को घटना खुल्दै आएको बताइन् । उनका अनुसार यो प्रकरण अनुसन्धान गर्न इन्स्पेक्टर टीका रेग्मी नेतृत्वको टोली पोखरामा नै खटिएको छ ।

घटना अनुसन्धानमा खटिएका सिआइबीका इन्स्पेक्टर रेग्मीले सहायक कर्मचारीको सहयोगमा मेनेजर खनालले ठगी गरेको प्रशस्त प्रमाण जुटेको बताए ।रेग्मीले समाधानसँग भने, ‘यिनीहरुको सहयोगबिना मेनजरले ठगी गर्न सक्ने अवस्था देखिँदैन, त्यसैका आधारमा पक्राउ गरिएको हो ।’ उनका अनुसार पक्राउ परेका सबै जनासँग बुधबार बयान सकिएको छ । बिनाचेक पटक पटक नम्बर फेरेर भुक्तानी दिने कर्मचारीको सरासर गल्ती भएको उनले बताए ।

अहिले पक्राउ परेका ३ र पहिला पक्राउ परेका ४ कर्मचारीविरुद्ध बैंकिङ कसुर ऐन २०६४ अनुसार मुद्दा चलाइने भएको छ । यसअघि नै लामाचौर शाखाका अपरेसन इन्चार्ज शिवराम अधिकारी, सहायक कर्मचारीहरु रिगु आचार्य, रविना थापा र सीमा पन्थ पक्राउ परेका छन् । उनीहरु प्रहरी हिरासतमै छन् ।

कैलाश विकास बैंकको लामाचौर शाखाका तत्कालीन मेनेजर रविचन्द्र खनालले यस्तै तरिकाले बैंक र सर्वसाधारणको करोडौं रकम कुम्ल्याउन सफल भएका थिए । चैत मसान्तको क्लोजिङ सकेर अफिसबाट फर्केका मेनेजर खनाल नयाँ वर्षको बिदा सकिएपछि पनि हाजिर भएनन् ।

बजारमा गाइँगुइँ चल्यो—उनी त करोडौं कुम्ल्याएर अमेरिका भागे । वैशाख ५ गते बैंकले जिल्ला प्रहरी र नेपाल प्रहरीकै केन्द्रीय अनुसन्धान ब्युरोमा उजुरी हालेको थियो ।खनालले आफूसँग भएको रकम मिटर ब्याजमा लगाउने गरेको उनका साथीहरु बताउँछन् । ‘उनले १ लाखको महिनामा ५ देखि ७ हजारसम्म ब्याज तिर्थे, त्यो पनि अग्रिम,’ स्रोतले भन्यो, ‘अरुबाट १ लाखको महिनामा १० देखि १२ हजार लिन्थे ।’ यसरी मोटो ब्याजको आशमा धेरैको रकम फसेको छ ।

ठगेर भागेका खनालको तनहुँस्थित पुख्यौली सम्पतिसहित, पोखरा पस्र्याङको घरजग्गा र गगनगौंडाको जमिन जस्ता जायजेथा बैंकले रोक्का गरिसकेको छ । पहिला अमेरिका पुगेर फर्केका उनीसँग उक्त देशको ५ वर्षको भिसा थियो । पोखराबाट भागेको १५ दिनपछि सामाजिक सञ्जाल फेसबुकमार्फत उनले गलत संगतले आफू फसेको भन्दै ठगिएकाहरुसँग माफी मागेका थिए ।

खनाल कैलाश विकास बैंकमा आउनुअघि नेपाल एक्सप्रेस फाइनान्सको पोखरा, सभागृहचोकस्थित शाखा प्रमुख थिए । उक्त फाइनान्स गएको वर्षमात्रै कैलाशमा मर्ज भएको खबर समाधानमा उल्लेख छ ।सँगसँगै मेट्रो विकास बैंक पनि मर्ज भएको थियो । एउटा शाखा हेरिसकेका व्यक्ति भनेरै कैलाशले लामाचौर शाखामा खनाललाई जिम्मेवारी सुम्पेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved